ताजा अपडेट »

वैकल्पिक राजनीतिका सङ्गठनात्मक मान्यताहरु

सोमबार, ०८ जेठ २०८०, १२ : ०२
16 Shares

विषय प्रवेश

देशमा आठ दशक लामो लोकतान्त्रिक क्रान्तिका राजनीतिक उपलब्धीहरु केही सीमासमस्या तथा कमजोरिका बावजुत संविधान सभाबाट संस्थागत भएसँगै नेपाली समाज सामन्तवादी युग र समाजबाट मुक्त भएर पुँजीवादी युग र समाजमा प्रवेश ग¥यो भने समाजवादी क्रान्तिका निम्ती मार्ग प्रशस्त भएको हो र त्यो युगिन कार्यभार पुरा गर्न नयाँ परिस्थितिमा नयाँ विचार, नयाँ नेतृत्व, नयाँ संगठनात्मक संरचना, नयाँ कार्यविधि, नयाँ कार्यतरिका, नयाँ कार्य प्रणालीका सवालमा देशमा क्रियाशिल परम्परागत राजनितिक दलहरुको विकल्पमा एउटा नयाँ ढङ्गको वैकल्पिक राजनीतिक दल र त्यस प्रकारको दल निर्माणको लागि नयाँ संगठनात्मक सिद्धान्त र प्रणालीका सवालमा घनिभूत बहस भई फरक धारको पार्टी निर्माणको निम्ती उच्च प्रकारको मूल्यबोध गर्दै उज्जवल थापा नेतृत्वको विवेकशिल साझा दल, डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल, रबिन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी नेपालका अलावा देशमा अन्य कैयौँ समुह, दल र स्वतन्त्र मानिसहरुले वैकल्पिक राजनितिको औचित्यता, प्रशंग र आवश्यकताका सवालमा योगदान दिदैँ आएका थिए ।

यस प्रश्न माथि यस अभियानको गत २०७९ भाद्र ९ गतेका दिन काठमाडौँमा भएको प्रथम भेला, बैठकले बितेको एक दशकको दौरानमा भए गरेको प्रगती, सीमा समस्या र आन्तरिक कमाजोरीहरुका सवालमा गम्भिर समिक्षा गर्ने भनेका थियौ –“हामीले यस अवधिमा गरेका प्रयत्नहरुलाई नेपाली जनताले नजिकबाट नियालीरहेका थिए । देशमा एउटा आशाको नयाँ झिल्को तथा पातलो किरण देखा पर्न थालेको थियो । पुरातन तथा शास्त्रीय दलहरु विकल्पहिन होइनन्, यिनको पनि विकल्प छ भन्ने मनोविज्ञान र आत्मविश्वास बढ्न थालको थियो । सोही दस्तावेजमा अगाडी भनिएको छः तर वितेको करिब एक दशकको अभ्यास र परिणाम हेर्दा वैकल्पिक राजनीतिको सार्थक संकेन्द्रण हुन सकेन ।

यस अभियान भित्र कतै दक्षिणपन्थी र कतै वामपन्थी अवसरवादको उदय भयो । कतै मार्गपरिवर्तन र कतै समाजवादी केन्द्र जस्ता लफ्फाजीहरु देखा परे । त्यस प्रकारका भ्रामक र अवसरबादी विचारलाई परास्त गर्न वैचारिक संघर्ष अनिवार्य थियो तर त्यस्ता संघर्ष धान्न र थेग्न सक्ने गरी ति दलहरु पर्याप्त परिपक्क भइसकेका थिएनन् । तसर्थःत्यस प्रकारका दलहरुको अस्तित्व नै संकटमा पुग्यो । समग्रमा ति दलहरु अनावश्यक एकता र विभाजनको समेत सिकार भए । अर्काे तिर देशको राजनीतिक परिदृश्यमा विभिन्न प्रकारका नयाँ राजनीतिक अभियानहरु उदयमान भएर अगाडी आए । गत निर्वाचनमा स्वतन्त्र उम्मेद्धवारहरुको लहर नै चल्यो । आफूलाई नयाँ र वैकल्पिक दाबी गर्ने दल र समुहहरु देशमा थुप्रै क्रियाशिल रहदैँ आएका छन् ।

ति सबैले देशको वैकल्पिक राजनीतिको अभियानमा सकारात्मक योगदान गरिरहेको भएता पनि वैकल्पिक र नयाँ भन्ने दाबी र सतही अभियान मात्रै यसको मूल स्प्रिट, मर्म र भावनाका अलावा मुल्य र मान्यतालाई न्याय गर्न सक्दैनन् । गत निर्वाचनमा स्वतन्त्र उमेद्धवारहरुको देश भरिको लहर लोकतान्त्रिक गतिरोधको तत्कालिन विकल्प हुन सक्दछ । तर दिर्घकालिन समाधान हुन सक्दैन । एउटा सुसंगठित, सभ्य र आर्थिक दृष्टिकोण, एजेण्डा, निति आयोजना र कार्यक्रम सहितको संगठित राजनितिक शक्ति नै चाहिन्छ । यसर्थ वैकल्पिक राजनीतिलाई हल्का, सतही वा लोकरन्जनवादी तरिकाले मात्र ग्रहण गर्नु बाञ्छित हुँदैन ।

