ताजा अपडेट »

नखुलेका अनुहार !

दीपनगरदेखि डेनमार्कसम्म : यात्रानुभूति श्रवणपछिको अनुभव

विहीबार, १९ पुस २०८०, १० : ३५
426 Shares

उमेरले ७९ वर्ष पुगे, देवेन्द्र घिमिरे ‘कपिलवन्धु’ । स्वास्थ्य सामान्य छ । आहारविहारमा ख्याल राख्छन् । उमेर अनुसारका खानपानमा ध्यान दिन्छन् । कहिलेकाँही स्वास्थ्यमा सामान्य गडबड सबैका हुन्छन् । अन्नपानीको शरीर न हो । पछिल्लो समय उनी साहित्यमा चुर्लुम्मै डुबे । विगतका अनुभवहरुलाई पुस्तकमा पोखे ।

कम्युनिष्ट पार्टीमा लागेर भूमिगत जीवन व्यतित गरेका थिए उनले । खुल्ला राजनीतिमा लागेर रुपन्देहीको जिविस सदस्य बने । राष्ट्रिय सभाको सदस्य भए । उमेरले ७० पुगेपछि पार्टीबाट निवृत्त भए । कम्युनिष्ट पार्टीप्रति सद्भाव घटेको छैन । मतदानमा मत फरक पारेका छैनन् । उनीसँगै २०२४ सालमा रुपन्देहीको कम्युनिष्ट पार्टी स्थापनाकालका ११ जनामध्ये ४ जना जीवित छन् । अतीत सम्झेर बसिरहेका मात्र छैनन् । जीवनका भोगाईहरु सबैका माझ प्रस्तुत गरेका छन् ।

यसपालि उनी तीन महिनाका लागि छोराबुहारी, नाती–नतिना भेटघाट र दसैंतिहार मनाउन डेनमार्क पुगे । विभिन्न देशमा छरिएर रहेका छोराछोरीहरुलाई पनि डेनमार्क नै भेला गरे । पर्व मनाए । खुसी साटे ।  उनी डेनमार्क अहिलेसम्म तीन पटक पुगेका रहेछन् । त्यहाँ उनी घुम्नमात्र गएका थिएनन् । त्यहाँ पुगेपछि उनले डेनमार्कको भू–राजनीतिक परिवेश, कला, साहित्य, संस्कृति, रहनसहन, शिक्षा, स्वास्थ्य, अर्थ व्यवस्था, शासन पद्दति, कृषि र पर्यटन लगायतका कुराहरुका बारेमा बडो चासो राखे । डेनमार्कमा बसेर पुस्तक समेत लेखेका थिए । यो उमेरमा नि सक्रिय जीवन बिताइरहेका छन् । प्रविधिमैत्री छन् । कम्प्युटरका कीरा हुन् ।

फर्केर आउँदा यथेष्ट सूचना बोकेर आउनुस है दाइ भनेर अनुरोध गरेको थिएँ । नेपाल र डेनमार्कका बारेमा उनले गएको पौष १७ गते मंगलबार दिउँसो दुई बजेदेखि आफ्नै कृषि निवास, रुपन्देही, तिलोत्तमा, दीपनगरमा प्रभावकारी तरिकाले अनुभवहरु प्रस्तुत गरे । यात्रानुभूति प्रकट गरे । हामीले सुनिरह्यौं ।

with devendra-ghimire

डेनमार्कको बयान
डेनमार्क नेपालभन्दा सानो तर राजतन्त्र भएको मुलुक रहेछ । जनसंख्या त जम्मा ५९ लाख रहेछ । नेपालीहरु त्यता पुगेको १५÷१६ वर्षभन्दा बढी भएको रहेनछ । यतिबेला डेनमार्कमा सोलोगोलो नेपालीहरु पाँच हजारभन्दा बढी छैनन् भन्ने कुरा थाहा भो । डेनमार्क पुँजीवादी मुलुक भएपनि समाजवादी मुलुकले जस्तै आफ्ना नागरिकहरुलाई शिक्षा र स्वास्थ्यमा सक्दो सुविधा दिएको कुरा देवेन्द्र दाइले सुनाइरहे ।

प्रायः त्यहाँका युवाले स्नातक गरेपछि (८० प्रतिशतले) आफ्नो औपचारिक पढाई बन्द गर्ने कुरा सुन्दा अचम्म लाग्यो । उनीहरुले स्नातक पढ्दातस आफूलाई चाहिने आधारभूत सबै कुराहरु सिक्ने भएकाले राज्यले युवाहरुलाई मोजमस्तीतिर आकर्षित गर्ने तर थप शिक्षातिर उन्मुख नगराउने कुरा  प्रश्नवाचक चिन्हका रुपमा रह्यो । देशका नागरिकहरुले सरकारलाई आम्दानीको ४६ प्रतिशत् कर अनिवार्य तिर्नुपर्ने रहेछ । नाबालिगहरुले समेत आफ्नो पकेट खर्चका लागि श्रम गर्न पाउँदा रहेछन् तर त्यसमा भने सरकारले कर छुट गरेको रहेछ । कामदारहरुलाई नगदमा तलव दिएर केही साहु वा ब्यापारीहरुले ब्ल्याक मनी कमाउने चलन पनि रहेछ भन्ने कुरा उनीबाट थाहा भयो । नत्र सबै कारोबार बैंकमार्फत हुँदोरहेछ ।

सुत्केरी भएको एक वर्षसम्म बच्चाको स्याहारसुसारका लागि सुत्केरी आमाले विदा पाउने र एक वर्षपछि सन्तानको बाउले सन्तान हुर्काउन विदा पाउने चलन रहेछ । त्यो कुरा भने अत्यन्तै रोचक लाग्यो । बालबच्चाप्रति सरकार कति संवेदनशील र जिम्मेवार छ भन्ने कुराको सन्देश प्रभावकारी लाग्यो । सरकारले पढ्नका लागि विशेष सुविधा दिएको रहेछ । स्नातकपछि स्नातकोत्तर वा विशेषज्ञता हासिल गर्नका लागि आवश्यक सबै सेवा र सुविधा सरकारले विद्यार्थीलाई दिँदोरहेछ । यस्तो चलन वा सेवा नेपालीहरुले नेपालमा कहिले पाउलान् ? त्यति सानो मुलुकले त्यति धेरै सेवा, सुविधा दिन सक्छ भने हाम्रो जस्तो प्राकृतिक स्रोत, साधन सम्पन्न देशले कहिले यो चलनको अनुशरण गर्ला ?

एक तिहाइ नागरिक साइकिलमा
देशका एक तिहाइ जनसंख्याले साइकिल प्रयोग गर्दा रहेछन् । साइकिलका लागि लेन छुट्टै हुँदोरहेछ । त्यो लेनमा यातायातका साधनहरु र मान्छेहरुलाई पैदल हिड्न समेत वर्जित रहेछ । वर्षमा धेरै नै पटक स्थानीयहरुले म्याराथन प्रतियोगिता, भलिबल लगायत खेलकूद प्रतियोगिता आयोजना गरी खेलकूदमार्फत स्वास्थ्यमा ध्यान दिइने रहेछ ।
यी कुरा साहित्यकार गुरुदत्त ज्ञवालीले ध्यान दिएर सुनिरहेका थिए । घरिघरि लक्ष्मण ज्ञवालीले टाउको हल्लाइ रहेका हुन्थे । शान्त वातावरणमा यी कुराहरु सुनिरहँदा मनमा आनन्द आइहेको थियो । कतै हामी आफै डेनमार्कको राजधानी कोपनहेगनमा पुगिरहेझैं लाग्थ्यो । महारानीको दरबार हुँदै समुद्र तटमा पानी जहाज चढेजस्तै भान हुन्थ्यो । संसारकै पहिलो पार्कमा डुलेजस्तै मानिन्थ्यो । बाग्लुङ्गमा जन्मिएर, तिलोत्तमाको दीपनगरमा आफ्नो जीवन उत्तरार्द्धमा बिताउँदै गरेका देवेन्द्र दाइलाई गोमा भाउजूले जीवनको यात्रा गराइ रहेका छन् । चाहे स्वदेशमा होस् वा विदेशमा ।

