ताजा अपडेट »

तिलोत्तमाले यसरी मनायो राष्ट्रिय धान दिवस, मेयर-उपमेयरसहित जनप्रतिनिधि सबै हिलोमा

शुक्रबार, १५ असार २०८०, १६ : ३४
30 Shares

बुटवल । राष्ट्रिय धान दिवस असार–१५ को अवसमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १७ कानपारामा रोपाई गरेर मनाएको छ । सो अवसरमा बोल्दै मेयर रामकृष्ण खाँणले तिलोत्तमाका हरेक जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजनासाथ नगरपालिका अघि बढेको बताए ।

‘जलवायु अनुकुल कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’–भन्ने मूल नारासाथ २० औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा असारे गीतमा रमाउँदै जनप्रतिनिधिहरुले रोपाई गरेका थिए । नगर प्रमुख खाँणले तिलोत्तमालाई वातावरणीय हिसाबले हरियाली बनाउनुका साथै उत्पादनका हिसाबले पनि अब्बल पालिकाका रुपमा बिकास गर्नका लागि सबै नागरिकको सहयोग र साथ आवश्यक रहेको उल्लेख गरे । नगरमा भौतिक तथा पूर्वाधारको विकासमात्र नभई अब मानवीय विकासमा जोड दिनु पर्ने भएकाले सबैलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे ।

यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले मानोरोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको असार–१५ मात्र नभई अन्य समयमा समेत कृषिकर्ममा लाग्न आग्रह गरिन् । कृषिको व्यवसायीकरण, आधुनिक कृषि प्रविधिको बिकास तथा बजारीकरणलाई व्यवस्थित गरी व्यवसायीक कृषि विकासका लागि नगरपालिकाले योजनावद्ध काम गरिरहेको उल्लेख गरिन् ।

रोपाई महोत्सवमा नगर कार्यापालिकाका सदस्यहरु, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, अन्य जनप्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले तिलोत्तमाको जमिनलाई खानी नराखी उत्पादनमा प्रयोग गर्नुपर्नेमा जोड दिए । यसैगरी सरकारले समयमै प्रयाप्त मलखाद, बिउविजन र उत्पादनको उचित बजारिकरणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । असार–१५ को अवसरमा एक–आपसमा शुभकामना आदानप्रादनसहित दही चिउरा खाएर मनाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।