ताजा अपडेट »

मानव सेवा आश्रममा दर खुवाउन पुगेका नेता बरालले भने - 'वर्षौपछि खास तीज आज आयो'

आइतबार, ३१ भदौ २०८०, १३ : ५८
10 Shares

गुल्मी । ‘आज दर खाने दिन बिहान निदले छाड्न बित्तिकै गाउँमा मनाईने तीज सम्झे । हाम्रा आमा, हजुर आमाले उति बेला गाएको तीज गीतमा माईती नभएका चेलीहरुको जुन गीत थिए त्यसले मुटु भक्कानिथ्यो । आज पनि भक्कानियो । अनि मैले पार्टी कमिटीसँग सल्लाह गरे र सबै साथीहरुले मेरो प्रस्तावको स्वागत गर्नु भयो । आज यो अवसर मिल्यो ।’ यो भनाई हो नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालको । आज बिहान बुटवल सुख्खानगर स्थित मानव सेवा आश्रमका महिला तथा बालबालिकाहरुलाई तीजको दर खुवाउन पाएकोमा नेता बरालले अवसरको रुपमा लिएको बताए ।

‘यसलाई हामीले खुब गर्यौ भन्न खोजेको होईन, जुन चेलीहरुलाई तीज आएको छैन, ती चेलिहरुलाई तीज आएको महशुस दिलाउँ भन्ने सबैसँग अपिल स्वरुप सन्देश दिन खोजेका हौ ।’ नेता बरालले भने, ‘म यता यी दिदी बहिनीहरु कहाँ आईरहँदा मेरो घरमा तीज मनाउन आएका दिदी बहिनीहरु समेत खुशी हुँदै मसँग यहि आश्रम आएर तीज मनायौ । वर्षौपछि खास तीज आज आयो ।’

आश्रमका करिव ३०/४० जना दिदी बहिनीहरुलाई पनि सायद वर्षौपछि खास तीज आएको महशुस भएर होला केहिबेर निकै खुशी मुद्रामा देखिए । तर केही बेरमै अतीत चस्केर होला भावुक भए । जीवनका उतारचढावका उदाहरण दिँदै सम्झाउन खोज्दै बरालले थपे ‘हामी पनि जनयुद्धको बेला एक्ला एक्लै थियौ, अरुले हिंश्रक (कठोर माओबादी) भने पनि हाम्रो कोमल मन रुन्थ्यो, लुकेर आँसु खसाउथ्यौ । उति बेला हामी जस्तै घरबारविहिन दिदी बहिनीहरु समक्ष तीजको माईती बन्न हाम्रो पर्टी आएको हो ।’

उनले राज्य यस्ता घरबार विहिनहरुको अभिवाक बन्न नसकेकोले उसको आँखा खोलाउन पनि घर-घरमा माओवादी, जनजनमा माओवादी नारासहित तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत आफुहरुआएको बताए । लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक बिकास मन्त्री छ्दा बरालले असाह्य अपाङ्ग र दिन दुखीहरुको उद्धारमा केही योजनाहरु लागू गरेको तर अहिले त्यसले निरन्तरता पाउन नसकेको प्रदेश कमिटी कोषाध्यक्ष निर्दोष ओलीको गुनासो थियो । नेता ओलीले भने ‘आजको एकछाक दर र केही आर्थिक सहयोग त हामीले गरौला तर सधै उहाँहरुको संरक्षण राज्यले नगरेर कस्ले गर्ने ? सन्देश यहि दिन खोजिएको हो ।’

कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष नारायण जिसि (निर्मल) प्रदेश कमिटी सचिवालय सदस्य रिज्जु श्रेष्ठ, नगर कमिटी अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष लाल बहादुर थापा लगायतको उपस्थित रहेको थियो ।

आश्रम स्थल रुपन्देही जिल्ला संयोजक टीका थापाले तीजमा सम्झिएरकोमा माओवादी पार्टी परिवारलाई धन्यवाद दिइन । रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जना गरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिएरहेका छ्न । बुटवल आश्रममा महिला र बालबालिका रहेका छ्न् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार