ताजा अपडेट »

खाली हुँदै बुटवलको गौ संरक्षण केन्द्र, सडक तथा बजारमा भरिए छाडा चौपाया

शनिबार, ०६ साउन २०८०, १० : २७
38 Shares

बुटवल । मुख्य राजमार्ग, बजार तथा बुटवल उपमहानगरभित्र खुला रुपमा रहेका छाडा चौपायालाई व्यवस्थापन गर्नेगरी २ वर्षअघि स्थापना गरिएको नन्दिनी गौ संरक्षण केन्द्र खाली हुँदै गएको छ । बुटवल–७ शिवनगर सामुदायिक वन भित्र स्थापना गरिएको नन्दिनी गौ संरक्षण केन्द्रलाई मुख्य संरक्षक बुटवल उपमहानगरको बेवास्ताका कारण अलपत्र बनेको हो ।

छाडा चौपाया व्यवस्थापन गर्ने भनि स्थापना गरिएको गौसंरक्षण केन्द्र खाली हुँदै जाँदा बुटवलका सडक तथा बजार भने चौपायाले भरिएर अस्तव्यस्त बनेका छन् । सयौं गाइलाई चरण सहितको क्षेत्रमा स्याहार–सुसार गर्ने र गाइको बारेमा अनुसन्धान गर्नेगरी गौ संरक्षण केन्द्र स्थापना गरिएको थियो । मुख्य राजमार्गमै छरिएर चौपाया बस्दा सडक यात्रा असुरक्षित हुने गरेका छन् । स्थानीय तहको दोस्रो कार्यकाल एक वर्ष पूरा हुंदासम्म पनि छाडा चौपाया नियन्त्रणमा उपमहानगरपालिकाले कुनै उपलब्धि हासिल गर्न नसकेको भनि आलोचना हुने गरेका छन् ।

शिवनगर जँगलमा अलपत्र परेको गौसंरक्षण केन्द्र त्यही स्थल हो जहाँ २ वर्ष अघि हालका मेयर खेलराज पाण्डेय र तत्कालिन मेयर शिवराज शुवेदीले सँगै ‘देउसी–भैलो’ नाचेर संरक्षण गर्ने सामुहिक संकल्प गरेका थिए । वि.स. २०७८ साल कार्तिक १८ गते लक्ष्मी पूजाको अवसर पारी औपचारिक शुभारम्भ गरिएको गौसंरक्षण केन्द्र अलपत्र परेका कारण यसको प्रत्येक्ष असर बुटवल बासी तथा यहाँका सडक हुँदै गुड्ने सवारी साधन तथा पैदल यात्रुले भोग्नु परेको छ । गौशालामा देउसीभैलो : बुटवलका मेयर सुवेदीले भट्टाए,काँग्रेस सभापति पाण्डे नाचे (भिडियाेसहित)

८ विगाह बढी क्षेत्रफलको जँगलमा तारबार गरेर निर्माण गरिएको संरक्षण केन्द्रमा रहेका २/३ सय बढी चौपायाको संख्या घटेर अहिले ५०/६० मा झरेको छ । आर्थिक अभावमा बिरामी परेका गाईहरुको उचित हेरचाह र उपचार अभावमा चौपाया मरेपछि यसको सङ्ख्या घट्दै गएको हो । यसैगरी उचित संरक्षण नहुँदा संरक्षण केन्द्रमा आएका चौपायाहरु पुनः सडकमा फर्किँदा यसको सङ्ख्या घट्दै गएको छ ।

गौसंरक्षण केन्द्रका सचिव टोपलाल शर्माका अनुसार संरक्षण केन्द्रमा बुटवल बजारमा रहेका छाडा चौपायालाई ल्याएर राख्ने भनिए पनि स्थानीय सरकारको बेवास्ताका कारण त्यो काम हुन सकेको छैन । मुख्य संरक्षक रहेको बुटवल उपमहानगरले नै बेवास्ता गर्दा संरक्षण केन्द्र अलपत्र पर्दै गएको छ भने बुटवलका बजारमा चौपाया भरिएर अव्यवस्थित बन्दै गएको उनले बताए ।

