ताजा अपडेट »

गुल्मीको मालिका गाउँपालिकामा मोज : राज्यको लाखौं रकम खर्चेर भारतको 'नैनिताल' भ्रमण !

शुक्रबार, १५ बैशाख २०८०, १३ : ३०
36 Shares

बुटवल । मुलुकको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले विभिन्न अनुत्पादक तथा अनावश्यक क्षेत्रमा खर्च कटौतीलाई प्रोत्साहन गरिरहेका बेला गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने राज्य कोषको लगानीमा घुमघाममा निस्किएका छन् । अध्ययन अवलोकन भ्रमण भन्दै करिब एक साताका लागि नेपाल पश्चिमका विभिन्न ठाउँहरुको अध्ययन भ्रमणमा शुक्रबार निस्किएका हुन् ।

पालिकाका कर्मचारी खानेपानी तथा सरसफाई शाखाका प्राविधिक जयलाल पोखरेलको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरु गरी २४ जनाको टोली भ्रमणमा निस्किएको हो । उनीहरुले पश्चिमका विभिन्न पालिका तथा भारतको नैनी तालसम्म अध्ययनका लागि पुग्ने वडा नम्बर ५ का अध्यक्ष रेखा कुमार जि.सी.ले ग्लाबेल आवाजलाई बताए । गाउँपालिकाले वार्षिक कार्योजनामै भ्रमणका लागि २० लाख रकम विनियोजन गरिएको भए पनि संसोधन गरी १४ लाख मात्रै सो शिर्षकमा खर्च गर्नेगरी व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । ‘यद्यपी उक्त रकम पनि सकेसम्म पूरै खर्च नगर्ने भन्ने हो ।’–खनालले भने ।

प्रमुख प्रशासकीय अधिकृत खनालले सकेसम्म मितव्यी भएर खर्च गर्ने गरी भ्रमणको योजना बनाइएको उल्लेख गरे । आवधिक योजना निर्माण तथा अन्य पालिकाहरुको काम कारबाही भने अलोकन गरी अघि बढ्न सयोग पुग्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको उनले बताए । उनले नेपालका केही पालिकाहरुको अध्ययन अवलोकनका लागि भ्रमण टोली निस्किएको बताए पनि वडा अध्यक्षले यसअघि नै भारतको नैनीतालसम्म भ्रमण टोली पुग्ने जानकारी दिएका थिए । यद्यपी प्रमुख प्रशासकीय अधिकृत खनालले पालिको रकमबाट विदेश भ्रमण जान नमिल्ने बताउँदै व्यक्तिगत खर्चबाट जाने कुरा फरक भए पनि गाउँपालिकाबाट त्यस अनुसारको योजना नरहेको उल्लेख गरे ।

अध्ययन अवलोकनका लागि जानु राम्रो भएपनि यो समय त्यसका लागि उपयुक्त नभएको भन्दै स्थानीय सो कुराबो विभिन्न माध्यमबाट आलोचना गरेका छन् । मुलुक आर्थिक संकटमा परिरहेको बेला जनप्रतिनिधि र कर्मचारीहरु भने राज्यकोषको दुरुपयोग गर्दै विदेश भ्रमणमा निस्किनु स्वभाविक नभएको उनीहरुले टिप्पणी गर्ने गरेका छन् । गाउँपालिकामा प्रयाप्त रकम तथा मनपरी खर्च गर्न सक्ने अवस्था अहिले नभएको स्वयम् गाउँपालिकाका जनप्रतिनधि तथा कर्मचारीहरु नै स्वीकार गर्छन् ।

असार मसान्त आउन अब साढे २ महिना बाँकी छ । मालिकामा उपभोक्ता समितिमार्फत भएका अधिकांस योजनाहरु सम्पन्न हुने अवस्थामा पुगे पनि भुक्तानीका लागि रकम अभाव हुने चिन्ता रहेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल बताउँछन् । ‘सरकारले आवश्यक रकम भुक्तानी दिन सक्ने अवस्था नदेखिएकाले हाल भैरहेका योजनाहरुलाई समेत जुन अवस्थामा छ, सोही अवस्थामा रोक्न भनेका छौं ।’–अर्यालले भने, –भएका सबै कामको भुक्तानी दिन सक्ने अवस्था नभएका कारण जति काम भएको छ, त्यही नै रोक्नु पर्ने अवस्था आयो ।’ आर्थिक संकटले बिकास निर्माणको कामलाई नराम्ररी प्रभावित पारेको उनले बताउँछन् । तर, आर्थिक संकटकै बेलामा गाउँपालिकाबाट लाखौ रकम खर्च गरेर भ्रमण आयोजना गरिएको प्रश्नमा भने उनले स्वीकृत योजना अनुसार नै भएको उल्लेख गरे । ‘यो अवस्थामा भ्रमण जाने की नजाने भन्ने विषयमा छलफल भएको थियो । तर, मितव्ययी अपनाएर जाने भन्ने भएपछि साथीहरु भ्रमणमा निस्कनुभएको छ ।’–अर्यालले भने ।

गाउँपालिका अध्यक्ष देविराम अर्याल ३ दिनदेखि कामको शिलशिलामा काठमाडौं रहेका कारण भ्रमणमा सहभागी छैनन् । यसैगरी उपाध्यक्ष अर्याल र प्रमुख प्रशासकीय अधिकृत खनाल पनि भ्रमणमा रहेका छैनन् । उनीहरु गाउँपालिकाको अध्यावधिक योजना तर्जुमाका लागि शनिबार रुपन्देहीको बुटवलमा अयोजना हुने छलफल कार्यक्रममा सहभागी हुने भएको लगायत कारणले भ्रमणमा सहभागी नभएका हुन् । रुपन्देही लगत्तै काठमाडौंमा समेत पुगेर अध्यावधिक योजना बारे छलफल हुने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।