देशमा वैकल्पिक राजनीतिको नाममा यस अघि देखि हुँदै आएका सबै प्रकारका प्रयास र प्रक्रियाहरुलाई एउटा सेटमा, श्रृङ्खलामा, संगिपूर्ण, गति र आकार दिन भने अत्यावश्यक भइसकेको छ । सम्मानजनक सहकार्य मार्फत सबैलाई एकिकृत र विकसित गर्न आवश्यक देखिएको छ । देशमा एक नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति निर्माण आवश्यक भइसकेको छ । हाम्रो यस अभियानले यो समग्र प्रक्रियालाई सार्थक सहजिकरण गर्ने उद्देश्य राखिएको र देशलाई सुशासन र समृद्धिको बाटोमा हिडाउने उद्धेश्य नै यस अभियानको मुख्य र अग्रगामी कार्यभार भएकाले वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने वैकल्पिक प्रणालीको सारतत्व सहितको देशव्यापी संगठनको प्रभावकारी संजाल अनिवार्य सर्त हो । यसर्थ त्यसका लागि यस अभियानले निम्न अनुसारको संगठनात्म सिद्धान्त र प्रणालीको परिकल्पना गरेको छ ।

१. पार्टीको संगठनात्मक सिद्धान्त

पार्टीको संगठनात्मक सिद्धान्त (Theory of democratic conduct) हुने छ । यस सिद्धान्त अन्र्तगत मुख्य तत्वहरु निम्न हुनेछन्।

क) पार्टी निर्माणको मुख्य स्रोत सार्वभौम पार्टी सदस्यहरु हुने छन् ।

ख) अभियानले प्रत्यक्ष निर्वाचित हुने प्रणालीलाई लागु गर्ने निति लिने छ र अन्तरपार्टी लोकतन्त्रलाई सुनिश्चित गर्ने छ ।

यसो गर्दा पार्टीमा योग्य, दक्ष, क्षमतावान मानिसहरुका अलावा दलका सदस्यहरुको बिचमा सक्रिय भुमिका खेलेको र प्रायः सदस्यहरुको मन जित्न सक्ने मानिसहरु नै नेतृत्वदायी भुमिकामा आउने छन् । यस प्रकारको प्रणालीले पार्टीमा दलाली, चाप्लुसी, र नेतृत्वको चाकडी गर्ने परिपाटीको अन्त्य गर्ने छ भने नेतृत्वको निर्णय पर्खेर बस्ने वा पार्टी र नेतृत्वको निर्णय अस्विकार गर्ने अराजकतावादी चिन्तन र प्रवृत्तिहरु क्रमशः समाप्त हुँदै जाने छन् । यस प्रणालीले पार्टीलाई नयाँ गति प्रदान गर्ने छ भने पार्टीको आन्तरिक लोकतन्त्रलाई हमेसा क्रियाशिल र चलायमान बनाइराख्ने छ । यसको प्रयोग आम जनताले समेत धिरेधिरे गर्न थाल्नेछन् । यसरी छानिएर वा चुनिएर आउने नेतृत्वले स्ट्रीक्ली पार्टी वा सरकारको नेतृत्व लिन र हाँक्न सक्नेछ भने यसरी चुनिएर आएको कुनै पनि तहको नेतृत्वले पार्टी वा सरकारमा राजनैतिक स्थायीत्व प्रदान गर्न सहयोग पुग्ने छ । यसरी प्रत्यक्ष निर्वाचित प्रणाली पार्टीका सार्वभौम सदस्य र आम जनतालाई समेत सर्वमान्य हुने छ ।

ग). समानुपातिक समावेशी र सहभागितामुलक प्रतिनिधित्व सहितको पार्टी

हामीले हाम्रो पार्टी कस्तो बनाउँछौ भन्ने कुराले हामी हाम्रो समाज र मुलुक कस्तो बनाउँछौँ भन्ने कुराको निर्धारण गर्ने भएकाले हामीले हाम्रो पार्टीलाई समानुपातिक÷समावेशी र सहभागितामुलक प्रतिनिधित्व सहितको नयाँ पार्टीको परिकल्पना मात्र गरेका छैनौँ, निति नै लिएका छौँ । हामीलाई राम्रोसँग थाहा छ, हाम्रो मुलुक वहुभाषिक, बहु सांस्कृतिक, बहुजातिय, बहुधार्मिकका अलवामा बहुभुगोल भएको मुलुक हो । यो मनोविज्ञान र मनोदशलाई राम्रोसँग बुझिएन र तदअनुरुपको पार्टीको संगठनात्मक संरचनाको सुनिश्चित गरिएन भने नयाँ निर्माण गर्न लागिएको पार्टीले लिने निर्णयहरुको स्वामित्व कसैले लिने छैन ।

