ताजा अपडेट »

मानिस मान्दै आएको धर्म छाडेर किन अर्को धर्म अगाल्दछन् ?

आइतबार, २४ भदौ २०८०, १४ : २३
17 Shares

बुटवल । अघिल्लो हप्ता टेकराज पौडेलजीले गाँउहरुमा जनताले इसाइ धर्म अवलम्बन गरिरहेको कुरा लेख्नु भएको थियो । उँहाको त्यो लेखाइमा सत्यता रहेको छ, आखिर मानिस मान्दै आएको धर्म छाडेर अर्को धर्म किन अगाल्दछन ? मानिसहरुले गाँउघर किन छाडी रहेका छन् ? मानिसहरु आफ्नो जन्मस्थान छाडेर किन विदेश गइ रहेका छन् ?

यी प्रश्नहरूको जवाफ एउटै डालोबाट दिन सकिन्छ, यसको सिधा र सरल उत्तर यो हो कि खासगरि मानवजाति आफूले प्रयोग गरिरहेको सुविधा भन्दा वढी सुविधा अन्यत्र प्राप्त भयो भने उसले त्यसैलाई अवलम्बन गर्दछ । जस्तो कि हाम्रा दुईकोठा मध्य जुन कोठामा झ्याल राखिएको छ, जुनकोठामा पंखा जोडिएको छ, हामिले त्यहि कोठा रोज्दछौं, भरसक वाथरुम समेत भएको कोठा खोज्दछौँ । मेरा दुई छोरा मध्ये मलाई वढी सुविधा र माया जसले दिन्छ म उसैलाई रोज्दछु, देश र राष्ट्रियताको प्रश्नमा पनि यो कुरा लागू हुन्छ, यदि अहिले युरोप, क्यानडा र अमेरिकाले नेपाली नागरिकको निम्ति विजा फ्री गर्यो भने यहाँ दक्षिणको पिलर कुरेर वा चुच्चे नक्साको बहस गरेर कोहि बस्ने छैन्, करिव करिव देश खाली हुने अवस्था हुनेछ । किन त्यस्तो हुन्छ ?

किनकी मान्छेले यहाँ भन्दा त्यहाँ सुविधाहरु वढी पाउँछ, ठूलो सानो रोजगारी पाउँछ, त्यहाँ यहा भन्दा भष्ट्राचार कम हुन्छ, हाम्रो भन्दा ती देशहरु वढी सिस्टममा चलेका छन्, त्यसैले मानिसहरुले बसाइसराइ गरेका छन् । धर्मको बारेमा पनि यो कुरा साँचो हो, मानिस आफुले मानि आएको धर्म छाडेर अर्को धर्ममा किन आकर्षित हुन्छन् ? हिजो भारतका पूर्वी राज्यहरु, अरुणाचल, नागालैण्ड, मणिपुर, आसाम, मिजोरम आदि राज्यहरूमा इसाई धर्मका प्रचारकहरु, विकास र समानताको नारा बोकेर छिरे, स्कूल र अस्पतालको कभरमा छिराएर उनीहरुले धर्मलाई त्यहाँ लगे, जातपात र विभेदको कुरा मेटाएर उनीहरुले इसाइधर्मको स्थापना गरे ।

तपाई पूर्वी भारतमा जानुभयो भने त्यहाँ मन्दिर, मस्जीद र गुम्वाको तुलनामा चर्चहरू बढी पाउनु हुनेछ । हाम्रो देशमा सबै भन्दा पछि जन्मिएका गौतमबुद्धको विचार अहिले विश्वमा सायद बहुमतमा छ होला । किन किनकी त्यहाँ तुलनात्मक रूपमा वढी समानता छ, त्यहाँ रूढीवाद र कट्टरता कम छ, त्यहाँ उपल्लो जात र तल्लो जातको व्यवस्था छैन्, तर हाम्रो हिन्दु धर्मले बढी कट्टरता बोकेको छ जातप्रथालाई कायम राखेको छ ।

मानिसको मृत्युपछि १३ दिनसम्म किरिया वस्नैपर्ने प्रचलनले पनि मानिसलाई अप्ठारो वनाएको छ । महिला र पुरुषका विचमा पनि पूर्ण समानता आइसकेको छैन् । लाखौंलाख दलितहरुलाई मन्दिरमा पुजा गर्ने वातावरण सहज बनेको छैन्, ब्राह्मणलाई उच्च स्थानमा राखेको छ, ब्राहमण भएकै कारण २००४ सालमा राणाहरुले एउटै कसुर गरेका टंक प्रसाद आचार्यलाई सजायबाट मुक्ति दिएको थियो, यी सबै कुरामा पुनर्विचार नगर्ने हो भने मानिसहरु क्रमशः अन्य धर्ममा आकर्षित हुने सम्भावना छ । त्यसैले समयमै विचार गरौँ, यहि हाम्रो हिन्दु धर्म भित्र भयको सति प्रथाको इतिहास हामिले सुनेउ, श्रीमानको मृत्यु पश्चात श्रीमती वाँच्न नपाउने व्यवस्था त्यहाँ थियो, त्यसलाई राज्यले निषेध गरयो राम्रो गर्यो, धर्मको नाउँमा अहिले पनि त्यहि प्रथा रहि रहेको भएँ । परिस्थिती कस्तो हुन्थ्यो होला ? त्यसैले हाम्रो हिन्दु धर्मलाई पनि समय अनुकुल परिवर्तन गर्न आवश्यक छ । यसलाई सरल बनाउन जरुरी छ ।

