ताजा अपडेट »

बुटवलको वृक्षरोपण अभियान : छाडा चौपायले बाँकी राख्लान विरुवा ?

बुधबार, ३१ साउन २०८०, १७ : ३६
72 Shares

बुटवल । बुटवलमा सुरु गरिएको वृक्षरोपण अभियान पूरा नहुँदै छाडा चौपायाको जोखिममा परेका छन् । तामझामसहित साउन १५ गतेदेखि बुटवल उपमहानगरले सुरु गरेको ४५ दिने अभियान पूरा हुन नपाउँदै लगाइएका बोट विरुवाहरुको उचित व्यवस्थापन हुन नसक्दा स्वाहः हुने देखिएको छ ।

बुटवलमा समस्याका रुपमा रहेको छाडा पशु चौपाया नियन्त्रण चासो नदेखाएको बुटवल उपमहानगरलाई आफूले सुरु गरेको वृक्षरोपण अभियान पनि त्यसैका कारण चौपट हुने चिन्ता थपिएको छ । तारबार नै नगरी सडक बीचको डिभाइडरमा लगाइएका विरुवाहरुको उचित रेखदेख त भएको छैन नै पशु चौपायाको समेत चरन गर्ने थलोबन्दा विरुवा मासिने देखिएको हो ।

रोपिएको विरुवाहरु एक महिना नहुँदै नाङ्गो बनेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष सुमुन्द्र जीसीले सामाजिक सञ्जाल मार्फत भिडियो तथा तस्विरहरु सार्वजनिक गरेका छन् । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले आफै सडकमा गएर तामझामका लगाइएका विरुवा अभियान पूरा हुने समय ४५ दिनसम्म पनि टिक्ने हो कि होइन स्थानीयले प्रश्न गर्न थालेका छन् ।

एक घर तीन रुख कार्यक्रमका लागि भन्दै उपमहानगरले वृक्षारोपणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पशु चौपायको उचित व्यवस्थापन हुन नसके उपमहानगरको १२ लाख लगानी बालुवामा पानी हुने बताउँछन् उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष जीसी ।

अभियानको आरम्भ गर्दै नगर प्रमुख पाण्डले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना सुनाएका थिए ।

बुटवलले चालु आर्थिक वर्षमा विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी कालिकानगर क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३९३ सय बिरुवा रोपिने कार्यक्रम अन्तर्गत अधिकांस स्थानमा विरुवा रोपिएका छन् ।

बुटवल उपमहानगरले भने विरुवा रोप्नु अघि विभिन्न संघ संस्थाहरुलाई तारजाली गर्न जिम्मा दिइएकोमा ती संस्थाहरुले प्रतिबद्धता अनुसार तारजाली नलगाइदिएका कारण विरुवाको क्षति भएको जनाएको छ । संघ संस्थाकै इच्छा अनुसार उनीहरुको लोगो राख्न पाउने गरि तार जालीको जिम्मा लगाइएको बुटवल उपमहानगरका प्रमुख प्रशासमिय अधिकृत टेकराज पन्थीले बताउँछन् । उपमहानगरसँग बुटवलको कालिकानगर क्षेत्रको तारजालीका लागि बुटवल उद्योग बाणिज्य संघ र सिटिजन्स बैंकले प्रतिबद्धता ब्यक्त गरेका थिए । यसैगरी अन्य स्थानहरुमा पनि संघ–संस्थाहरुले तारजाली गर्ने जिम्मा लिएको उपमहानगरले बताएको छ ।

संघ–संस्थाका नाममा बगैचा कि झाडी ?
राजमार्ग क्षेत्रमा विभिन्न सामाजिक संघ संस्थाले निर्माण गरेका तारबारभित्र समेत बगैचाभन्दा बढी झारपात देखिएका छन् । वार्षिक रुपमा विभिन्न दिवस तथा अवसर पारेर वृक्षरोपण आयोजना गर्ने, फोटो खिचाउने तर, संरक्षणका लाग एक पटक पनि फर्केर नजाने प्रवृत्तिले सडकका बगैचा झारपातले भरिएका हुन् ।

यस योगीकुटीदेखि गोलपार्कसम्म सडकको डिभाइडरमा विभिन्न संघ संस्थाका ब्यानरसहित बगैचा तयार पारिएका छन् । यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरु रुपन्देही व्यपार संघ, रुपन्देही उद्योग संघ, उद्योग व्यापर संघ बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल डाउनटाउन, लायन्स क्लब अफ बुटवल स्टार, इनरह्विल क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल डाउनटाउन, कृषि विकास बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, शाइन रेसुङ्गा बैंक, सनराजइन बैंक, बुस्टर लगायत विभिन्न संघ संस्थाका बोर्ड झुण्डिएका बगैँचाभित्र सडक सुन्दर पार्न राखिएका विरुवाभन्दा बढी झाडीले भरिएका छन् ।

विभिन्न व्यवयिक संघ संस्थाले निर्माण गरेका तारबार समेत सवारी दुर्घटना तथा विभिन्न कारणले बिग्रीएका भत्किएका अवस्थामा छन् । कतीपय ठाउँमा त आफ्नो विज्ञापन गर्न संघ–संस्थाले राखेका व्यानरहरु नै झुत्रो भएर झन कुरुप देखिएका छन् । दिवसमा सेल्फि खिच्न र सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणको स्वाङ पार्न कतिपय संघ संस्थाले गर्ने वृक्षरोपण स्थल अनावयश्यक झारपातरले भरिएका हुन् । उचित रेखदेख र काटछाँटका लागि सम्बन्धित पक्षले ध्यान दिने हो भने मात्रै बुटवलको सडकलाई सौन्दर्यकरण गर्ने प्रयास सफल हुन सक्ने स्थानीयहरु बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।