ताजा अपडेट »

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

विहीबार, १२ पुस २०८०, १० : ३९
36 Shares

कर्णाली। कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताए ।

उनले उत्सव कर्णालीको बिम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताए । उनले भने, ‘हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४–१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन गर्‍याैँ । सबै संस्करणका सत्र गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।’ फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दाबी गरे ।

निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौँ संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनर्निर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उनको भनाइ थियो।

उक्त कार्यक्रमका सहभागीले कानुन कार्यान्वयन गर्ने सरोकारवालाबाट हुने गैरकानुनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, प्रवर्द्धनात्मक कार्य, विश्वका विशिष्ट सभ्यता मध्येको सिंजा सभ्यताका बारेमा पनि वृहत बहस थालनी गर्न आयोजकलाई सुझाव दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।