ताजा अपडेट »

लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादी छविका ल्हारक्याल लामा नियुक्त

आइतबार, २१ साउन २०८०, २२ : ३४
6 Shares

बुटवल । विवादीत छविका ल्हारक्याल लामालाई सकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद लामालाई कोषको उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताए । माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।

ल्यारक्यालको धार्मिक नाम डा। खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् । उनले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे भने दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् । लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।