टापूका कुरा
जम्मा ४३ हजार वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको डेनमार्कले पर्यटन प्रवर्द्धन गरेर, होटल, रेष्टुराँ सञ्चालन गरी  देशी, विदेशी पर्यटकहरुबाट मनग्य आम्दानी गर्दोरहेछ । चार सय ४४ वटा टापूहरुमध्ये जम्मा ७६ टापूमा मात्र मानवबस्ती रहेको कुरा सुन्दा रमाइलो लाग्यो । एक सय ७२ मीटरको अग्लो टापू नै त्यहाँको सबैभन्दा अग्लो भूमि रहेछ । डेनमार्कको जुनसुकै स्थानबाट बढीमा ५० किलोमीटर दूरी पार गरेपछि समुद्री तट छुन सकिदोरहेछ ।

जाडो मुलुकमा पर्ने डेनमार्कमा वनलाई अतिनै महत्वका साथ हेरिदो रहेछ । त्यहाँ वनलाई अति सुरक्षित गरिदोरहेछ । जाडोयाममा वनका पातहरु खसेर रुखहरु उजाड हुँदारहेछन् । आम्दानी बढाउनका लागि प्रत्येक घरले आफ्नो परिवारको संख्याभन्दा पाँच गुणा बढी बंगुर पाल्नु पर्ने चलन रहेछ । उनीहरुले बंगुरपालनमात्र होइन अनेक परिकार बनाएर उस्तै खाँदा रहेछन् बंगुरका मासु ।

डेनमार्कमा विदाका बेलामा मात्र रहेछ परिवारले घरमै खाना पकाएर खाने चलन । नत्र रेष्टूराँमा नै खाँदा रहेछन् । समयको बचत, खर्च कम र बचत भएको समयलाई काममा लगाउँदा आम्दानी बढाउन सकिने भएकोले त्यस्तो चलन चलेको हुन सक्ने आर्ष्टिष्ट बेनु थापाले अनुमान लगाए । त्यसमा हो थप्ने अर्का पाकाआर्टिष्ट एचबी रम्तेल थिए ।

डेनमार्कमा यहि ३१ डिसेम्बरबाट रानी मार्क द्वितीयले बिदा लिइन् । उनी ८० वर्ष कटेकी छिन् । जनवरी १५ तारेखमा राजकुमार फेड्रिकले औपचारिक सत्तारोहण गर्दैरहेछन् । उनीहरुले मासिक तीन लाख कोनर प्राप्त गर्ने चलन रहेछ । राजदरबार सञ्चालनका लागि मासिक ७२ लाख खर्चिदो रहेछ सरकारले । प्रधानमन्त्रीको तलब भने एक लाख २० हजार पाँच सय कोनर (यतिबेला एक कोनर बराबर करिव नेपाली १९ रुपैयाँ) रहेछ ।

devendra ghimire1

बिरोध गर्ने ठाउँ
त्यहाँ पनि विभिन्न राजनीतिक पार्टीहरु रहेछन् । चुनाव चिन्ह, अंगे्रजी वर्णका अनुसार तय गरिएका हुँदा रहेछन् । आफ्ना कुरा राख्न त्यहाँका स्थानीय सरकार, नगरपालिकाले तोकेको स्थानमा जानु पर्ने रहेछ । आफ्ना पार्टीका कुरा राख्न, हड्ताल, नारा, जुलुश लगाउनका लागि समेत निश्चित स्थान तोकिने रहेछ ।  विरोध गर्ने पनि आफ्नै पद्दति हुने कुरामा फेरि एकपटक तुलना गर्दै थिए डाक्टर सागर न्यौपानेले । चीनबाट चिकित्साशास्त्र पढेर आएका उनले चीन र डेनमार्कका बारेमा खुबै दाँजिरहे । समय समयमा छिस्सछिस्स कुरा सोधि रहन्थे ।

नेपाली राजनीतिको डम्फू, डेनमार्कमा
बेलाबेलामा नेपाली कलाकारहरुलाई डेनमार्क लगिदो रहेछ । कन्सर्ट गरिदोरहेछ । नेपालीहरु मिलेर पिकनिक खाँदा रहेछन् । सबै पार्टीका नेपाली डम्फू बज्दा रहेछन् । राजनीतिको धर्का कोरिएका रहेछन् डेनमार्कमा पनि । यी कुरा सुनिरहँदा राजनीतिमा चेष्टा राख्ने कल्पना थापाले के सोचेकी थिइन् उनलाई नै सोध्नुपर्ला ?

