ताजा अपडेट »

संकिणता र जडता नै नेपालको ओरालो यात्रा !

मंगलबार, ०७ चैत्र २०७९, १४ : ४७
137 Shares
मंगलबार, ०७ चैत्र २०७९
137 Shares

हामीले अनुभुती गरिरहेका छौँ कि देश निरन्तर ओरालो यात्रामा अगाडी बढिरहेको छ, प्रगतिका सबै सुचकांकहरु ऋणात्मकको बिन्दुमा पुगेका छन्, सबैतिर मन्दि छाएको छ बैंकका किस्ताहरु रोकिएका छन्, सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालय यतिबेला सुनसान बनेको छ, किनकि जग्गा जमिन किन्न सक्ने हैसियत हराई रहेको छ, देशमा उत्पादन हुन नसक्दा महङ्गी तीब्र्र रुपमा बढेको छ, व्यापार घाटा र विदेशी ऋण अप्रत्याशित रुपमा वृद्धि हुन गईराखेको छ, कर्मचारीतन्त्र र भ्रष्टाचारले सिमा पार गरेको हामी देख्न सक्दछौँ ।

समग्रमा भन्नुपर्दा जबसम्म हाम्रो जयजयकारको चेतनामा परिवर्तन आउँदैन, जबसम्म आवश्यकता भन्दा बढी राजनैतिककरणको चेतनाबाट मुक्त भईदैन तबसम्म ओरालो यात्रामा अगाडि बढेको देशलाई रोक्न सकिने छैन्।

स्वर्ग मानिएको देश, प्राकृतिक रुपमा सम्पन्न देश आज यो अवस्थामा कसरी पुग्यो ! किन हाम्रो देश प्रगति पथमा अगाडि बढ्न सकेन ! किन ! हामी भन्दा धेरै पछाडी रहेका देशहरू हामीलाई छाडेर प्रगतिको यात्रामा अगाडि बढ्न पुगे ! यसको समिक्षा गर्ने हो कि ! कुनै पनि देश अगाडी बढ्छ वा बढ्दैन भन्ने कुराको निर्धारण त्यो देशका जनताको चेतना अझ मुख्यतया त्यो देशका राजनैतिक पार्टी र शासक वर्गको चेतनामा निर्भर रहने गर्दछ । देशका जनताको चेतना, पार्टीहरुको चेतना र शाषक वर्गको चेतना फराकिलो छ, अग्रगामी छ, समानतामा आधारित छ भने निश्चित रुपमा त्यो देश अगाडी बढ्दछ जबकि यसको विपरीत चेतना र चिन्तन रहेको छ भने देशले ओरालो यात्राको प्रारम्भ गर्दछ ।

आज हामीले ओरालो यात्रामा अगाडि बढ्नुको कारण कुनै वैदेशिक हस्तक्षेपका कारणले अथवा प्राकृतिक रुपमा अत्यन्तै विकट भएका कारणले हुँदै होइन । हाम्रो साँघुरो चेतना, जडता, अन्धराष्ट्रवादी सोच, विखण्डित मानसिकता, सामन्ती संस्कृति, अत्याधिक राजनैतिक करण नै हामी पछाडी पर्नुको मुल कारण हो भन्न सक्दछौँ । उदाहरणको रुपमा हामी लिन सक्दछौा कि जब हामी छिमेकी देशको राजधानी दिल्ली जान्छाँै, लखनउदेखि दिल्ली सम्मको सडक अथवा दिल्लीदेखि आग्रासम्मको सडक जँहा १०० कि.मि. प्रतिघन्टाको गतिमा गाडी दौडाउन सकिन्छ । जँहा छ लेनको सडक बनेको छ, तपाई दिल्लीको शहर भ्रमण गर्नको लागि कुनै टेक्सि, बस वा अटोको सुविधा लिन पर्दैन, प्रत्येक ठाउँ पुग्ने गरि त्यँहा मेट्रो रेलको सुविधा पुर्याइएको छ, के तपाईहरुलाई जानकारी छ! यी दुवै योजना भारत सरकार वा दिल्ली सरकारले बनाएको हो !

