ताजा अपडेट »

वन, वातावरण र जैविक विविधा संरक्षणमा बीट पत्रकारिता

आइतबार, ०३ मंसिर २०८०, १३ : ४५
66 Shares

आमनागरिकलाई आफ्ना सञ्चारमाध्यमबाट सूचिकृत गर्ने खास मान्छे नै पत्रकार हुन् । नेपाल पत्रकार महासंघले पत्रकारिता गर्नका लागि सदस्यता दिएका औपचारिक मान्छे नै पत्रकार हुन् । तर पत्रकारिता विषय अध्ययन गरेका, पत्रकार महासंघका सदस्यता नलिएका वा नपाएका तर समाचार,लेख लेखिरहेका मान्छे पनि पत्रकार हुन् वा होइनन् आ–आफ्नै तर्क–वितर्क होलान्।

पत्रकारको मुख्य दायित्व भनेको सत्य,तथ्य र भरपर्दो सूचनाहरुलाई समाचार बनाएर सीघ्र प्रवाहित गर्नु नै हो । पत्रकारले दिएको सूचना वा समाचारका भरपर्दा एवम् आधिकारिक स्रोत हुने भएको हुँदा बढी विश्वसनीय हुने गर्छ । समाचार वा लेखका माध्यमबाट समाजलाई सुसूचित गर्ने ध्येयका साथ पत्रकारिता अभियान पत्रकारले सञ्चालन गरेका हुन्छन् ।
समयानुकूल सञ्चारका माध्यमहरु पनि परिवर्तित र बढी विश्वसनीय हुने गरेको पाइन्छ । कुनै समय सूचना दिने काममा गाउँतिर कटुवाले हुन्थे भने सहरतिर झ्याली पिटेर दिइन्थ्यो । पछिल्लो समय अनलाइनहरुले सूचना र सञ्चारक्षेत्रमा द्रूतर गति लिएको पाइन्छ । टीभी,रेडियो,पत्रिकाहरु आामसञ्चारका भरपर्दा तथा विश्वसनीय सञ्चार माध्यम हुन् ।

प्रसंग पत्रकारको नै हो । पत्रकार सचेत नागरिक हुन् । हरेक क्षेत्रमा उनीहरुका पहुँच भएकै कारण ज्ञान छ र सो ज्ञानलाई पत्रकारिताको सीप प्रयोग गरेर आमनागरिककाबीच व्यवहारिक रुपमा पु¥याउँछन् भन्दा अनौठो मान्नुपर्ने छैन । घटना, दुर्घटना र परिघटनालाई ग्रहण गरेर,गहन मनन गरेर,विश्लेषणात्मक तरिकाले समाजका नागरिकसम्म सूचना,समाचार सम्प्रेषण गर्ने काम नै पत्रकारले गर्दछन् । विषयवस्तु,त्यसको गहनतालाई बुझ्न सक्ने क्षमता हरेक पत्रकारमा समान हुन्छन् भनेर बुझ्नु उत्तम हुँदैन । ब्यक्तिगत भिन्नता भएझैं पत्रकारको योग्यता,दक्षता,सीप,व्यवहार,अभ्यास र प्रयासले उनीहरुमा फरकपना देखिनु स्वभाविक नै मानिन्छ ।

पछिल्लो समय बीट पत्रकारिता मौलाउँदै गएको पाइन्छ । सम्बन्धित पत्रकारको रुची,योग्यता र आवश्यकताले समेत बीट पत्रकारिताको महत्व बढ्दै गएको पाइन्छ । विषय विशेषज्ञता,विषयप्रतिको लगाव, समयको माग अनि आवश्यकताले समेत बीट पत्रकारिताको सुरुआत् भएको देखिन्छ । यस हुनुमा अन्यथा कदापि होइन । बीट पत्रकारितालाई गहन तरिकाले परिस्कृत गर्दै लैजान सकिने हो भने आमनागरिकलाई पत्रकारिताका विविधताले नौलोपन दिने छ । यसबाट नागरिकहरुले नयाँ कुरा सिक्न सक्ने छन् । नौलो अनुभूति गर्नेछन् ।

नेपालमा वन,वातावरण र जैविक विविधता संरक्षणसम्बन्धि बीट बनाएर नेपाल वातावरण पत्रकार समूहले पत्रकारिता क्षेत्रमा उल्लेखनीय कार्य गरेको पाइन्छ । सो समूहले नै आँखीझ्याल नामक टीभी कार्यक्रम,हाक्का–हाक्की मासिक म्यागाजिन सञ्चालन गरेको पाइन्थ्यो । साथै उक्त समूहले काटमाडौंमा रेडियो सगरमाथा नै सञ्चालन गरेको छ । वातावरण पत्रकारिताका जानकार पत्रकार एवम् लेखक मोहन मैनालीले यसलाई मात्र बीट( विषय) बनाएर लेख्नु सहज छैन । जनशक्तिको हिसावले,विषय विशेषज्ञता र पत्रकारका रुचीले समेत यो बीट सोचेजति फष्टाउन नसकेको उनको तर्क छ । उनी थप्छन्–जिल्लास्थित सम्वाददाताहरुले सबै विषयमा लेख्नुपर्छ । यो उनीहरुका बाध्यता र आवश्यकता हुन आउँछ ।

