ताजा अपडेट »

श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, भैरहवाबाट नियमित उडान हुने प्रतिवद्धता

शनिबार, २१ पुस २०८०, १८ : ०७
316 Shares
लुम्बिनी । नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदुत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन ।
 
उपाध्यक्ष डा. लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए ।
 
उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए । उक्त अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा. लामाविच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।
 
राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए ।
 
राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।