ताजा अपडेट »

रुपन्देहीको मर्चवारीका तत्कालिन प्रशासकीय अधिकृतसहित ७ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बुधबार, ३१ साउन २०८०, १७ : ०७
44 Shares

भैरहवा । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीका ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको बिभिन्न बिकास निर्माणको काममा तथा तालीम कार्यक्रमहरुमा कमिशन लिएको आरोप सहित ७ जना बिरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, सम्वृद्ध नेपाल ईनर्जीका प्रोपाईटर बिनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल टे«निङ्ग ईन्टिच्युटका प्रोपाईटर अमरिश यादवमाथि मुद्दा दायर गरेको छ ।

प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो । सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरि एवम कमिशनको रुपमा जम्मा गराईन्थ्यो । यस बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो । अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कामहरु, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरु भएका थिए ।

सोही योजना एवम कार्यक्रमहरुको वर्षको अन्यत्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले पुष्टि गरेको छ । अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय मागदाबी गरेको छ ।

वडा सचिव गुलावसँग २ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग ५ लाख बिगो कायम गरेको छ । प्रोपाइटर विनोद बाबु तिवारी विरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन विरुद्ध ३ लाख ६० हजार र प्रोपाइटर अमरिश यादव विरुद्ध २ लाख बिगो मागदाबी गरेको छ । आरोपितहरु मध्ये प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल अवकाश पाईसकेका छन् भने तत्कालीन कार्यपालिका सदस्य राजेश हरिजनको मृत्यु भईसको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।