त्यहाँको शिक्षा प्रणाली पूर्ण निःशुल्क र रोजगारीमूलक भएको कुरा सुनिरहँदा शिक्षक कृष्ण रेग्मीले आफ्नो देशको शिक्षा प्रणालीसँग दाँजीरहे । प्रश्न त गरेनन् तर मनमा भने पक्कै अनेक प्रश्न उब्जाएका हुन सक्छन् ।
नेपालीहरु यतिबेला कोही आफ्नो जीवनको सुरुआती अवस्था रहेछन् । जसले डेनमार्कमा बाँच्न संघर्ष गरिरहेका छन् । कोही राम्रै पैसावाल र हुने खाने भएका रहेछन् । कोही नेपालीहरु त डेनिसहरुसँग पैसा, प्रतिष्ठा र पहुँचमा प्रतिस्पर्धा गर्न सक्ने भइसकेको कुरा देवेन्द्र दाइबाट सुन्ने अवसर पाइयो । सुख, सुविधा र सम्पन्नताका लागि विदेशमा रहेर पनि गरेका प्रगति हाम्रा लागि सुखद् भएपनि नेपाल नफर्कने उनीहरुका कुरा, व्यवहारले हामी नेपालीलाई भने पक्कै सुखको सन्देश दिने छैनन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र दाइले जीवराजका बारेमा तयार पारिएको ‘जिउँदा जीवराज’ वृत्तचित्र प्रदर्शन समेत गरेका रहेछन् उतै । त्यसमा पनि भूपू एमाले, वर्तमान एमाले र एस पार्टी समर्थितलेमात्र उक्त वृत्तचित्र हेरेर आफ्ना राजनीतिक धर्म पालना गरेको सुनाउँदै थिए ।

हेप्पी देशमा हाई
डेनमार्कमा भारतीयहरुले शिवजीको मन्दिरहरु थुप्रै स्थानहरुमा बनाएका रहेछन् । चर्चहरु प्रशस्तै रहेछन् । बौद्ध स्तूपाहरु पनि रहेछन् । धार्मिक सहिष्णुता भएको मुलुकमात्र होइन हेप्पी देश अर्थात् संसारका धेरै खुसी मान्छेहरु बस्ने देश रहेको गोमा भाउजुले कार्यक्रममा थपिन् । भेट्दा मुसुक्क हाँस्ने र हाइ भन्ने चलन भाउजूले सुनाउँदै थिइन् । राम्रो रोजगारको अवसर भएको, काममा सानो–ठूलो भावना नरहेको र सबैले काम गर्नुपर्छ भन्ने असल भावनाले नै डेनमार्क आजका अवस्थामा पुगेको देवेन्द्र दाइले सुनाइरहँदा अन्टार्कटिका पुगेर नेपाल फर्केका भुवनसिंह विश्वकर्माले स्वीकृति जनाए ।

विदेशमा नेपालीहरु भेटिदा पनि नेपालीमा कुरा गर्न नचाहने, सम्बन्ध राख्न नखोज्ने, बडप्पन रहेका केही नेपाली मानिसहरु भेटिएको तीतो अनुभव साहित्यकार  गुरुदत्त ज्ञवालीले सोही अवसरमा सुनाए ।

समलिङ्गी विहेलाई मान्यता दिने पहिलो देश नै डेनमार्क रहेको कुरा देवेन्द्र दाइले दलिल पेस गरे । उनले भने–डेनिसहरुले प्लीज अर्थात् कृपया भनेको नरुचाउँदा रहेछन् । स्वाभिमानी भएर बाँच्ने, हाँस्ने तर कृपया, प्लीज भनेर शाब्दिक भीख नमाग्ने उनीहरुका चलन प्रशंसनीय रहेछ ।
समुद्री डाँकूहरुसँग लडेर विजयी भएका अर्थात् राज्य स्थापना गरेका डेनिसहरु बुढेसकालमा आफ्नै घरमा बस्छन् । सहारा नभएपनि कुकुरलाई साथी बनाएर डुल्दै हिड्छन् । प्रायःकम बुढापाकाहरु आश्रममा बस्छन् । घरको घण्टी बजाउँदा स्याहार गर्नेहरु स्वास्थ्य सेवा दिन तुरुन्तै घरमा आउने भएको हुँदा उनीहरु एक्लै बस्नपनि रुचाउँदा रहेछन् ।