यस्तो पार्टीको अपनत्व पनि कसैलाई महशुस हुने छैन । यसर्थ हामीले माथि उल्लेख गरिएको लोकतन्त्र यस मुलुकमा बसोवास गर्ने अल्पसंख्यक जाति, भाषा, भुगोल, संस्कृति, धर्मका अलावा उपेक्षित वर्ग र सिमान्तकृत जनसमुदायको बृहत्तर हितलाई समेत ध्यानमा राखेर उसको प्रतिनिधित्व सुनिश्चित हुने गरी, अझ खास गरी जुनजुन समुदायको उपस्थिति जहाँजहाँ छ, तिनै समुदायको अनुपातिक समावेशिता, नेपाली लोकतन्त्रको विशेषता, चरित्र र गुण हुनुपर्दछ । यसैलाई हामीले कल्ष्टरको परिभाषा गरेका हौँ । समाजका विभिन्न समुदायमा बसोवास गर्ने जनताको अनुपातिक प्रतिनिधित्को सुनिश्चितता भएको पार्टी प्रणाली र राज्यका निकायहरुमा प्रतिनिधित्व गराउने निति सहितको प्रणालीको विकास गर्न खोजिएको हो । हामीले यस प्रकारको प्रणालीको निति लिनुका पछाडि जसरी इन्द्रेणीमा देखिने रङहरुको समिश्रणले प्रकृति पद्धत सुन्दर बनाउँछ, ठिक त्यसैगरी आम नेपाली जनताको सहभागिता र प्रतिनिधित्वको सुनिश्चितताले हामीले निर्माण गर्न खोजेको नयाँ पार्टीलाई पनि धेरै सुन्दर बनाउने छ । त्यसैले हामीले निर्माण गर्न खोजेको नयाँ पार्टीका प्रत्येक कमिटी, समितिहरु पनि कलष्टरको आधारमा सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी चारै तहका कमिटीहरु बनाउने निति लिएका छौँ । यस नितिले पार्टी भित्रका कुनैपनि सदस्यहरुले अल्पसंख्यक, भुगोल, धर्म, भाषा, संस्कृति, वा फरक पहिचान वा आर्थिक अवस्थाका कारण हेपिने, दबिने, हिनताबोध र आत्मग्लानी गर्नुपर्ने जस्ता विषयहरु स्वतः समाप्त भएर जानेछन् ।

घ) पार्टीका सदस्य तथा सबै तहका पदाधिकारीहरुको मतदान/निर्वाचन प्रणाली, बिचारमा खुल्ला मतदानको निति

हामीले हाम्रो पार्टीका सबै तहका सदस्य र पदाधिकारीहरुको निर्वाचन प्रणाली गोप्य अपनाउने निति लिएका छौँ । यसले समाज र पार्टीमा सामाजिक सद्भाव, भाइचारा, प्रेम र विजय र पराजय हुने उम्मेद्धार र पार्टीका मतदाताहरुको बिचको सम्बन्ध सुमधुर र प्रगाढ बनिरहने कुराको सुनिश्चित गर्ने छ भने आपसी बैमनस्यता बढाउने छैन । उम्मेद्धवारको पक्ष वा विपक्षमा उभिने सार्वभौम मतदाताको बीचको सम्बन्ध पहिला जस्तै वरकरार बनाई राख्ने विश्वास लिएका छौँ । तर पार्टीको दर्शन, सिद्धान्त, विचार, राजनीति, संगठनात्मक संरचना, कार्यशैली, कार्य प्रणाली वा कार्यतरिका र कार्यविधिका अलावा पार्टीका सदस्य वा पदाधिकारीको व्यक्तिगत आलोचना भए त्यो कुरा मौखिक वा लिखित पार्टीमा प्राप्त भएको र अधिकार प्राप्त अधिकारीले दर्ता गरेको खण्डमा उक्त प्रश्न माथिको कुनै सहमति हुन नसकेको अवस्थामा त्यस प्रश्न माथि त्यो कुन तहको समस्या हो, त्यसको फैसला सम्बन्धित तहमा सही वा गलत जे भए पनि खुल्ला बहस, छलफल र मतदानको प्रक्रियाबाट टुङ्गो लगाउने निति लिइने छ ।

ङ) विचारमा विविधता र काम कार्वाहीमा एकरुपताको निति

पार्टीमा विभिन्न भुगोल, भाषा, संस्कृति, धर्म, पहिचान, अर्थतन्त्र, जाती, वर्ग, क्षेत्र, लिङ्ग, अल्पसंख्यक, सिमान्तकृत जनसमुदायको समेत प्रतिनिधित्व गर्ने हाम्रो निति भएपछि स्वभाविक रुपमा हामीले निर्माण गर्ने दलमा विचारमा पनि विविधता हुन्छ भन्ने कुरा सार्वभौम पार्टी सदस्य र पदाधिकारीहरुले सहर्ष स्विकार गर्न अत्यावश्यक हुन्छ । पार्टीमा आउने त्यस प्रकारका विचारको सुरक्षा, सम्मान, प्रोत्साहन र सहज रुपमा अभिव्यक्ति स्वतन्त्रताको प्रणाली अपनाउन र विश्वास गर्नु पर्दछ ।