धर्म परिवर्तन गर्नलाई रोक्नको निमित्त कानुन वा आदेशले काम गर्दैन, त्यसको लागि धर्मलाई समयअनुकुल बनाउन आवश्यक छ । उमेर पुगी सकेकी छोरीलाई विवाह गरेर नदिने अनि छोरी कसैसँग भाग्छे भनेर शहर वजार नपठाउने विचारले छोरीलाई जोगाउन सकिदैँन । हाम्रो धर्ममा रहेका रूढीवाद र कट्टरतालाई हटाउने काम गर्ने हो भने हिन्दू धर्म सबैभन्दा राम्रो धर्म हुनेछ । उन्नत र गतिशिल धर्म हुने छ, केहि हप्तादेखि गाइको मासु खाएको हल्ला चलेको छ ।त्यसले बजार तातेको छ, देशै भरी गाईखानेलाई कारवाही हुनु पर्दछ भनेर प्रर्दशनहरु भइराखेका छन् ।

हामिले यो कुरा बुझौ कि संसारमा धर्महरु फरक फरक रहेका छन्, एकको धर्म संस्कार अर्को धर्म संस्कार सँग मेल खादैँन, नागालैण्डमा वस्ने नागाहारुको मुख्य मासु कुकुरको हुन्छ, उतिहरुको विवाह पुजामा कुकुरको मासु प्रयोग गरिन्छ । ,त्यस्तैगरि पूर्वी भारतमा नेपालीहरुले उहाँ आदीवासीका गाइ पालेका छन्, नेपालीहरुले गाइको दुध खान्छन् भने उनीहरुलाई मासुको आवश्यक पर्दा गोठको बहर वा राम्रो कोर्ली फुकाएर लैजान्छन् ।

यहाँ कसैले सुगुरको मासु खान्छन्, कसैले राँगाको मासु खान्छ्न भने कसैले गाइको मासु खान्छन्, मुस्लीमहरुको सायद दशै तिहारको विचमा पर्ने एउटा पर्वमा गाइको मासुको भोज हुने गर्दछ, त्यसैगरि हाम्रा जनजाति मध्येका कैयौले दशकौंदेखि गाइको मासु खाने गरेका छन् उनीहरु पहिले अलि लुकेर खान्थे भने गणतन्त्र पछि संविधानमा राज्य धर्मनिरपेक्ष हो भने पछि उनी हरू अली खुलेर खान थालेको देखिन्छ हामिले गाइको पुजा गर्छौं र गाइलाई आमा समान मान्दछौँ । हाम्रो मृत्युुमा हामीले सातवटा गाईको सङ्कल्प गर्नुपर्दछ पहिला शशरिर गरिन्थ्यो भने अहिले दुनामा गर्ने गरिन्छ ।

तर सबै धर्मले त्यहि गर्नुपर्दछ भन्ने जरुरी छैन्, उनले उनको धर्म, परम्परा र संस्कृति अनुरुप नै गर्नु पर्दछ, संविधानमा विवादास्पद कुरा लेखिएको हुनाले पनि यो समस्या देखा पर्यो, एकातिर धर्म निरपेक्ष पनि भन्यो अर्कोतिर गाइ काट्ने वा गाइलाई दःुख दिनेलाई ३ वर्षसम्म कैद गरिनेछ पनि भन्यो, यो विवादास्पद कुरा त्यहाँबाट हटाउन जरुरी छ हामिले हाम्रो धर्म, संस्कृति, परम्परा र रितीरिवाजको पालना गरि रहँदा अर्को संस्कार संस्कृति र परम्परालाई प्रहार गर्नु हँुदैन, मेरो मात्र राम्रो तिम्रो नराम्रो भन्ने सोचाई राख्नु हुँदैन, इतिहासमा ठूला ठूला धार्मिक युद्ध हुने गरेका छन् ।

भारतमा दशकौंदेखि शासक वर्गहरुले रामजन्म बावरी मस्जीदको कार्ड खेली रहेका छन् । शासक वर्गको धर्म भनेको कुनै मोक्ष प्राप्तिको साधन होइन सत्ता प्राप्तिको साधन हो । उनीहरु जनतालाई जातिजातिमा लडाएर, धर्म धर्ममा लडाएर राज्य गर्दै आएका छ्न । कतिपय धर्मका ठेकेदारहरुले पनि जनतालाई धार्मिक आस्थामा लठ्ठायर,आफ्ना स्वार्थ सिद्धि गर्ने गरेका छन् । उनीहरु सबै सुख भोग र सुविधा यसै जिवनमा गर्दछन् भने हामिलाई मरेपछि स्वर्ग पुगिने र पितृलोकमा पुगेर सुख भोग गर्ने लालचा देखाउने गर्दछन् ।

त्यसखालका कतिपय धार्मिक ठगहरु आज भारतको जेलमा बसेका छन्, त्यसकारण हामिले हाम्रो धर्म, संस्कृति, परम्परा, भेषभुषा र रिती रिवाजलाई सम्मान गर्दै दुनियाँमा रहेका हजारौँ जाति धर्म सम्प्रदायका रितिरिवाज, चालचलन र परम्पराको सम्मान गर्न सकेउ भने मात्र हामि मानव जातिको विचमा सच्चा भाइचारा कायम हुनेछ । धार्मिक सहष्णुता र सद्भावनै असल मानवको परिचय हो । के हामिले यसरी सोच्न सक्दैनाँै र?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।