यी योजनामा दिल्ली वा केन्द्रीय सरकारको लगानी परेको छ ! अह ! परेको छैन्, यी यस्तै प्रकृतिका मेघा प्रोजेक्टहरु विदेशि कम्पनीहरुको लगानीमा बन्ने गरेका छन् । उनीहरुले बीस वर्षसम्म टुल टेक्सको माध्यमबाट वा टिकटको माध्यमबाट आफ्नो लगानी उठाउछन र बीस वर्ष पछि सम्बन्धित सरकारलाई जिम्मा दिने गर्दछन । हामी कँहा यसो गरिएको भए राष्ट्रियताका पचासौं प्रश्न उठाएर सम्झौता गर्ने पार्टी वा त्यसको सरकारलाई पुराका पुरा बदनाम गर्ने हाडबाजि नै चल्ने थियो । आज हाम्रा भाई भतिजाहरु अरबका देशहरूमा श्रम बेचेर परिवारको दैनिकी चलाउने गरेका छन । ती अरबियन मुलुकहरुको अध्ययन गरौं त ? दुनियाँका ठूलाठूला धनिहरुको त्यही लगानी भएकै कारण ती देश सम्पन्न बन्न पुगेका छन् ।

विपा सम्झौता आजसम्म संसारका १२० मुलुकहरुले गरिसकेका छन् । हामी कँहा पनि बाबुरामजी प्रधानमन्त्री भएको समयमा यो विपा सम्झौता गरिरहदा राष्ट्रवादको ढोल पिट्नेहरुले त्यो सम्झौता राष्ट्रघाती कदम भएको निष्कर्ष निकालेका थिए । यहाँ सरकार गिर्याे भने पनि विदेशीले गिराएको देख्ने सरकार बन्यो भने पनि विदेशीले बनाएको देख्ने, राष्ट्रपति, सभामुख वा गृहमन्त्री या प्रधानन्यायाधीश या कुनै अदालतको निर्णय सबैमा विदेशी हस्तक्षेप देख्ने न्यून चेतना वा अन्धराष्ट्रवादी चेतना नै हाम्रो विनाशको कारण बन्न पुगेको छ ।

उत्तर प्रदेश राज्य विभाजन भै गडवाल देहरादुन क्षेत्र उत्तराखण्ड राज्य बन्यो, त्यहाको सरकारले पूँजीपतिहरुलाई आकर्षित गर्नको लागि औद्यौगिक क्षेत्र निर्धारण गर्नुका साथै पाँच वर्षसम्म राज्यले आफ्नो राज्यमा उत्पादित कुनै पनि वस्तुको टेक्स नलिने निर्णय गर्याे, जस्ले गर्दा कयौं पूँजीपति वर्गहरु त्यँहा पुगे र आफ्नो लगानी विस्तार गरे । हामी कँहा कुनै नेपालकै नागरिक युरोप, अमेरिका वा अरब मुलुकबाट केही पुजीको जोहो गरेर जब देशमा केही गर्छु भनेर हिम्मत गर्दछ । अनि उसले आफ्नो फाइल दर्ता गर्दछ तब ऊ विभागहरुमा यतै धेरै धाउँछ यति धेरै उसलाई सताइन्छ कि छ महिनामा ऊ निराश भएर हारेर थाकेर फेरि फर्केर विदेशनै जान विवश बन्दछ, विजुली अफिस जानुस् वा कर कार्यालय जानुस्, वा उद्योग विभागमा वा वन अफिसमा जानुस् त्यँहा तपाईलाई हौसला दिने र काम छिटो छरितो गरिदिने कोहि पाउनुहुने छैन् ।

