ताजा अपडेट »

‘तीजको डाँडो’ सुनसानः स्टेज प्रोग्राम धुमधाम

मंगलबार, ०२ असोज २०८०, १६ : ०२
56 Shares

गुल्मी । तीज आफैमा सांस्कृतिक पर्व हो । यस पर्वमा औपचारिक रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न, त्यसमा पनि कलाकार बोलाउन जरुरी छैन् । यो तिज पर्व त हिन्दु महिलाहरुको स्वतस्फूर्त मौलिक कला पस्कीने पर्व पनि हो। तर पछिल्लो चरण कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र स्वतस्फुर्त महिलाहरुले मौलिक तीज गित गाउने नाच्ने परम्पराको अन्त्य गरिदैँछ । बिशेषतः पहाडी जिल्लामा तीजको डाँडो आ–आफ्नो स्थानको दशैँको कोट जस्तै महिमा राख्ने थलो हो । तर ती थलो छाडेर अहिले अनेकन स्थानमा स्टेज प्रोग्राम राख्न थालिएको छ ।

माईक समातेर स्टेजमा उभिएको एउटा कलाकार आज राती अबेरसम्म तपाईहरुसंग दोहोरी गाउने हो है? भनेर चर्को स्वरमा भन्छ । उता दर्शक दिर्घबाट पनि चर्कै स्वरमा समर्थनको हुटिङ्ग आउँछ । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने कलाकारले नै तीजको दिन दोहरी गाउँनु पर्छ है भने पछि तीज संस्कृति कता जाँदै छ? भन्ने चिन्ता त्यो स्टेज प्रोग्रामका कलाकारले र दर्शक दिर्घाका युवा युवतीले जनाए ।

अवसर थियो हरकोही महिलाहरुले स्वतः स्फुर्त आ–आफ्नो स्थानको तीज गीत नाच पस्कीने हरितालिका तीजको दिन ।अब भन्नुस तिज पर्वमा पनि कलाकार बोलाएर स्टेज तताईन्छ भने हाम्रो मैलिककला संस्कृति कता जाँदै छ ? चिन्ता यहि कुरामा हो । अघि पछि बरु तीज संस्कृतिका नाममा स्टेज प्रोग्राम गरिए ठिकै हो तर तीजको डाँडामा स्टेज प्रोग्राम गरिदाँ स्वतस्फूर्त दिदी बहिनीहरुले पस्कीदै आएको कला संस्कृतिको दिन र समय पनि कलाकाहरुले नै खोसी दिने प्रचलन सुरु भएको छ ।

एउटा जमातले तीज संस्कृतिलाई झयारे र रत्यौलीमा परिणत गराउन खोजिरहेका छ। यो कुनै एउटा मात्र आयोजकलाई ईङ्गित गरेर आलोचना गरिएको होईन यो क्रम जताततै बढदैँछ । यसलाई रोकौं । तिज दशै, तिहार जस्तो मौलिककला संस्कृति पस्कीने दिनहरुमा कुनै एक व्यक्तिको उद्घोषणमा र सिमित कलाकार मात्र हावी हुन नदिऔं । परापूर्व कालदेखिका तिजको डाँडाहरु आ–आफ्ना स्थानमा अझै सम्झना छन् । ती डाँडाहरु मध्ये धेरै जसो यसपालीको तीजमा सुनसान देखिए । ती ऐतिहासिक थलोको सट्टा विद्यालय भवन लगायतका स्थानमा तीज गीत कार्यक्रम राखिएको पाईयो । किन कि अहिलेको पिँढीलाई स्टेज प्रोग्राम चाहियो ।

