ताजा अपडेट »

तिनाउको 'टिठ' लाग्दो शिक्षा : वर्षदिन २ विद्यार्थी पढाएको कक्षामा नतिजा शून्य !

बुधबार, १३ बैशाख २०८०, १४ : १३
10 Shares

बुटवल । पाल्पाको तिनाउ–६ अर्खलेमा रहेको श्री आधारभूत विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा ९ जना शिक्षक कर्मचारी छन् । विद्यालयका प्रधानाध्यापक हरि बगालेका अनुसार ४ जना स्थायी १ जना करार तथा १ जना बालबिकास केन्द्रमा कार्यरत शिक्षक छन् । यसैगरी २ जना निजी स्रोतबाट थप शिक्षक राखिएको छ भने १ जना कार्यालय सहयोगी रहेका छन् ।

थोरै विद्यार्थी संख्या, प्रयाप्त शिक्षक कर्मचारी तर विद्यालयको शैक्षिक गुणस्तर भने शुन्यप्राय । हरेक शिक्षक कर्मचारीलाई भाग लगाउने हो भने पनि उक्त विद्यालयमा प्रतिव्यक्ति ५ जना मात्रै विद्यार्थी पर्दछन् । तिनाउ गाउँपालिकाले शैक्षिक गुणस्तर मापनका लागि २०७९ सालको वार्षिक परीक्षामा सहभागी भएका कक्षा ५ र कक्षा ८ को मुल्याङ्कनमा विद्यालयको गुणस्तर निकै कमजोर देखिएको हो ।

२०७९ सालको वार्षिक परीक्षामा विद्यार्थीले हासिल गरेको नतिजाबाट विद्यालयको शैक्षिक गुणस्तर कमजोर प्रमाणित भएको छ । उक्त विद्यालयबाट परीक्षामा कक्षा ५ का २ जना विद्यार्थी सहभागी भएकोमा दुई जना विद्यार्थीले नै उत्तिर्णाङ्क प्राप्त गर्न सकेनन् भने कक्षा ८ को परीक्षामा सहभागी ४ जना मध्ये ३ जना विद्यार्थीले उत्तिर्णाङ्क प्राप्त गरेनन् । विद्यार्थीले प्राप्त गरेको यो नतिजाले राज्यको लगानी बालुवामा पानी भन्न सुहाएको छ । उक्त विद्यालयका प्रधानाध्यापक बगालेले उत्तिर्ण नभएका विद्यार्थीलाई पुनःमुल्याङ्कन तथा पुरक परीक्षा सञ्चालन गरी उत्तिर्ण गराइएको ग्लोबल आवाजलाई बताए । ‘विद्यालयको नतिजा कमजोर किन आयो ?’ भन्ने प्रश्नमा उनको झारा टार्ने जवाफ थियो ‘शैक्षिक सामग्रीको कम प्रयोगले नतिजा राम्रो आएन ।’ यसैगरी विषयगत शिक्षक नहुनु, समय–समयमा शिक्षक परिवर्तन भैरहने, निजी श्रोतमा रहेका शिक्षकहरुले प्रयाप्त सेवा सुविधा प्राप्त नगर्नु लगायतका कारणहरु उनले प्रस्तुत गरे ।

तिनाउकै वडा नम्बर ५ गिट्टी खानीमा रहेको कल्याणी आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । उक्त विद्यालयका प्रधानाध्यापक सुन्दर गाहाका अनुसार कक्षा ५ को परीक्षामा सहभागी भएका ८ जना विद्यर्थी सबै फेल भए । कक्षा ८ को परीक्षामा सहभागी भएका १९ जना विद्यार्थी मध्ये १७ जना विद्यार्थीले उत्तिर्णाङ्क प्राप्त गर्न सकेनन् । उत्तिर्णाङ्क प्राप्त नगरेका विद्यार्थीलाई पुन परीक्षा सञ्चालन गरी उत्तिर्ण गराइएको उनले बताए ।

