ताजा अपडेट »

एक लाखले हेरेको तस्विर

विहीबार, ०२ माघ २०७६, १७ : २७
22 Shares
विहीबार, ०२ माघ २०७६
22 Shares

साउन १५ मा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय कार्यालय पुगेको थिएँ । बुटवलमा बिएएलएलबी सञ्चालन सम्बन्धमा विस्वविद्यालय पदाधिकारीहरुसँग कुरा गरेर निस्कदा परिसरमा निर्माण भरहेको प्रज्ञा स्तुपमा आँखा पुगे । दिउँसको चर्को घाममा मजदुरहरु स्तुपाको अन्तिम चरणको काम गरिरहेका थिए । बन्दै गरेको स्तुपाको ढाँचा गज्जबको लाग्यो । निर्माण पूूरा भएपछि कस्तो देखिएला भनेर पछि तुलना गर्नको लागि स्तुपाको फोटो खिचे र केहि दिनपछि गूगल म्यापमा अपलोड गरिदिएँ । अपलोड गरेको साढे तिन महिनासम्म यो तस्विर खासै हेरिएन । पुषको पहिलो सातासम्म १ हजार जनाले यो तस्विर हेरेका थिए तर, १० गते पुग्दा ३२ हजारले यो तस्विर हेरे भने हेर्दा सामान्य लाग्ने यो तस्विर हेर्नेहरुको संख्या माघे संक्रान्तिको मध्यान्हसम्म आइपुग्दा एक लाख जनाले हेरे । नेपालको कुनै ठाउँको सामान्य लाग्ने तस्वीरले यति धेरै दर्शक पाउनु गौरवको कुरा हो ।

धेरैलाई लाग्न सक्छ ‘धेरै मानिसले तस्विर हेर्दा के फाइदा हुन्छ र खुशी हुनु? सोचाइ स्वाभाविक हो । तर यसो सोचिरहदा एउटा तस्विर हजारौ शब्दहरु भन्दा शक्तिशाली र अथपूर्ण हुन्छ भन्ने कुरा बिर्सन सकिदैन । हामीहरु विभिन्न ठाउँको तस्विर हेरेर त्यो ठाउँ कति सुन्दर र महत्वपूर्ण छ भन्ने कुराको अनुमान लगाउछौ र त्यहि ठाउँमा घुम्न जाने वा नजाने भन्ने कुराको निर्णय गछौं । सामाजिक संजाल र संचार माध्यमहरुमा आएका तस्विरहरुको आधारमा पर्यटकहरुले जानकारीहरु लिने र घुम्न जाने गर्छन् । पछिल्लो समयमा घुम्न जानेहरुले गूगलमा सर्च गरेर आवस्यक जानकारी लिएर घुम्न जाने गरेका छन् । पर्यटकहरुलाई घुम्न गूगल म्यापले ठुलो सहयोग गरिरहेको छ । मानिसहरुले म्याप हेरेर र म्यापमा उपलब्ध फोटो र जानकारीहरु हेरेर आवस्यक जानकारी लिने गर्छन । यहि कारणले गर्दा गुगल म्यापमा राखिएको तस्विरको ठुलो अर्थ रहन्छ । कुन ठाउँको तस्विर कति जनाले हेरे भन्ने कुराले त्यो ठाउँको प्रचार कति भयो भन्न सकिन्छ । धेरै जनाले तस्विर हेर्नु भनेको धेरै जनामा सन्देश पुग्नु हो ।

गूगल म्यापमा एक लाख पटक भन्दा बढि हेरिएको प्रज्ञास्तुपको तस्विर

अहिले नेपाल भ्रमण वर्ष चलिरहेको छ । पक्कैपनि यो वर्ष धेरै स्वदेशी र विदेशी पर्यटकहरु नेपाल घुम्नेछन् । नेपालको पर्यटकीय सम्पदाको बारेमा पर्यटन बजारमा सिमित जानकारीहरु छन् । त्यसैले सबैजसो पर्यटकहरु परिचित पर्यटकीय गन्तव्यहरु काठमान्डौ उपत्यका वरपर, पोखरा र अन्नपूर्ण क्षेत्र, सगरमाथा, चितवन र लुम्बिनीमा मात्र घुम्न जाने गरेका छन् । यसो हुनुको मुख्य कारण हाम्रा गाउँघरमा रहेका सम्पदा र सुन्दरताको जानकारी पर्यटन बजारमा पस्कन नसक्नु पनि एउटा मुख्य कारण हो । हाम्रो स्थानीय पर्यटकीय सम्पदाको जानकारी धेरै मानिसहरुसम्म पु¥याउन गूगल र सामाजिक सञ्जालहरु निकै प्रभावकारी हुन् सक्छन् । हामी घुम्छौ र हाम्रा राम्रा तस्विरहरु आफूूले चलाउने सामाजिक संजाल फेसबूक, त्विटर, इन्स्टाग्राममा राख्छौं । यी सञ्जालमा सम्बन्धित मानिसँग जोडिएका व्यक्तिहरुको मात्र पहुँच हुने भएकोले ति तस्विरहरु धेरै मानिसले हेर्न सक्दैनन् । सामान्यतया निकै कम मानिसहरुले मात्र कुनै सम्पदाको तस्विर सामाजिक संजालमा राख्ने गर्छन , जसले गर्दा घुम्न चाहनेहरुले कम मात्र जानकारी प्राप्त गर्न सक्छन ।

