ताजा अपडेट »

नवलपरासीमा धान उत्पादन बढ्यो

बुधबार, २० मंसिर २०८०, १० : ३५
45 Shares

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताए ।

सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताए ।

बारामा रु चार अर्ब ९६ करोडबराबरको अगहनी धान उत्पादन

यसैबीच कलैयाबाट प्राप्त समाचारअनुसार खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा कमी आउने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । जिल्लामा किसानले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०८०÷८१ मा बाराका किसानले विभिन्न जातका अगहनी धान ३४ हजार एक सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले राससलाई बताए ।

खडेरीले गत वर्षको तुलनामा यस वर्ष तीन हजार तीन सय ९१ मेट्रिक टन कमी भएको केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भने । उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल तीन हजार चार सयमा बिक्री भइरहेको उपभोक्ताले जनाएका छन् ।

जिल्लामा करिब रु चार अर्ब ९६ करोड मूल्यबराबरको एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष अगहनी धान ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा गरिएकामा त्यसबाट प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टनले एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन उत्पादन भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।