विद्यालयमा शैक्षिकसत्र २०७८/७९ मा १६७ जना विद्यार्थी थिए । उक्त विद्यालयमा हाल ५ जना स्थायी दरबन्दीका शिक्षक, एक जना शिक्षण सिकाई अनुदानका शिक्षक, २ जना नीजि श्रोतबाट राखिएका शिक्षक तथा बालविकास केन्द्रमा एक जना शिक्षक कार्यरत छन् । विद्यालयमा रहेका कार्यालय सहयोगीसहित १० जना शिक्षक कर्मचारीलाई विद्यार्थी संङ्ख्या भाग लगाउने हो भनेपनि प्रतिव्यक्ति १६/१७ जना पर्न आउँछ । तर, विद्यालयको शैक्षिक गुणस्तर भने निकै कमजोर । विद्यालयको कमजोर नतिजा बारे प्रधानाध्यापक गाहाले शिक्षक, विद्यार्थी तथा अभिभावक तीनै क्षेत्रबाट कमजोरी भएको जवाफ दिन्छन् । कोरोना महामारीपछि विद्यालयको शैक्षिक गुणस्तर यति कमजोर देखिएको बताउँदै उनले तिनाउका अन्य विद्यालयहरुमा झन कमजोर शैक्षिक गुणस्तर देखिएको भन्दै आफूलाईलाई चोख्याउने प्रयत्न गरे ।

यो समस्या तिनाउका अधिकांश शैक्षिक संस्थाहरुमा देखिएका छन् । तिनाउ-१ ओखलढुङ्गामा रहेको ज्ञानोदय माविको हालत पनि उस्तै छ । विद्यालयबाट कक्षा ५ को परीक्षामा सहभागी भएका ७ जना विद्यार्थी सबै फेल भए, कक्षा ८ को परीक्षामा सहभागी ३० जना विद्यार्थी मध्ये २५ जना फेल भए । विद्यालयको कमजोर नतिजाको दोष भने प्रधानाध्यापक हरिनारायण पौडेलले अरुलाई नै थोपर्न चाहान्छन् । ‘सरकारको उदार कक्षा नीतिका कारण जसरी पनि विद्यार्थीलाई पास गराउनु पर्छ भन्ने मान्यताका कारण विद्यार्थीहरुमा अध्ययन गर्ने बानी हराउँदै जानु, अभिभावकले चासो नदिनु लगायतका कारणहरु छन् ।’-पौडेलले भने कोरोना महामारीपछि विद्यार्थीमा अध्ययन गर्ने बानीमा कमी आएको छ, यसले गर्दा पनि हामीले कमजोर नतिजा ल्याउनु परेको हो । यत्ति मात्रै होइन प्रधानाध्यापक पौडेलले विद्यालयको कमजोर नतिजा आउनुमा प्रश्नपत्रमाथि समेत पश्न उठाउन भ्याए । ‘यस पटकको प्रश्नपत्रमा पनि केही कमजोरी थियो, पछि पुनः परीक्षा गरी विद्यार्थीलाई त्तिर्ण गराएका छौं ।’–ग्लोबल आवाजसँगको कुराकानीमा उनले भने । विद्यालयमा प्रयाप्त शिक्षक कर्मचारीको दरबन्दी नभएका कारण पनि कमजोर नतिजा आएको उनले उल्लेख गरे ।

ज्ञानोदय माविमा हाल बाल कक्षादेखि १२ कक्षासम्म २८४ जना विद्यार्थी छन् । प्रधानाध्यापक पौडेलका अनुसार १९ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयमा आधाभूत तर्फ ७ जना स्थायी दरबन्दी, १ जना राहत दरबन्दी, १ जना करारमा गरी १० जना शिक्षक रहेका छन् । यसैगरी मावितर्फ ३ जना, नीजि श्रोतबाट २ जना, बाल विकास केन्द्रका लागि १ जना शिक्षक रहेका छन् । यस्तै १ जना लेखा पाल र २ जना कार्यालय सहयोगी रहेका छन् ।