गूगल म्यापमा कुनै नयाँ ठाउँको जानकारी सिर्जना गर्ने, तस्विर र अन्य जानकारीहरु राख्न मिल्ने सुविधा हुन्छ । नक्शामा स्थान र सम्पदाको विशेष तस्विर र आवस्यक जानकारीहरु भएमा घुम्न चाहने व्यक्तिले गूगलमा खोजि गर्दा ति तस्विर र जानकारीहरु देखिन्छन् । यिनै तस्विरहरु हेरेर पर्यटकहरु घुम्न आउने निर्णय गर्न सक्छन् । म घुम्छु र पुगेको ठाउँको तस्विर खिच्ने गर्छु । गूगलमा स्थान भेटिएमा त्यसमा फोटो र आवस्यक जानकारीहरु पनि राख्छु, गूगल म्यापमा स्थान नभेटिएमा ति स्थान नक्शामा थपिदिन्छु । पछिल्लो डेढ वर्षमा मैले राखेका ५० वटा स्थानहरु गूगल म्यापमा आधिकारिक रुपमा थपिएका छन् र १० वटा स्थानहरु सम्पादन गरेको छु । अहिलेसम्म १३६३ वटा तस्विर र ११ वटा भिडियोहरु पनि म्यापमा समाबेश गरेको छु । इलाम देखि ब्रह्मदेवसम्म अनि रारादेखि कोइलाबाससम्मका यी तस्विरहरु करिब ६ लाख पटक हेरिएका छन् । देहरादुन नजिक रहेको नालापानी किल्लाका दुई तस्विरहरु ७० हजार पटक हेरिएको छ भने लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा अवस्थीत प्रज्ञास्तुप एक लाख पटक भन्दा बढि हेरिएको छ ।

यो आलेख तयार गर्दासम्म कपिलवस्तुको कुदान १४ हजार पटक, रुकुमको सिस्ने हिमाल १३ हजार २ सय पटक, रुपन्देहीको गजेडी ताल ९ हजार २७० पटक, पाल्पाको सत्यवती ताल ८ हजार ५७५ पटक, रुपन्देहीको बाउन्नकोटी वनमा अवस्थित नन्द भाउजु ताल ११ हजार ५०० पटक हेरिएका छन् । कोइलाबासको नेपाल प्रवेशद्वार ४ हजार १४० पटक हेरिएको छ । ५ हजार भन्दा बढी पटक हेरिएका ६ वटा तस्विरहरु छन्, जसको त्यति पर्यटकीय महत्व भने देखिदैन । तस्विरहरु हेरेर विभिन्न मानिसले थप सोधपुछ पनि गर्छन् । यसो गर्दा आफूूले खिचेका तस्विरहरु पनि सुरक्षित रहने र स्थानको परिचय पनि दिन सकिने भएकोले दोहोरो फाइदा भएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले पर्यटनबाट समृद्धि ल्याउने कार्यक्रमहरु अघि सारिराहेका छन् । सरकारको प्रयासले मात्र नेपालमा पर्यटन प्रवद्र्धन हुन कदापि सक्दैन ।

हाम्रो नजिक रहेका सम्पदाको बारेमा हामीलाई बढी जानकारी हुने भएकोले यस्ता सम्पदाको बारेमा प्रचार–प्रसार गर्ने, पर्यटकीय योजना बनाउने र पर्यटकलाई ल्याउने काम हामीहरुले नै गर्नुपर्छ । हामीले आफ्नो ठाउँ र सम्पदा चिनेनौ भने लाभ हासिल गर्न कहिल्यै सक्नेछैनौ । आफ्नो सम्पदा र स्थान चिनाउन सामाजिक सञ्जालहरु लगाएत गूगल म्याप भरपर्दो र सस्तो उपाय हुन् । हामीले दिने जानकारी र देखाउने तस्विरहरुले पर्यटकलाई आकर्षित गर्न सके भने त्यसको पहिलो लाभ हामी स्थानियहरुले प्राप्त गर्न सक्नेछौ । त्यसैले विदेशका आकर्षक तस्विरहरु लाइक र शेयर गर्न छोडेर आफ्नै गाउँघर, वन जंगल, पाखा पखेरा, ताल नदि र मठमन्दिर घुमौं, तस्विर खिचौ र जानकारी बाडौं । यति गरेपछि पर्यटन वर्षलाई को टेवा नपुग्ला ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।