तर पार्टीको कुनै पनि कमिटी÷समितिको बहुमतले लिएको निर्णय ठिक वा बेठिक जे भएपनि तत्कालका लागि कायान्वयन गर्नु पार्टी सदस्य वा पदाधिकारीहरुले कडाइपुर्वक जिम्मेवारी लिने र कायान्वयनमा जानु पर्ने तथा जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । अभिव्यक्ति स्वतन्त्रता, काम कार्वाहीमा एकरुपताको निति यस अभियानले लिएको छ । यस प्रश्नमा एउटा अर्काे प्रश्न पनि विचारणीय हुने छ । यसका अलावा हामीले पार्टीको कुनैपनि अभियान्तको बारेमा सतही, सुनेको वा एकआध देखेको वा उसको अध्यनको आधारमा उसको विगतको पृष्ठभूमिको आधारमा विल्कुलै धारणा बनाउनु हँुदैन । किन की हामीले बनाउन लागेको नयाँ दल इतिहासका सबै अध्ययन, अनुभव र नकारात्मक शिक्षाहरुको चाङ माथि नयाँ अध्ययन, अनुभव र सकारात्मक शिक्षा लिएर नै नयाँ प्रयासका लागि हिम्मत र हौसलाका साथ अगाडी बढेका मानिसहरु हौ भन्ने कुरा पटक्कै बिर्सन हुँदैन ।

च) बहुमतको कार्यान्वयन, अल्पमतको सम्मानको निति

पार्टीको आम निति तथा कार्यक्रम विशेष अधिवेशन वा महाधिवेशन बाट पारित गरिने विश्वव्यापी प्रचलन र मान्यता रही आएको छ । यसरी विशेष अधिवेशन वा महाधिवेशनबाट बहुमतले पारित गरेका निति तथा कार्यक्रमहरुलाई पार्टीमा फरक विचार वा मत राख्ने अभियान्ताहरुले पनि पूर्णतया लागु गर्न गराउन मनै देखि लाग्नुपर्दछ । त्यसो गर्दा विचारमा अल्पमतमा परेका अभियान्ताहरुको विचारको मत सुरक्षित र सम्मानित हुनु पर्दछ । पार्टीमा बहस, छलफल र विमर्श घनिभूत हुदैँ जाँदा अल्पमत पक्षको विचार वा मत बहुमतले स्विकार गरेमा त्यो कुरा सबैले सहर्ष स्विकार गर्नु पर्दछ भन्ने मान्यतामा आधारित निति यस अभियानले लिएको छ ।

छ) पार्टीमा शक्ति पृथकीकरणको प्रणाली

पार्टीलाई पारदर्शी, छिटो छरितो काम गर्न र चेक एण्ड व्यालेन्स गर्न अत्यन्तै जरुरी हुने गर्दछ । त्यसका निम्ति हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनका ख्याती प्राप्त बिद्धान राष्ट्रिय जीवनको विषयगत विज्ञ र विभिन्न विधामा ज्ञान प्राप्त गरेका मानिसहरुलाई लिएर उनीहरुको रुची, अध्ययन र अनुसन्धानको क्षेत्र र चाहनालाई मध्यनजर गरी विज्ञ परिषद्, संरक्षक परिषद्, संघीय परिषद, विभाग र आयोगहरुको गठन गराउनु जरुरी हुन्छ । किनकी पार्टी र देश निर्माणका लागि विषयगत विज्ञहरुको भुमिका शुनिश्चित गरिनु पर्दछ । इतिहासका विभिन्न कालखण्डहरु तथा विदेशमा रहेर सकारात्मक योगदान गरेका मानिसहरुका अनुभव र ज्ञान, सिद्धान्त आवश्यक हुन्छ ।

त्यस प्रकारका मानिसहरुलाई लिएर शक्ति विन्यास गर्दा र उनीहरुको व्यवस्थापनका कुरा गर्दा त्यस प्रकारका मानिसहरुको क्षमता र ज्ञान प्रस्तुत गर्न उचित स्थान चाहिन्छ । यसका साथै विदेशमा रहेका लाखौँ नेपाली जनतालाई जोड्ने र देशका ठूला सहरहरुमा रहेका नेपाली जनतालाई जोड्ने र संगठित गर्नका लागि समेत छुट्टै संगठनात्मक संरचनाहरुको आवश्यकता हुने छ । त्यो कामको लागि पनि हामीले आजै देखि ध्यान दिन आवश्यक छ । देशका विभिन्न जाति, भाषा, क्षेत्र, लिङ्ग र जनसमुहहरुलाई संगठित गर्न हामीले आंगिक संगठनको संजाल बनाउनु पर्ने आवश्यकता हुने छ ।

देशका विभिन्न पेसा, व्यवसाय, र राष्ट्रियताहरुलाई जोड्न र उनीहरुलाई संगठित गर्न पनि हामीले उनीहरुको पेसा, व्यवसायका हकहित र सुरक्षाको निम्ति संगठित शक्ति अनिवार्य सर्त हुने छ । देशमा प्रायः सबै क्षेत्रमा क्रियाशिल विभिन्न पेसा, व्यवसाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनमा ख्याती प्राप्त विद्धान, विषयगत विज्ञ वा स्वतन्त्र जीवनयापन गरिरहेका मानिसहरु देश निर्माणमा आवश्यक हुने हुँदा उनीहरुलाई लिएर पार्टीमा विभिन्न विभाग तथा आयोग र स्वायत्त संगठन मार्फत पार्टीमा शक्ति पृथकीकरणको सिद्धान्त लागु गरी पार्टीलाई बढी भन्दा बढी कामकाजी र पारदर्शी बनाउने निति लिइने छ ।

ज) सबै तहका पार्टी र राजकीय पदको लागि आन्तरिक प्राइमर निर्वाचन अनिवार्य

हामीले लोकतन्त्रलाई सजिव, गतिशिल, चलयामान, हराभरा, जीवन उपयोगी र पारदर्शी बनाउने निति अन्तरगत पार्टी र राजकीय सबै तहका पदाधिकारीबाट सदस्यहरुको चयन आन्तरिक प्राइमेरी निर्वाचनको विधि अपनाउने छौँ । यस प्रकारको विधिमा आन्तरिक सार्वभौम पार्टी सदस्य र आम जनताको समेत अभिमतको आधारमा उत्कृष्ट हुने उम्मेद्धारलाई नै पार्टी र राजकीय पदका लागि योग्य हुने निति लिने छौ । यस्तो विधिमा आम जनता पनि उत्साहका साथ भाग लिने छन र मतदान गर्ने छन् ।

झ) व्यक्ति होइन, पद पूर्णकालिनको निति

यस अभियानले व्यक्तिलाई होइन पदलाई पूर्णकालिन बनाउने निति लिएको छ । यसको मुख्य उद्धेश्य पार्टीको एउटै पदमा बसीरहने र अरु मानिसलाई पद हस्तान्त्रण नगर्ने प्रवृतिको सदाका निम्ति अन्त्य गर्नुसँग सम्बन्धित छ भने व्यक्तिलाई धेरै महत्व दिने र संस्थाको राष्ट्र निर्माण, विकास र समृद्धिको मुल मर्म भावना र उद्धेश्यलाई कम महत्व दिने प्रवृत्तिको अन्त्य गर्न खोजिएको छ ।

ञ) एक व्यक्ति एक पद,दुई कार्यकाल

यस अभियानको अर्काे महत्वपूर्ण र नयाँ पक्ष के हो भने पार्टीमा एक व्यक्ति, एक पद र दुई कार्यकालको सिद्धान्त वा निति अवलम्बन गर्न खोजिएको छ । यसको मुख्य उद्धेश्य नेपाली राजनैतिक दलमा एक प्रकारको रोगको रुपमा रहेको एउटै व्यक्ति आजिवन पार्टीको पदमा बसिरहने र अर्काे मानिसलाई हस्तान्त्रण गर्न पटक्कै तयार नहुने प्रवृति एउटा हो भने पार्टीमा एउटै व्यक्तिले दर्जनौँ पद ओगटेर बसिरहने तर काम चाही एउटा पनि उल्लेखनीय गर्न र प्रतिफल दिन नसक्ने अर्काे समस्या रही आएको छ । यस प्रकारको समस्याको हमेशाका लागि निरुपण गर्नु अभियानको महत्वपूण उद्धेश्य हो ।

ट) स्वायत्त जनसंगठन

पार्टीले लिएका लक्ष र उद्धेश्यलाई हासिल गर्न र जनतामा त्यसको प्रतिफल क्लियर गर्न बौद्धिक, पेशागत, सांस्कृतिक, साहित्यकार, युवा, विद्यार्थी, महिलाका अलावा जनताको विभिन्न समुहहरुका संगठनको आवश्यकता हुने गर्दछ । त्यस प्रकारका आंगिक संगठनहरुको आफ्नौ स्वायत्त पहिचन र अधिकार क्षेत्र हुने गर्दछ । त्यस प्रकारका संगठनहरु माथि पार्टीका वर्चश्व र हैकम कायम गर्नु हुँदैन । यदि यसो गरियो भने उनीहरु भित्र अन्तरनिहित कला, प्रतिभा र सिर्जनशिल क्षमता नष्ट भएर जाने छ र उनीहरुको स्वयत्त, पहिचान र अधिकारको मुद्धा पार्टीको छत्रछाँयामा पर्नेछ । आंगिक संगठनहरुको आन्तरिक जीवन प्रणाली प्यारालाइसिस हुने छ । उनीहरुले आफ्नो प्रसंग, औचित्यता र आवश्यकता नै गुमाउदै जाने छन् । यसर्थ हामीले परिकल्पना गरेको शुशासन र समृिद्धको आकांक्षालाई पुरा गर्न सक्ने आत्मनिर्णको अधिकार सहितको स्वायत्त जनसंगठन निर्माणको निति लिन उद्धेश्य रहनु पर्दछ ।

ठ) आ– आफ्नो ठाउँमा स्वायत्त पार्टी कमिटी

पार्टीका प्राय सबै तहका कमिटीहरु आ आफ्नो ठाउँमा स्वायत्त हुनु पर्दछ । पार्टीको कुनैपनि तहको नेतृत्व, पदाधिकारी वा सदस्यहरुको स्वायत्त, पहिचान र उनको विवेकसम्मत निर्णय लिन पाउने अधिकारबाट बञ्चित गर्ने, अनिर्णयको बन्दी बनाउने वा प्रत्येक निर्णयका लागि माथि को नेतृत्व अधिन राख्ने र आश्रित बनाउनु हुँदैन । त्यसो गरियो भने उस भित्रको अन्तरनिहित कला, प्रतिभा र क्षमता संकुचित हुन पुग्दछ भने अर्काे तिर उसले निर्णय लिने क्षमतामा क्रमशः ह्रास आउँदै जान्छ र त्यसले आम पार्टी सदस्यका अलावा जनतामा समेत विश्वास गुमाउँदै जाने भएकाले हामीले हाम्रा सबै तहका पार्टी कमिटिहरुलाई स्वायत्त हुने कुराको शुनिश्चित गरेका छौँ ।

ड) पार्टीमा प्रत्याआह्वानको प्रबन्ध

देशका प्रायः सबैजसो परम्परागत राजनीतिक दल भित्र एक पटक पार्टीको सदस्यता लिएर पदमा पुगेपछि जतिसुकै ठूलो गल्ती गरे पनि आजिवन पार्टीमा रहिरहने, पार्टीको स्रोत, साधन र शक्तिको दुरुपयोग गर्ने, कुराले एकातिर देशका खोला, कुन्दरा, पाखा पखेरामा काम गर्ने इमान्दार नेता तथा कार्यकर्ताहरु अपमानित हुने, त्रसित हुने, अवसरबाट बञ्चित ह’न्छन् ।

अर्काे जनतामा सेवा प्रवाह हुन सक्दैन । पार्टीको गरिमामय संस्था नै बदनाम हुदैँ जाने र पार्टीको अस्तित्व नै संकटमा पर्ने खतरा ह’न्छ । यस रोगलाई उन्मूलन गर्न हामीले पार्टीमा प्रत्याह्वानको प्रबन्ध गर्ने निति लिएका छौँ । पार्टीमा प्रत्याह्वनको प्रणालीको माध्यमबाट पार्टीको कुनै सदस्य वा पदाधिकारीले पार्टी वा राजकीय क्षेत्रमा पुगेर कुनै गल्ति गरेको छ र प्रमाणित भएको खण्डमा जुन विधि,, पद्धति र प्रणालीबाट निर्वाचित गरिएको वा भएको हो सोही विधि, पद्धती र प्रणालीको तत्काल प्रयोग गरेर फिर्ता बोलाउने व्यवस्थाको सुनिश्चित गरिनु पर्दछ । यो प्रणाली आधुनिक लोकतन्त्रको संस्थागत विकास र प्रर्वद्धनको दृष्टिकोणले उपयोगी सावित हुँदै आएको छ । नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिक अभियान २०७९ ले यो नयाँ संगठनात्मक प्रणाली प्रयोगमा ल्याउन खोजेको छ ।

ढ) पारदर्शी पार्टी कोषको व्यवस्था 

हामीले एउटा असल राजनीतिका लागि पारदर्शी पार्टी कोषको प्रबन्ध सबै तहहरुमा गर्नु पर्ने हुन्छ । किनकी नियमित कार्यालय संचालन, कार्यकर्ता परिचालन, आन्दोलन र संघर्षको व्यवस्थापन, सूचना संचारका अलावा इन्धन, विदेश भ्रमण लगाएतका विषयमा आर्थिक परिचालनका लागि एउटा निश्चित अधिकार सहितको टिम चाहिन्छ । त्यो टिमले कमिटीका प्रत्येक बैठकमा आय व्ययको लिखित रिर्पाेट बुझाउनु पर्दछ । त्यस प्रकारको आयव्ययको अर्धवार्षिक र वार्षिक लेखा परिक्षणद्धारा अनुमोदन गराउनुपर्ने छ ।

२. सिद्धान्त, व्यवहार बिच उचित प्रकारको तालमेल र तादाम्यताको प्रश्न

सिद्धान्त र प्रणाली तथा व्यवहार बिच उचित प्रकारको तालमेलको प्रश्न, एउटा नयाँ युग र समाजको नयाँ युगिन कार्यभार पुरा गर्नका निम्ति जगैदेखि निर्माण गर्न लागिएको नयाँ ढंगको पाटीको निम्ति ज्यादै गम्भिर महत्वको विषय हो । जसरी सिद्धान्त विनाको व्यवहार र व्यवहार बिनाको सिद्धान्त लङ्गडो हुन्छ, ठिक त्यसरी नै सिद्धान्त, विचार वा दृष्टिकोण बिनाको व्यवहार पनि बिल्कुलै लङ्गडो हुन्छ । यसर्थ हामीले सिद्धान्त र व्यवहारलाई एक अर्काको बिचमा अनोन्याश्रीत सम्बन्ध हुने कुरामा विश्वास गर्दछौँ । कसैले नयाँ पार्टी बनाउँछु भन्दैमा बनिहाल्ने कुरा पनि होइन । नयाँ पाटी बनाउँछु भन्नेहरुको जीवन व्यवहार र आचारण पनि शुद्ध हुनु पर्दछ । त्यो भनेको विचारमा शुद्धता, संगठनमा शुद्धता, आचारणमा शुद्धता, भनेको हो । नयाँ पार्टी निर्माणको निम्ति तत्पर भएका अभियान्ताहरुले के कुरा बुझ्नुपर्दछ भने उच्च प्रकारको मनोवल नभएको सिपाही वा उच्च प्रकारको नैतिकता नभएको सिपाहीले फौजि मोर्चाको लडाइ मात्रै होइन राजनीतिक मोर्चाको लडाइ पनि जित्न सक्दैन र पराजित मात्र हुने होइन जनतालाई आम अपिल गर्न सक्दैन । यसर्थ यस अभियानको नेतृत्वदायी भुमिकामा रहेका प्रत्येक अभियान्ताहरुले सर्वप्रथम आफू भित्र रहेका खराबीहरुलाई जनताले बुुझ्ने भाषामा सच्चाउन तयार हुनै पर्दछ । उच्च प्रकारको मनोवल र नैतिकता भएको दलले मात्रै बहुसंख्यक जनसमुदायको नेतृत्व गर्ने र देशमा शुशासन र समृिद्धको नेतृत्व लिने हिम्मत र साहस गर्न सक्दछ ।

३. नयाँ पार्टी निर्माणको प्रक्रिया

हामीले गत भाद्र ९ गतेका दिन काठमाडौमा भएको प्रथम भेला वा बैठकले नेपालको संविधान २०७२ ले परिकल्पना गरे भन्दा केही फरक तरिकाले पार्टीको चार तहको संगठनात्मक संरचनाको निति लिने तय गरेको थियो । त्यो कुरा हाम्रो अभियानको–अवधारणा–पत्रको पृष्ठ ६ को भाग १८ मा स्पष्ट गरेका थियौँ । सोही आधारमा अभियानको अल्पकालिन अवस्थाको विशेषता, चरित्र तथा गुण बोकेको संगठनात्मक संरचनाको परिकल्पना गरिएको थियो र त्यो हो तलबाट माथि हुने विधि (Bottom of approach) देशमा वितेको आठ दशकको दौरानमा दल निर्माणको विधि, सन् १९९० मा नेपाल प्रजा परिषद देखि लिएर प्रभू शाहले निर्माण गरेको पार्टीसम्म आइपुग्दा एउटंै विधि रही आएको छ र त्यो हो, माथिबाट तल (Top to Bottom) को सिद्धान्त र मोडालिटी वा विधि ।

त्यस प्रकारको विधिले केन्दी्रकृत शासकीय मनोविज्ञान र मनोदशाको प्रतिनिधित्व गर्दै आएको छ । हामीले त्यसको ठिक विपरित नयाँ परिस्थितिमा नयाँ संगठनात्मक संरचनको प्रयोग गर्न खोजिरहेका र जनताबाट समेत अनुमोदन भएपछि मात्रै पाटीको संगठनात्मक संरचना बनाउने र घोषणा गर्ने निति लिएका छौँ । यस प्रकारको विधि आधुनिक नेपाल निर्माणका निम्ति विल्कुलै नयाँ प्रयास, प्रयोग र थालनी हुने छ र यसले राजनितिक दलको गठन र घोषणामा जनताले समेत स्वामित्व लिने छन् भने सबैलाई यसरी गठन भएको दलमा अपनत्व महशुस हुने छ । यसै कुरालाई मध्यनजर गर्दै हाम्रो अवधारणा पत्रले स्पष्ट गरेको छ – “अभियान संचालनका लागि एउटा भिन्दै कार्यविधि बनाइने छ । अभियानमा सामेल हुन चाहने व्यक्ति तथा समूह यसमा सामेल हुँदै जान सक्ने छन् । अभियानका प्रत्येक संगठनात्मक क्रियाक्रलापहरु तलबाट माथि हुने विधि (Bottom of approach) मा आधारित पार्टी निर्माण विधिसम्मत तादम्य हुने छन् । अभियानले जनसरोकारका सवालमा जनजागरण तथा जन परिचालनका कार्यक्रमहरु गर्न सक्ने छ ।

अभियानको तत्काल केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह गरी चार तहका सम्पर्क तथा समन्वय कार्यदलहरु हुने छन् । अभियानमा सहभागि हुन चाहनेहरुको यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी कार्यदलहरुको विस्तार गर्दै लगिने छ । वडा तहबाट पार्टी निर्माणको अभियानसँगै सूरुवात हुने छ । अभियानकै क्रममा वडा तहमा अभियानका क्रममा पार्टी कमिटिको गठन हुन सक्नेछन् । त्यही क्रममा पार्टी सदस्यहरुको अभिलेखिरण हुने छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि यस अभियानका सम्पूर्ण अभियान्ताहरु पाटीको सम्बन्धित कमिटिका सदस्य मानिने छन वा पाटीमा रुपान्त्रण भएर जाने छन् । यस अवधिमा यस अभियानमा संलग्न व्यक्तिहरुलाई सिर्फ अभियान्ता मात्र मानिने छ । सबै अभियान्ताहरु बराबर र सार्वभौम हुने छन् । अभियान्ताहरु स्वयम् अनुशासित हुनुपर्ने छ । सबै अभियान्ताहरु जिम्मेवार, सक्रिय र जनउत्तरदायी हुने छन् ।

अभियानको नाममा अभियानको उद्धेश्य विपरित कुनै कार्य गरेको पाइएमा त्यस्ता गुनासो वा प्रमाण प्राप्त भएमा सम्बन्धित तहका कार्यदलहरुले सार्वजनिक अभिव्यक्तिद्धारा स्थिति स्पष्ट गर्ने छन् भनिएको छ ।” यसका अलावा हामीले यसै अवधारणा माथि टेकेर गत मंसिरर १ र २ गतेका दिन काठमाण्डौमा भएको दोस्रो भेला वा बैठकले देश तथा विदेशमा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्ने उद्धेश्यले आठवटा भौगोलिक संगठनात्मक संरचना, आठ वटा थप कार्यदल जसमा  केन्द्रीय राजनीतिक संवाद समिति कार्यदल, केन्द्रीय संगठनात्मक कार्यदल, केन्द्रीय प्रशिक्षण कार्यदल, केन्द्रीय विधान कार्यदल, केन्द्रीय घोषणापत्र कार्यदल, केन्द्रीय अन्तराष्ट्रिय कार्यदल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग कार्यदल, केन्द्रीय आर्थिक कार्यदल, केन्द्रीय कार्यालय कार्यदल समेत निर्माण र अनुमोदन गरिएको थियो ।

