ताजा अपडेट »

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान : सौन्दर्यीकरणका लागि १ करोड ९० लाख बजेट

सोमबार, १५ साउन २०८०, ११ : ११
44 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले ४५ दिने सरसफाई तथा वृक्षरोपण अभियान सोमबारदेखि सुरु गरेको छ । बुटवल योगिकुटीबाट वृक्षरोपण र सरसफाई गरी सुरु गरिएको यो अभियान अन्तरगत मुख्य सडकमा डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको सरसफाई गरिने छ ।

बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको नगर प्रमुख खेलराज पाण्डेयले बताए । बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने गरी योजना अगाडि बढाएको उनले बताए । मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने बताए ।

बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३÷३ सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुने उनले बताइन् । अभियानअन्तरगत पहिलो दिन योगीकुटीदेखि होराइजन चोकसम्म, १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने उप प्रमुख अर्यालले बताइन् ।

यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबहरुलाई आह्वान गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।