ताजा अपडेट »

तिलोत्तमाको वार्षिक समीक्षा : कार्यकाल उत्कृष्ट भएको दाबी 

बुधबार, ०६ भदौ २०८०, २१ : ०७
10 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति, योजना तथा कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरू, वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो । समग्रमा आर्थिक वर्ष योजना कार्यान्वयनको हिसाबले उत्कृष्ट रहेको दाबी गरिएको छ ।

नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकाको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले एक साइकलका दुई पाङ्ग्रा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, विश्वसनीय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधिको चाहना र देशको समृद्धिको खुड्किलो पूरा हुने बताए ।उपप्रमुख जगेश्वर देवी चौधरीले कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरीय सेवा दिन र हरेक योजना र विकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गरिन । उनले जनप्रतिनिधि एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडि नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताइन ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले नगरका हरेक गतिविधिलाई बिकाससँग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्नुपर्ने बताए । जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा विकाश निर्माण र सेवा प्रबाहको अवस्थाबारे विश्लेषण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।