कडा कानून, नरम ब्यवहार
सुरक्षा व्यवस्था अत्यन्तै कडा, व्यहार नरम । बाटोमा ट्राफिक नियम कडारुपमा पालना गर्नुपर्ने तर एम्बुलेन्स र एक्सनमा हिडेको प्रहरीका भ्यानलाई भने ट्राफिक नियम  लागू नहुँदो रहेछ । चालकले अनिवार्य सीट बेल्ट बाँध्नु पर्ने र यात्रुहरुले पनि । सीट बेल्ट नबाँधेमा ठाउँका ठाउँ जरिवाना तिर्नुपर्ने कडा कानून रहेछ । बच्चालाई सीट बेल्ट नबाँधि दिएमा उसको अभिभावकले जरिवाना तिर्नुपर्ने यस्तै कडा नियमहरुले त आज डेनमार्क बनेको हुन सक्छ ।

डेनमार्क खण्डको श्रुति खण्ड समाप्तपछि गोमा भाउजु, अञ्जु श्रेष्ठले दिएका तात्तातो रातो चिया, फूलापरेका मकै र भट्टले मुख बजाइयो । चियाको चुस्की लिदै ढाड सोझाइयो । त्यतिञ्जेल कसैका मोबाइल बजेनन् । साइट टक भएनन् । लेख्नेहरुले आफ्ना डायरीमा कलम दौडाइरहे ।

मलिन अनुहार
नास्तापछि नेपाल खण्ड छिट्टै समापन भयो । देवेन्द्र दाइले सगरमाथा प्रथम आरोही तेञ्जीङ्ग शेर्पाले नेपाली नागरिकता त्यागेर भारतीय नागरिक भएको दुःखद् इतिहास सुनाउँदै भुवनसिंहले विशाल महादेश अन्टार्कटिका पुगेर नेपालीको नाम राख्न सफल भएको कसैका लोभलालचमा नपरी आफ्नै देशमा सुख, दुःखका साथ  जीवन गुजारेकोमा भुवनसिंहलाई धन्यवाद् दिँदै राष्ट्र र राष्ट्रियताका कुरा सुनाउँदै गर्दा दाइको गला अवरुद्ध भयो । हामीहरु पनि स्तव्ध भयौं । जहाँ रहेपनि हामी नेपाली हौं । हाम्रो स्वाभिमान गिर्न दिन हुन्न भन्ने उनको आशय थियो । क्षणिक लोभलालच र भ्रममा परेर देशको माटो, मातृभूमि नेपाल भुल्न नहुने उनको तर्क थियो ।

हिड्नेबेला दाइले भनेका थिए–अब मैले गर्न बाँकी केही काम छैन । यसो गर्दा मेरो मन, मस्तिष्क हलुको हुन्छ । स्वस्थ भएको अनुभव गर्छु । बढीमा एक दशक त बाँचुला ! देशको अवस्था भनेजस्तो छैन । तपाइँहरुले देशका बारेमा, समाजका बारेमा, राजनीति र साहित्यका बारेमा सोच्नुस् । सचेत गराउनुस् । म त के पो गर्न सक्छु र ? यसो भनिरहँदा उनका अनुहार निभ्न लागेको दीपजस्तै भयो । आँखामा आँसु बयली खेले ।

दाइको दमदार उत्प्रेरित बोली, उत्साहजनक ब्यवहार र सधैं अघि बढ्नुपर्छ है भन्ने विगतका व्यवहार र बोली खोइ किन यसरी लोलायो ? गह्रुँगो मन बनाएर घर बाहिर निस्कियौं । फोटो खिच्यौं तर अनुहार खुल्न सकेनन् हाम्रा ।

प्रेरणा कसरी थप्न सकिएला !
घर आएपछि धेरै साथीहरुसँग दाइका बारेमा कुरा गरें । साथीहरुले दाइलाई भेट्न र यात्रानुभूति सुन्न जान नपाएकोमा मसँग क्षमायाचना गरे । दाइलाई भेटेर हौसला, उत्साह र उत्प्रेरणा दिनका लागि धेरै साथीहरु, अग्रजहरु पुनःउनको कृषि निवास जाने वचनद्धता पेश गरेका छन्  । म भने दाइको उत्साहमा आएको गिरावटलाई कसरी उकास्न सकिन्छ, प्रेरणा थप्न सकिन्छ भनेर गम्दै कम्बल भित्र न्यानो हुन पसें । यतिबेला रातको सवा एघार बजिसकेको छ ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार