ताजा अपडेट »

सिद्धबाबा सुरुङमार्गको मन्त्रीद्वयले गरे निरीक्षण : बुटवलको सडक यही आर्थिक वर्षमा सम्पन्न गर्ने दाबी

सोमबार, २७ चैत्र २०७९, २० : २२
38 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको सिद्धाबाबामा निर्माणाधिन सुरुङ मार्गको गृहमन्त्री नारायण काजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार निरीक्षण गरेका छन् । आयोजनाको निरीक्षण गर्दै मन्त्रीद्वयले समयमै काम सक्ने वातावरण निर्माणका लागि सरकार तयार रहेको उल्लेख गरे ।

आयोजना बारे जानकारी गराउँदै सडक विभागका सिनीयर डिभिजनल इन्जिनियर अजयकुमार मुलले सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्ने तथा जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताए । सुरुङमार्गको बीचमा तीन वटा एक्जिट अर्थात् बाहिर निस्कने द्वार समेत बन्ने जानकारी दिए । यसैगरी सुरुङमार्ग बाहेक बुटवलतर्फ र पाल्पातर्फ दुबै स्थानमा ‘टनेल’ तथा ‘रक सेड’ निर्माण गरिने जानकारी दिए । ‘रक सेड’ चट्टाने पहिरोमा सवारी र सडकलाई सुरक्षित गर्ने प्रविधि हो । सडकमाथि बलियो छाना बनाएर यसलाई निर्माण गरिन्छ । सडकमा आउने गरी पहिरो खसेमा छाना हुँदै चट्टान खोलामा पुग्नेछ । त्यसका लागि छानालाई भिरालो ढंगले तयार गरिने इन्जिनीयर मुलले जानकारी दिए । छानामुनिबाट गाडी गुडिरहँदा पहिरो झरेपनि त्यसले कुनै क्षति गर्ने छैन । माथिबाट झरहेका चट्टान छानाबाटै तीव्र गतिमा खोलामा खस्छ । सिद्धबाबामा ठूलो किसिमको चट्टान पनि खस्ने भएकाले त्यहाँ आरसीसी ढलानवाला सेड निर्माण गर्नुपर्ने उनले बताए । त्यसका लागि सडकको दुई भाग (दायाबायाँ) बलियो पिल्लर ठड्याइन्छ र त्यसमा मजबुत किसिमको छानो राखिन्छ । पहिरोको अवस्थाअनुसार यसमा आरसीसी ढलान र स्टिल स्ट्रक्चर दुबै प्रयोग गर्न सकिने मुलले जानकारी दिए ।

सुरुङमार्गको निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सिद्धबाबाको सुरुङमार्गसँगै बुटवल–नारायणगढ सडकको कामलाई समेत तिव्रता दिनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइएको जानकारी दिए । निर्धारित काममा काम पूरा नगरेको निर्माण कम्पनीले थपिएको समयमा समेत काम सक्ने अवस्था नदेखेपछि सबै पक्षसँग छलफल गरी तीब्रता दिन आग्रह गरिएको बताए । २ सिफ्टमा गरेर भएपनि निर्माणको कामलाई अघि बढाउनेगरी छलफल अघि बढेको उनले बताए ।

उनले आफू मन्त्री भएपछि पहिलोपटक प्रारम्भिक जानकारी लिनका लागि निरीक्षणमा आएको बताए । उनले सुरुङमार्गको काम छिटो निर्माण सक्ने गरि आवश्यक निर्देशन दिने समेत बताए । उनले तत्तकालका लागि पास भएका योजनाका कामहरुलाई गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिएको बताए । ‘प्रधानमन्त्री ज्यूले पनि टेण्डर भएका, बजेट छुटिटएका योजना दुई सिफटमा काम गरेर भएपनि सक्न निर्देशन दिनुभएको छ’ मन्त्री ज्वालाले भने –‘ अबको ३ महिना काम गर्ने समय हो, रिजल्ट निकाल्ने गरि काम गर्न सबैलाई भनेका छौं ।’ उनले  मन्त्रालय, विज्ञ एंव निर्माण व्यवसायीहरुसमेतको उपस्थितीमा समस्याहरुको पहिचान गरेर तिनिहरुको समाधान गर्ने गरि काम गर्ने बताए ।

गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सहित भौतिक पूर्वाधार मन्त्री ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, लुम्बिनी प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्व सांसद सोमप्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बुटवलको सडक यसै आर्थिक वर्षमा सम्पन्न हुन्छ
मन्त्री ज्वालाले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् । निर्माण सुरुहुँदादेखिनै अदालतमा परेको मुद्दा, निर्माण कम्पनीको कमजोरी, बजेट अभाव लगायतका कारणले ढिला भएको बताउँदै उनले अब त्यस्तो नहुने उल्लेख गरे ।

आयोजनाका लागि बजेट लगायतका अन्य केही प्राविधिक समस्याहरु बीचमा देखिएको भए पनि अब त्यस्तो नहुने र यसै आर्थिक वर्षभित्र जसरी पनि सम्पन्न गर्नेगरी सरकारले काम अघि बढाउने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।