ती ऐतिहासिक तीजको डाँडामा समुह समुहमा गोलबद्ध भएर दिदी बहिनीहरुहरुको मौलिक तीज गीत सुनिन्थ्यो । फरक फरक प्रस्तुतिहरु हुन्थे । अहिले त सुनिदैँ आएको तिनै कलाकारले बजारमा ल्याएका गीत सुन्नु शिवाय आ–आफ्नो स्थानका सिर्जना सुन्न नै पाउन छाडियो । अझ सरकारी तवरबाटै तीजको दिन तीज गित प्रतियोगिताको आयोजना गरेको देखियो । ठिक छ, तिजको भोली पल्ट वा त्यस अघि त्यस्तो प्रतियोगिता राखिनु जायज नै हो तर तिजको दिन जो कोही महिलाहरुको मन आफै नाच्छ, मनको पीडा वा रंगरस आफै प्रस्फुटित हुन्छ । यस्तो दिनमा प्रतिस्पर्धा होईन, चेलीहरुलाई स्वतन्त्र छाडिनु पर्छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका २ जुभुङ्गको ठुलाचौरमा पुग्दा तिजकै दिन तिज गित प्रतियोगिता थियो ।

उता चन्द्रकोट गाउँपालिका–७ को रुपाकोट दमुका पुग्दा कलाकाहरुले स्टेज तताई रहेका थिए । रुपाकोट मिलिजुली युवा क्लवद्धारा आयोजित तिज मेलामा करिव ५० जनाको संख्यामा अतिथी आशन ग्रहणले समय पट्यार लाग्दो बनेको थियो । उदघाटन सत्रको समय लम्बिदैँ जाँदा दर्शक दिर्घ पछाडी पट्टिका कतिपय दिदी बहिनी आफै नाच्दै थिए ।

चर्चित गायिका सपना गाह र गायक रामप्रसाद पौड्याल अघि स्थानीय कलाकार सुगम परियार र विनिता परियारको रेडिमेड तीज गीतमा नृत्य सुरु भयो । अनि साँझसम्म उनै कलाकारहरुको प्रस्तुतीमा दिदी बहिनीहरु झु्मे तर मौलिक तीज गीत नाचका पारखीहरुलाई खल्लो लाग्यो । तीज मेलाको उद्घाटन गरेका त्यस वडाका वडाध्यक्ष अनन्तराम भण्डारी भन्दै थिए यहाँको तिजको डाँडा त अन्तै थिए तर यस क्लवले बृहत तीज गीत मेला यसपाली यहि स्कुलमा राखेकोले जताततैमा मानिसहरु यहि आएका छन् । उनले थपे तीजको दिन यस्तो औपचारिक कार्यक्रम नराखेर खुल्ला छाडिएको भए हुन्थ्यो तर केही भएन सबै रमाएका छन कलाकार सँगै झुमेका छन ।

त्यस क्लवका अध्यक्ष कमल सुनारले वर्षौंदेखि यस थलोमा मनोरञ्नपुर्ण कार्यक्रम नराखेकोले यसपाली त्यहाँका युवा युवतीहरुको माग अनुसार त्यस्तो कार्यक्रम राखिएको बताए । आजको दिन त महिलाहरुलाई खुल्ला तीज गित नाचमा छाडिनु पर्दथ्यो नि ? भन्ने प्रश्नमा उनले भने त्यो त हो, यसपाली राखियो आगमी तीज पर्वमा आजको दिन नराखेर अरु दिन राख्ने छौँ । खास भन्ने हो भन्ने ऋषि पञ्चमीदेखि तीज सांस्कृति सकिने हो तर भोलीदेखि पनि विभिन्न पालिकाले तीज गीत प्रतियोगिता राखेका छन् ।

प्रतियोगितामा प्रस्तुत तीज गीतमा पालिका भित्र घटेका महिलाहरुको हत्या हिंसा, सामाजिक विकृति, अन्य अन्यायमा परेका घटना उजागार भएको कमै पान्छ । ‘सबै भन्दा राम्रो काम हाम्रै पालिकामा’ जस्ता स्थानिय सरकार प्रति जयजयकारका शब्द बढि सुनिन्छ । कतिपय पालिकाले एक वडा एक तीज गित प्रतियोगिताको आयोजना गरेका छन्। प्रति वडा ४० हजारसम्म खर्च गरेको र स्थानीय सरकार भएको नाताले संस्कृति संरक्षण गरिनु दायित्व भएको बताएका छन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार