ताजा अपडेट »

लुम्बिनीमा भारतीय विहारको निर्माण शुरु

आइतबार, २१ साउन २०८०, २२ : २५
8 Shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित विहार क्षेत्रमा अन्र्तराष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध सस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्तकालीन प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए ।

आईतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरि विहारको निर्माण थालिएको छ । भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाईमा पुर्याउने बताए । उनले नेपाल र भारविचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सिमित नभई भगवान गौतमबुद्धका कारण हजारौं बर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको बताए ।

बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतविच सहकार्य आवश्यक रहेको बताए । भारतको उपस्थिती बुद्धजन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको बताउँदै अबको १८ महिनापछि कमल फूलको आकृतीको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीम भारतको उपस्थिती हुनु निकै राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन हुने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघका महासचिव डा। भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध सस्कृती र सम्पदाको प्रवर्द्धनका लागि आधुनिक केन्द्र बनाउन शुरु भएको दिन निकै महत्वपूर्ण रहेको बताए । उनले बुद्धको लुम्बिनीमा जन्म भएपनि बुद्धले ध्यान गरि ज्ञान प्राप्त गरेको बोद्धगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशिनगर भारतमा रहेकाले यी दुई देशविच सुमधुर सम्बन्ध रहेको बताए । शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूताबासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसंघका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोल लगायतले बोल्दै विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताए ।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाईन गरिएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजना भित्रको विहार क्षेत्रमा विहार निर्माण शुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । उनले जिरो नेट प्रविधि अर्थात बाहिरी विजुली नै आवश्यक नपर्ने गरि आधुनिक विहार भवन निर्माण हुने बताए । एसिसि इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामि १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरि सम्झौता गरेको छ ।

भूमी पुजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरु, अखिल नेपाल भिक्षु महासंघका महास्थविर, विभिन्न देशका भिक्षु भिक्षुणी, उपासक, उपासिका लगायतको उपस्थिती रहेको थियो । भूमि पूजा कार्यक्रमको सञ्चालन पत्रकार निरु गौतमले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।