ताजा अपडेट »

लुम्बिनी प्रदेशसभामा मँगलबार पनि चल्यो नाराबाजी, पक्ष र प्रतिपक्षको आफ्नै रटान

मंगलबार, १९ असार २०८०, १८ : २९
36 Shares

बुटवल । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडानले मँगलबार पनि नाराबाजी चल्यो । सक्षपक्षले बहुमतको बलमा सदन चलाउने प्रयास गर्दा प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ । सभामुख तुलाराम घर्तीले सदनलाई अगाडि बढाउँदै गर्दा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नारा लगाउँदै संसदबाट बाहिरिएका थिए ।

सदनमा प्रतिपक्षी दलका सांसदका रुपमा बोल्दै सांसद भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरु छलफलबाट भागिरहेको बताए । सांसद श्रेष्ठले संघीयताका नामाम भइरहेको वेथितिप्रति दिक्कदारी प्रकट गर्दै त्यसको जिम्मेवार सरकार रहेको बताए । सदनमा महत्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने कतै देखा नपरेको भन्दै सांसद श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुनय विनय गरे ।
सांसद श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन आग्रह गर्दै भने–‘दलका तर्फबाट, सिंगो प्रतिपक्षका तर्फबाट अनुरोध गर्दछु र व्यक्तिगत रुपमा पनि साष्टाङ्ग दण्डवत गर्दछु मुख्यमन्त्री ज्यू सदनमा आउनुस् ।’ लुम्बिनी प्रदेश सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री, मन्त्रीहरुका गतिविधिले नै वेथिति, विसंगति बढाएको दाबी गरे । राजनीतिले जनतामा निराशा छाएको र त्यसले सबै राजनीतिक दलका नेतृत्वप्रति नै वितृष्णा जगाएको उल्लेख गरे ।
तर प्रतिपक्षको नाराबाजीकै बीचमा अर्थमन्त्रीले प्रस्ताव पेश गरी त्यसमाथि धारणा राख्ने काम भएको छ । मँगलबार अर्थमन्त्रीले धारणा राखेपछि सभामुख घर्तीले सैद्दान्तिक छलफल सकिएको घोषणा गरेका छन् । मंगलबारको सदनमा जनमोर्चाकी सांसद तारा थापा, नेकपा एसकी भगवती अधिकारी, राप्रपाका सांसद मिना श्रेष्ठ, रोल्पाबाट निर्वाचित माओवादी सांसद सुरुल पुन, कांग्रेसकै सांसद लोकीकुमारी विकलगायतले बोलेका थिए ।

दाङबाट समानुपातिक सांसद विकले समानुपातिक सांसदहरुका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको र त्यसमा सत्ताप्रतिपक्ष दुबैको एकमत रहेको उल्लेख गर्दै दोहोरो भूमिका निर्वाह गरेको गुनासो गरिन् । उनले आफूहरु पनि राजनीति गरेर आएको तर, सदनमा बजेट विनियोजन गर्ने क्रममा विभेद गरिएको बताइन ।
मंगलबारको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले रोष्ट्रममा घेराउ र नाराबाजी गरे । वर्तमान गठबन्धन सरकारले यसअघिका महत्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री लिला गिरीले सदनको सुरुमै बजेटका बारेमा धाराणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरीत, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।