काम गराउनको लागि यात टेबुलमुनि दलाल मार्फत नजराना टक्राउनु पर्याे या सत्ताको शक्ति देखाउनु पर्याे । जेनतेन मुस्किलका साथ चलिरहेका उद्योगहरुमा साराको ध्यान त्यँहा पुगेको छ, पुलिसको नजर त्यँहा पुगेको छ, वनको नजर त्यँहा पुगेको छ, करको नजर त्यँहा पुगेको छ, अख्तियारको नजर त्यँहा पुगेको छ, सरकार र त्यसका दलालहरुको नजर त्यँहा पुगेको छ, पार्टी पिच्छे बनेका विद्यार्थी सङ्गठनका सम्मेलनहरु, कर्मचारीका सम्मेलनहरु, युथफोर्स वाइसियल तरुणदलहरुका सम्मेलनहरुको खर्च बापत रसिद पेडहरु त्यँहा पुगेका छन । फकाएर हुन्छ कि, थर्काएर हुन्छ कि, मन्त्रीको पावर लगाएर हुन्छ कि जे जसरी हुन्छ रकम असुल्ने, त्यस माथि विद्रोही समूहहरू, हप्ता उठाउने सत्ता पक्षहरू र सत्ता बाहिरका गिरोहहरु क्रियाशील रहेकै छन् । अनि कसरी चल्दछन त उद्योगहरु, व्यापारहरु कसरी अगाडि बढ्दछ ! त्यसमाथि खुला सिमानाको चुनौति छदैँछ ।

राजनीतिको गाईजात्रा हामीले अनुभव गरे कै छौँ, हिजो माओवादी र एमाले एउटा क्रान्तिकारी अर्को गद्दारमा मुल्यांकन हुन्थ्यो, निर्वाचन नजिकिँदै गर्दा पार्टी एकता बन्यो, रातारात दुबै पार्टी एक अर्काका सब अपराध निमिट्यान्न बने, त्यतिबेला प्रचण्डको नजरमा केपि महान र केपिको नजरमा प्रचण्ड महान बन्नपुगे । निर्वाचनमा अप्रत्याशित परिणाम पनि प्राप्त भयो, २ वर्ष पछि जब सत्ताको भागवण्डा गर्ने कुरा आयोे अनि पार्टी टुक्राटुक्रा भयो फेरि उहीँ पुरानै थेगो एकले अर्कालाई गद्दार र महा अपराधी घोषणा गर्ने होडबाजि चल्यो । यता प्रतिक्रियावादि भनेको कांग्रेस एक थरीको नजरमा अग्रगामी देखा पर्याे भने उता पञ्चे भनिएका राप्रपाहरु सुन्दर देखिन पुगे भरखरैको निर्वाचनको परिणाम पश्चात् पाँच दलिय भनिएको गठबन्धनमा दरार पैदा भयो । परिणामत रातारात पनि नभनौँ घण्टा कै बिचमा फेरि एमाले माओवादी फेरि महान क्रान्तिकारी बन्न पुगे ।

बालकोटको बार्दलिबाट हामी महान छौँ अटुट छौँ भनेर हात हल्लाएर विज्ञापन पनि गरे, तर राष्ट्रपति निर्वाचनसम्म आई पुग्दा त्यो समिकरण भत्कयो । फेरि अहिले ८ दलिय गठबन्धन बनेको र बार्दलिमा ओलिजी एक्लै हात हल्लाई रहेको स्थिति छ । प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, सरकारलाई पूर्णता दिनको लागि होमवर्क हँुदै गर्दा फेरि को गद्दारमा दरिने हो र को महान अग्रगामी बन्ने हो अहिले नै भन्न सकिदँैन ।
यी सबै घटनाक्रम भैरहँदा नेतृत्वले विषादीलाई अमृत भन्यो भने पनि त्यसैमा जिन्दावाद ठोक्ने हाम्रो चेतना विद्धमान रहेकै छ । नेतृत्वलाई देवत्वकरण गर्ने चेतना र भिन्न लाई राक्षसिकरण गर्ने चेतनानै विनाशको बाधक बनेको छ । यो नेतृत्व, हाम्रो सामन्तवादी चेतना रहँदासम्म हाम्रो विकास र प्रगतिको कल्पना मुर्खले मात्र गर्दछ यो शासकीय स्वरुप, यो कर्मचारीतन्त्रको जालो च्यात्नको लागि कार्यकारी प्रमुख अर्थात प्रत्यक्ष जनताको मताधिकार द्वारा चुनिने व्यवस्थासम्म पुग्न सक्ने हो भने केही परिवर्तन हुन्थ्यो कि !