माथि उल्लेखित कार्यदलहरुले माघ मसान्त सम्म देशका प्राय सबैजसो जिल्ला र स्थानीय तहमा पार्टीका प्रारम्भिक कार्यदलहरु गठन गरिसक्नुपर्ने छ र फाग’न मसान्त सम्म जाँदा देश तथा विदेशमा रहेका नेपालीहरुमा आठै प्रदेशमा रहेका नेपालीहरुका बिचमा तीन देखि पाँच दिवसीय प्रशिक्षण जसमा पार्टीको दर्शन, सिद्धान्त, विचार, राजनिति, संगठन, कार्यालय र सूचना तथा संचारका सवालमा विषयगत प्रशिक्षणको काम पुरा गरिने छ । यसका अलावा धेरै महत्वपूर्ण र मुख्य कुरा के हो भने हाम्रो पार्टीको दर्शन, सिद्धान्त र विचार, राजनीति र संगठनात्मक मुल्य मान्यतामा सहमत हुने कम्तिमा दश हजार मानिसहरुलाई लिएर हामी पार्टीको प्रथम महाधिवेशन गर्ने र त्यो महाधिवेशनबाट निर्वाचित हुने केन्द्रिय सदस्यहरुलाई लिएर पार्टीको केन्द्रिय समिति बनाउने,त्यो केन्द्रिय समितिलाई निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने र त्यसरी निर्वाचित भएर आएको कमिटिलाई जन अनुमोदित हुन सक्ने निति लिएका छौँ । नेपालको सन्दर्भमा दल निर्माण सम्बन्धी यो एउटा विल्कुलै नयाँ र फरक अवधारणा हो र हुने छ ।

४. स्वयमसेवी भावना र चरित्रको पार्टी

वैकल्पिक राजनितिक अभियानले पार्टीमा सक्रियता र स्वयसेवी भावनाको चरित्र भएको पाटी निर्माणमा जोड दिने संकल्प लिएको छ । यस अभियानको अवधारणा–पत्रलाई स्विकार गर्ने जो कोही पनि मानिसहरुले उत्साहका साथ सहभागि हुन पाउने छन् । पार्टीले उत्पादन र श्रमसँग जोडिएका लाखौँ अभियान्ताहरुको फौज निर्माण गर्ने लक्ष्य लिएको छ । देशको सुशासन र आर्थिक समृिद्धको लक्ष्य लिएको पार्टीले श्रम र उत्पादनमा नजोडिएका मानिसहरु लिएर एकातिर सुशासन र अर्काेतिर श्रम र उत्पादनमा प्रतिकुल प्रभाव पार्दछ भन्ने मान्यता राख्दछ । पार्टीमा वैचारिक दृष्टिकोणले स्पष्ट, त्याग, तपस्या र बलिदानी पूर्ण भावनाले ओतप्रोत, इमान्दार अभियान्ताहरुको खाँचो यस अभियानमा हुने छ । त्यसको अभावमा हामीले समाजवादको यात्रा पुरा गर्न सक्ने छैनौँ ।

निश्कर्ष
वैकल्पिक राजनीति अभियान २०७९ ले शुशासन, समृद्धि र समुन्नत समाजवादको प्रश्नमा गहन विमर्श पश्चात त्यसका लागि आवश्यक पर्ने दर्शन, सिद्धान्त, विचार, राजनिति संगठनात्मक संरचना र प्रणालीका अलावा त्यो उद्धेश्यलाई प्राप्त गर्नका लागि तत्कालिन निति तथा कार्यक्रम र कार्ययोजना, कार्यप्रणाली र कार्य तरिकाको प्रश्नमा केही नयाँ प्रणालीको प्रयोग सहित आधुनिक नेपाल निर्माणमा योगदान दिने उद्धेश्य अनुरुप नै वैकल्पिक राजनीतिक अभिायन २०७९ को केन्द्रिय अवधारणा पत्र माथि टेकेर संगठनात्मक सिद्धान्त र प्रणालीको प्रारुप प्रस्तुत गरेको छ । यसमा कैयौँ कमीकमजोरीहरु रहेका हुन सक्दछन् । यसमा अपुग रहेका कैँयौ कुराहरुलाई हामीले निर्माण गर्न खोजेको पार्टीको विधान तथा घोषणा पत्रमा व्यवस्था गर्ने नै छौँ । यसर्थ तत्काल सम्पूर्ण अभियान्ताहरु वैचारिक, सांगठानिक र भावनात्मक एकता पैदा गर्दै एकाताबद्ध भई वैकल्पिक राजनीतिका विरुद्ध फिजाईएका सबै प्रकारका होहल्ला र अविश्वासका विरुद्ध सतिसाल झै उभिँदै असल राजनीतिको निम्ति नयाँ विचारको विगुल फुक्दै अगाडी बढौँ । हाम्रो विजय अवश्यंभावि छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।