ताजा अपडेट »

२७ वर्षीया बुहारीको हत्या अभियोगमा सासु-ससुरा पक्राउ

आइतबार, २८ जेठ २०८०, १४ : ०७
12 Shares
आइतबार, २८ जेठ २०८०
12 Shares

बुटवल । कैलालीमा आफ्नै सासु ससुराले बुहारीको हत्या गरेका छन् । २७ वर्षीया कौशी भन्ने कबिता बुढाको ससुरा डिल्ली सिंह बुढाले चिर्पटले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ डिल्ली सिंहसहित उनकी श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ । कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका–१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो । घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी
हत्या गरे प्रारम्भिक बयानमा खुलेको छ ।

हत्या पश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर शवलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।