आज देशमा तीन तहका सरकार छन् त्यँहा विकास बजेट भन्दा बढी साधारण खर्च यति धेरै भएको छ । त्यसैले नै देश टाट पल्टिने दिशामा अगाडि बढेको छ, कहि नभएको जात्रा हाडि गाउँमा भनेजस्तै नेपाल मात्रै एउटा देश छ । जँहा निर्वाचित प्रतिनिधिलाई तलब सुविधा दिने गरिन्छ । प्रत्येक सरकारले आफ्नो कार्यकालमा मन्त्रीको सुविधा बढाउने भि.भि.आई.पि.हरुको सुविधा बढाउने लगायतका निर्णयहरु गर्ने र राज्यलाई दोहन गर्ने कार्य तिनीहरुको दैनिकी बन्न गएको छ ।

सरकारको खर्च कम गर्ने तर्फ ती सिंहदरबारमा बस्नेहरुको कुनै ध्यान नै जाने गर्दैन् । जस्तो कि आजको हुलाक विभाग, जस्को कुनै आवश्यकता नै छैन्, त्यसलाई विघटन गरेर नगरपालिकामा एउटा कर्मचारी राखिदिने हो भने त्यँहाका बाँकी कर्मचारीहरुलाई अन्यत्र लगाउन सकिन्छ, त्यस्तै त्यँहा केन्द्रमा बस्ती विकास कम्पनी छ । त्यसका झण्डै पच्चीस जिल्लामा कार्यालयहरु रहेका छन तिनको आज कुनै औचित्य र आवश्यकता रहेको छैन् । त्यस खालका संयन्त्र हरुको विघटन गरेर उचित व्यवस्थापन गर्ने तर्फ राज्यको ध्यान जाने गर्दैन् । वन विभाग, हरियो वन नेपालको धन, भन्ने गरिन्छ, तर आज तपाईंहरू देख्नु हुन्छ कि प्रत्येक वनका डिपुहरुमा सालका काठका मुडाहरु सडेर गै राखेका छन ।

ती बिक्री गर्ने तर्फ विभागको ध्यान जाँदैन्, देशैभरि १०० वर्ष पार गरिसकेका सुक्न थालेका काठहरु हामी कँहा राज्यको पनी व्यक्तिको पनि रहेका छन् । तिनीहरु बिक्री गरेर अरबाँै आम्दानी गर्न सकिन्थ्यो । तर हामी कँहा नीति अप्ठ्यारो बनायो भने काम गर्न अप्ठ्यारो पर्ने, निति सरल बनायो भने, कर्मचारी वा राज्य निकायका सम्बन्धित व्यक्तिहरू र व्यापारीहरुको मिलोमातोमा सबै सर्वस्व हुने यता हामीले घर बनाउँदा हामीले काठको झ्याल ढोका राख्न सक्दैनौं, हामी कुर्सी, पलङ र दराज बनाउन सक्दैनौँ, किनकि ती वस्तुहरु बजारमा पाउने भन्दा समुदायको काठ धेरै महङ्गो पर्ने गर्दछ । त्यसैले सहर बजारमा प्रायः सबै घरहरुमा हामी सिसाका झ्याल र प्लाइका ढोकाहरु देख्ने गर्दछौं ।

समग्रमा भन्नुपर्दा जबसम्म हाम्रो जयजयकारको चेतनामा परिवर्तन आउँदैन, जबसम्म आवश्यकता भन्दा बढी राजनैतिककरणको चेतनाबाट मुक्त भईदैन तबसम्म ओरालो यात्रामा अगाडि बढेको देशलाई रोक्न सकिने छैन्। समयमै सबैले चेत्न पर्लाकि ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।