ताजा अपडेट »

लुम्बिनीलाई काठमाडौं केन्द्रित बनाउन लागेको भन्दै ल्हारक्यालको पहिलो निर्णय नै विवादमा

शनिबार, २७ साउन २०८०, ०५ : ३३
12 Shares

बुटवल । विगतदेखि नै लुम्बिनीको पहुँच लुम्बिनीमा नभई काठमाडौं केन्द्रित भएको भन्दै आलोचना हुने गरेको छ । काठमाडौं केन्द्रित नभई लुम्बिनीमै यसको पहुच कायम गर्नका लागि काठमाडौंको सम्पर्क कार्यालय बन्द गर्ने निर्णयलाई हालै नियुक्त कोषका उपाध्यक्ष ल्हारक्याल लामाले उल्टाएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका लामाको पहिलो निर्णय नै विवादित भएको छ । उनकै अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँ खोल्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने लोकप्रिय निर्णय गरे । तर, सोही बैठकको दोस्रो निर्णय भने स्थानीयका लागि चरम अप्रिय बन्न पुग्यो । उनको प्रस्तावलाई समर्थन गर्दै कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य तथा योजना प्रमुख ईन्जिनीयर सरोज भट्टराईले समर्थन जनाउँदै निर्णयमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनीमा सञ्चालन हुने कुनै पनि गतिविधि काठमाडौंमै बसेर निर्णय हुने तथा त्यहीबाट नै सञ्चालन गर्ने विगतको परम्पराप्रति यहाँका स्थानीयले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । लुम्बिनीको विकास तथा योजनाहरु स्थानीयको पहुँचमा नभएको भन्दै आलोचना भैरहने लुम्बिनीमा केही समय अघि मात्र कोषको काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरी सबै काम लुम्बिनीकै कार्यालयबाट गर्ने सरकारको निर्णय थियो । तर, लामा उपाध्यक्ष भएको पहिलो बैठकमै सम्पर्क कार्यालय काठमाडौँमै खोल्न प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जसको स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले आलोचना गरेका छन् ।

वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद लामालाई कोषको उपाध्यक्ष भएपछि आलोचनारहित काम गर्ने अपेक्षा गरिए पनि उनको पहिलो निर्णय नै विवादित हुन पुगेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।