तिनाउ गाउँपालिका भित्रका यी प्रतिनिधि विद्यालय मात्रै हुन् । अन्य विद्यालयको शैक्षिक गुणस्तर पनि सोही अनुपातमा कमजोर देखिएको छ । गाउँपालिकाले तयार पारेको प्रारम्भिक मुल्याङ्कनमा कक्षा ५ को परीक्षामा सहभागी भएका ३१४ जना मध्ये १९९ जना विद्यार्थीले उत्तिर्णाङ्क प्राप्त गर्न सकेनन् । अर्थात ६३ दशमलव ४ प्रतिशत विद्यार्थी फेल भए । ११५ जना विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । यसैगरी कक्षा ८ को परीक्षामा ३५६ जना विद्यार्थी सहभागी भएकोमा ५२ जना विद्यार्थी मात्रै उत्तिर्ण हुन सफल भए । परीक्षामा सहभागी ३०४ जना विद्यार्थीले उत्तिर्णाङ्क प्राप्त गर्न सकेनन् । अर्थात ८५ दशमलव ४ प्रतिशत विद्यार्थी फेल भए ।

गाउँपालिका भरिकै विद्यालयमा देखिएको शैक्षिक गुणस्तरको खडेरीले स्थानीय सरकारमाथि पनि गम्भिर प्रश्न उठाएको छ । यो वर्षको शैक्षिक मुल्याङ्कन नै गलत थियो वा विद्यालयहरुको कमजोरी भन्ने प्रश्नहरु पनि उठेका छन् । लामो समय शिक्षण पेशामा रहेका तथा हाल तिनाउकै दोभान माविको व्यवस्थापन समितिको अध्यक्ष रहेका राजेश श्रेष्ठले शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले भूमिका खेल्न नसकेको गुनासो गर्छन् । नियमित अनुगमन, शैक्षिक संस्थाहरुको मूल्याङ्कन, शिक्षकहरुको क्षमता विकासका लागि कार्यक्रम सञ्चालन लगायतका कार्यमा गाउँपालिका कमजोर देखिएको उनले बताए । यसैगरी स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तरलाई भन्दा बढी त्यहाँको भौतिक निर्माणलाई मात्रै पहिलो प्राथमिकतामा राख्दा समस्या देखिएको उनी बताउँछन् ।

तिनाउमै लामो समय शिक्षण पेशामा अनुभव बटुलेका स्थानीय दलबहादुर गुरुङले पनि नियमित अनुगमन तथा मुल्याङ्कन नहुँदा शैक्षिक गुणस्तर खस्किएको बताउँछन् । यसैगरी विद्यालय व्यवस्थापन समितिहरुले अनुगमन तथा मुल्याङ्कनमा ध्यान नदिनुका साथै भौतिक निर्माणलाई मात्रै ध्यान दिनु कमजोरी रहेको बताए । विद्यालयहरुले शैक्षिक गुणस्तर सुधार तथा लक्ष्य हासिल गर्नका लागि वार्षिक क्यालेन्डर निर्माण गरी काम नगर्नु, शिक्षकहरुले प्रयाप्त समय कक्षा कोठामा समय नदिनु गुणस्तर खस्कनुको प्रमुख कारणहरु मध्ये पर्ने गुरुङले बताए । विगतका वर्षहरुमा विद्यालयहरुले आफै प्रश्नपत्र तयार पारेर आफै परीक्षा सञ्चालन गर्दै आएका थिए भने यो वर्ष गाउँपालिकाले नै प्रश्नपत्र तयार पारी पालिका स्तरीय मुल्याङ्कन गर्दा विद्यालयहरुको खास शैक्षिक स्तर बाहिर आएको उनले उल्लेख गरे ।

तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुवंरले विद्यालयहरुको कमजोर नजिता आउनुमा कोरोना महामारीको प्रभाव पहिलो रहेको बताइन् । महामारीसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीमा ह्रास आउनु, अभिभावकहरु बालबालिकाभन्दा बढी मोवाइलमा विभिन्न सामाजिक सञ्जालमा केन्द्रित हुनु तथा शैक्षिक संस्थाहरुको नियमित अनुगमनमा भएका कमीले पनि नतिजा निराशाजनक आएको उल्लेख गरिन् ।

पछिल्लो शैक्षिक नतिजासँगै पालिका भित्रका सबै शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया गरी सुधारका लागि वार्षिक कार्योजना बनाउन निर्देशन गरिएको उनले बताइन् । यसैगरी चौमासिक रुपमा मुल्याङ्कन गर्ने, जनशक्ति बढाई नियमित अनुगमनलाई वृद्धि गर्ने लगायतका योजनाहरु तय गरिएको कुवंरले उल्लेख गरिन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।