ताजा अपडेट »

कांग्रेस केन्द्रीय समितिको बैठक आज समापन हुँदै, निर्णय टुंगो लगाउन पदाधिकारी बैठक

बुधबार, १० साउन २०८०, ०८ : ३०
8 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । समापनअघि केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दै छ ।

यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरुलाई दिएको थियो । ती नेताहरुले आजको पदाधिकारी बैठकमा मस्यौदा पेस गर्नेछन् । त्यसपछि सभापति र महामन्त्रीहरुले निर्णयको मस्यौदालाई अन्तिम रुप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिको बैठक आज अपराह्न चार बजे बस्दै छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा सुरु भएको थियो । बैठकमा महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीको एक वर्षे कार्ययोजना प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिका साथै कार्ययोजनामा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

केन्द्रीय सदस्यहरुको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेस गर्नेछन् । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।