६० लाख बढी खर्च गरेर निर्माण गरिएको केन्द्रमा अहिलेकै अवस्थामा पनि ४/५ सय बढी चौपायालाई व्यवस्थापन गर्न सकिने शर्मा बताउँछन् । गाई/गोरु बाध्ने ५० मिटर लामो ८ मिटर चौडाको टहरो, ६० फिट लामो ३० फिट चौडाई भएको भुस्सा घर, बिरामी भएका गाईलाई राख्नै छुट्टै घर, यज्ञ मण्डप, ६ हजार बढी पानी अट्ने ट्याङ्की तथा स्ट्यान्ड, कुण्डहरु तथा हेरालु बस्नका लागि घर लगायतका संरचनाहरु भएको संरक्षण केन्द्र सञ्चालनका लागि बुटवल उपमहानगरले बिनियोजन गरेको रकम समेत उपलब्ध नगराएपछि बन्द हुने अवस्थामा पुगेको सचिव शर्माले बताए । गत आर्थिक वर्षमा संरक्षण केन्द्रका लागि छुट्याइएको २५ लाख रकम विभिन्न बहाना बनाएर उपमहानगरले उपलब्ध नगराएको उनले गुनासो गरे । विनियोजित रकम मध्ये २/३ लाख मात्रै केन्द्रलाई प्राप्त भएको उनले बताए । उपमहानगले रकम उपलब्ध नगराएपछि विभिन्न दान दातव्यबाट संकलित हुने रकमबाट नै केन्द्रमा व्यवस्थापनको काम हुँदै आएको उनले बताए ।

गाई बस्तुका लागि दाना पानी तथा २ जना हेरालुलाई मासिक १५/१५ हजार तलब सुविधा उपलब्ध गराउनका लागि दाताकै भर पर्नुपर्ने अवस्था आएको उनले बताए । यसरी बजार पनि छाडाचौपायामुक्त हुने गौ संरक्षण केन्द्र पनि सञ्चालन हुने गरी बनाइएको योजनामा उपमहानगरले बेवास्ता गरेको हो ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेका अनुसार छाडा चौपायाको दीर्घकालीन व्यवस्थापन गर्ने गरी प्रदेशस्तरको गौआरक्षण केन्द्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई प्रस्ताव गरिएको छ । सोही प्रस्ताव अनुसार प्रदेश सरकारले केही रकम विनियोजन गरेको समेत उनले जानकारी दिए । ‘उपमहानगरको एक्लो प्रयासले मात्रै छाडा चौपाया व्यवस्थापन सम्भव देखिएन अब राप्तीदेखि पश्चिम नवलपरासीसम्मका छाडा चौपायालाई व्यवस्थापन गर्नेगरी राष्ट्रिय गाई संरक्षण केन्द्र स्थापना गर्ने प्रस्तावलाई अघि बढाएका छौं ।’–मेयर पाण्डेयले भने, ‘यसका लागि थोरै जग्गाले पुग्दैन कम्तिमा २ हजार विगाह जमिनको आवश्यक पर्छ । दुई ठाउँमा सम्भावित जग्गाको पहिचान गर्ने काम पनि भएको छ ।’

उनले पालिकाले मात्रै छाडा चौपाया नियन्त्रण गर्न नसक्ने बताउंदै यसका लागि सामूहिक प्रयत्न आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार नगरपालिकाले ठूलो आकारको गौसंरक्षण केन्द्र निर्माण गर्न नीति कार्यक्रम र बजेटमा समावेश गरेको छ । छाडा चौपायालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बुटवलले छिमेकी पालिकाहरूसंग समन्वय गरी प्रदेशस्तरको गौसंरक्षण केन्द्र बनाउने योजना अघि सारेको हो ।

बुटवल उपमहानगरले प्रदेशस्तरको गौसंरक्षण केन्द्र स्थापना गर्न आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ लाख बजेट छुट्टयाएको छ । शिवनगर सामुदायिक वनमा सञ्चालित नन्दनी गौसंरक्षणका लागि २० लाख बजेट छुट्टयाएको छ । मेयर पाण्डेले शिवनगरमा रहेको गौं संरक्षण केन्द्रलाई बुटवल उपमहानगरले सञ्चालन गर्न नसक्ने देखिएकाले अब त्यसको जिम्मा पनि अन्य संस्थालाई लगाउने तयारी भएको बताए । ‘केही दिनमै गौ संरक्षण सञ्चालन गर्न चाहने संस्थाहरुका लागि सूचना आह्वान गर्छौ ।’–पाण्डेयले भने, सधै उपमहानगरले किनेर दाना खुवाएर छाडा चौपाया राख्न सक्दैन, यसका लागि खुला चरणसहितको संरक्षण केन्द्र आवश्यक देखियो ।’

यसैगरी बुटल उपमहानगरले शिवनर जँगलमा रहेको गौ संरक्षण केन्द्रलाई केही रकम उपलब्ध गराउँदै आएको भएपनि उक्त संरक्षण केन्द्रले सडकका चौपाया व्यवस्थापन गर्न नसकेको बताए । ‘उपमहानगरले खर्च गरिरहने, छाडा चौपाया सडकमा हुने । अब यसरी हुँदैन संरक्षण केन्द्र सञ्चालन गर्न चाहने संस्थालाई नै सम्पूर्ण जिम्मेवारी दिने गरी काम हुँदैछ ।’ उनले भने ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।