नेपालमा औलामा गन्न सकिने पत्रकारहरुले मात्र वन,वातावरण र जैविक विविधतासम्बन्धि विषयलाई आफ्नो पत्रकारिताको बीट बनाएका छन् । आमसञ्चारमाध्यमले एउटा बीटलाई मात्र आर्थिक हिसावले धान्न नसकेर,पत्रकारिता गर्न रुचाउने पत्रकारहरुले सो विषयलाई आफ्नो बीट बनाउन योग्यता,क्षमता नपुगेर,रुचीको अभाव साथै सो वियषय सम्बन्धी गहिरो खोज,अध्ययन,अनुसन्धानको अभावका कारण समेत यो विषयमा पत्रकारिता गर्ने पत्रकारहरु कम हुन सक्छन् । वन, वातावरण विषयमा नै औपचारिक शिक्षा वा प्रमाणपत्र धारण गर्ने ब्यक्ति आफ्नो विषयमा नै सेवा गर्न रुचाउने वा जागिरतर्फ उन्मुख हुने भएकोले उसले पत्रकारिता नगर्न पनि सक्ने भयो । पत्रकारिताका लागि आधिकारिक सदस्यता चाहिने भएकाले पत्रकारिताको झन्झटबाट मुक्त हुन समेत यो पेसा नअपनाएको हुन सक्छ ।

वन, वातावरण र जैविक विविधताको क्षेत्र अति नै विराट,गहन,गहिरो र बुझि नसक्नु भएकाले समेत धेरै पत्रकारहरु यो विषयमा पत्रकारिता गर्न लफडा ठान्छन् पनि होला । साथै पत्रकारहरुलाई सो विषयमा विषयगत अभिमुखीकरण वा सचेतीकरण गर्ने संघसंस्थाहरुको कमी,अभावले समेत यो विषयमा पत्रकारिता कम हुन गएको हुन सक्छ । नेपालमा २२ हजार बढी सामुदायिक वनहरु समुदायले सञ्चालन गरेका छन् । २४ लाख घरधूरी सामुदायिक वनबाट लाभान्वित छन् ।

उपभोक्ता समूहमा लागेर नेतृत्व गरेकाहरु मध्ये यतिबेला स्थानीय,प्रदेश र संघमा गरेर करिव चार हजार जनाले राजनीतिक नेतृत्व सम्हालेका छन् । वनबाट समृद्धिको कल्पना गरिएको छ । कृषि–वन,वनउद्यम,पर्यापर्यटनका कारण उपभोक्ताहरुले आर्थिक लाभ लिन सकेका छन् । वातावरण संरक्षणका लागि सामुदायिक वनको भूमिका उल्लेखनीय रहेको देखिन्छ । मानिसलाई स्वच्छ अक्सिजन दिने वातावरण सामुदायिक वनहरुले नै सिर्जना गरेका छन् । रेड प्लसका कुराहरु उठिरहेका छन् । यी कुराहरु कसले लेखी दिने ? वन समूहका उपभोक्ताहरुले पत्रकारहरुले जस्तै परि पुराएर लेख्न सक्दैनन् । पत्रकारहरुलाई संरक्षण सम्बन्धी विषयमा विषयगत जानकारी वा ज्ञान नहुन पनि सक्ने भएकोले यी विषयहरु ओझेलमा परेका छन् ।

वातावरण सम्बन्धी निरन्तर लेख्दै आएका पत्रकार मुकेश पोखेरलका अनुसार नेपालमा यस्तो बीट बनाएर लेख्ने पत्रकार संख्यामा ठ्याक्क भन्न सकिन्न । सोही बीट बनाएर अघि बढेको सञ्चारमाध्यम त छैनभन्दा पनि हुन्छ । जैविक विविधता संरक्षणमा सामुदायिक वनहरुले प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । वनमा अनेक प्रकारका जीवजन्तु, पंक्षीहरुको संरक्षण, नदीनालामा रहेका जलचरहरुको संरक्षणमा समेत वनको भूमिका लायकको देखिन्छ । यसरी वन,वातावरण र जैविक विधिता संरक्षणमा सक्दो धेरै पत्रकारहरुलाई सहभागी गराई सचेतीकरणको पाटोबाट दीक्षित गराउन सकिएमा जाती हुने थियो । पत्रकारहरुले आ–आफ्ना सञ्चारमाध्यमबाट आमनागरिकलाई संरक्षणको अभियानमा सार्थक सहभागिताका निम्ति अपील गर्न सक्ने थिए ।

सचेत पत्रकारले सक्षम संरक्षणकर्मी निर्माणमा अतुलनीय योगदान दिन सक्ने थिए । यसो हुँदा नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा उल्लेखनीय प्रगति र उन्नति सम्भव हुने थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।