ताजा अपडेट »

गौशालामा देउसीभैलो : बुटवलका मेयर सुवेदीले भट्टाए,काँग्रेस सभापति पाण्डे नाचे (भिडियाेसहित)

विहीबार, १८ कार्तिक २०७८, ११ : ३१
36 Shares

बुटवल । बिहीबार बुटवल–७ शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्रको शुभारम्भ भएको छ । औपचारिक समारोहबीच शुभारम्भ गरिएको उक्त कार्यक्रममा एउटा रमाइलो कार्यक्रम वा दृश्य पनि देखियो । गौशालामा देउसीभैलो कार्यक्रम पनि भयो । जसमा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले भट्टाए भने निर्वाचनका समयमा उनका प्रत्यासी हालका कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे नाचे । उपमहानगर प्रमुख सुवेदी र कांग्रेस सभापति पाण्डेले देउसी खेल्दै गौशाला संरक्षणको संकल्प गरेका छन् ।

स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयर पदका लागि एक–आपसमा प्रतिष्पर्धा गरेका उनीहरु बिहीबार भने एउटै आँगनमा देउसीभैलो नाचगान गरेका हुन् । प्रायः औपचारिक कार्यक्रमहरुमा एकैठाउँ देखा नपर्ने उनीहरु बुटवलमा गौशाला सञ्चालन गर्ने विषयमा भने एकैठाउँ उभिएर संकल्प गरेका छन्। बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापनाको अवसरमा उनीहरुले देउसी भैलो नाचगान गरेका थिए । सयौं गाइलाई चरण सहितको क्षेत्रमा स्याहार–सुसार गर्ने र गाइको बारेमा अनुसन्धान गर्नेगरी गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । शिवनगर सामुदायिक वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा व्यवस्थित गौ संरक्षण स्थापना गरिएको हो ।

लक्ष्मी पूजाको अवसर पारेर बुटवल उपमहानगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथ धाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरे तथा काँग्रेस बुटवलका सभापति पाण्डेले एकसाथ शुभारम्भ गरेका हुन् ।

भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिए । भव्य गाइपुजा, गोवर्धन पूजा, मन्त्रोच्चारण, भूमिपुजनसहित केन्द्रको शुभारम्भ गरिएको थियो ।केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय (गाई,गोरु) लगिने र चरण क्षेत्र विस्तार गरिने वनका अध्यक्ष घिमिरेले बताए । त्यहाँ लगेपछि पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण गर्नेछन्, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको बुटवलका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।

धार्मिक गुरूहरुले गौ संरक्षण केन्द्रलाई संस्कृति र प्रकृतिको संयुक्त आश्थाको केन्द्र बनाउन सकिने बताएका छन् । नेपालको राष्ट्रिय जनावर गाईलाई पवित्र र बहुगुणी दुधालु जनावरका रुपमा लिइन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।