ताजा अपडेट »

त्रिकोणमा अल्झिएको राजनीति

आइतबार, ०५ चैत्र २०७९, १२ : ५०
15 Shares

त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेशबाट सरकार गठन संग-संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीतिको बिगुल बज्यो । त्यसको ध्वनितरङ्ग आजसम्म पनि गुञ्जी रहेको छ। अझ कहिलेसम्म त्यो ध्वनितरङ्ग गुञ्जी रहने हो तुङ्गो छैन्। राजनीतिक अस्थिरताको साइरन रन्कि रहेको छ। तर शीर्ष नेताहरूको कान बाक्लिदै गएको र मस्तिष्कको धमनीहरूमा रक्तसंचार अवरूद्ध भएकोले तिनीहरू एकोहोरोपनको रोगले ग्रसित छन्। त्यसैले तिनीहरूको अवस्था अप साइड डाउन छ। शीर्षासन मुद्रामा छन् ।

सबकुछ उल्टापुल्टा डामाडोल छ। अर्थ जगत पनि साँगुरो पाइपलाइनबाट सकस ढङ्गमा घिसिरपिसिर चलिरहेको छ। राजनीति त सकिगो ।अब बुझाउन मात्र बाँकी छ। प्रजातन्त्रको संस्थापक नेपाली कांग्रेसबाट संसदीय प्रजातन्त्रको मूल्य मान्यता र परम्परा एकपछि अर्को तोडियको छर्लङ्ग छ। परम्परा र मौलिकता भत्काएर नयाँ संस्कृतिको कीर्तिमान स्थापित गरेको शीर्ष नेताहरूबाट बोक्रे दावी हुने गरेको छ। हुनत प्रजातन्त्रवादीहरू सर्वाधिकारवादीको चङ्गुलमा परेसी यस्तै हालत हुने त हो नि !

संसद विघटन पश्चात राजनीतिक वृत्तमा सृजित व्यापक उथल-पुथल जनताले देख्दै भोग्दै आएका छन् । पाँच दलीय, सात दलीय हुदै आठ (दश दलीय) दलीय पटके गठबन्धन सँगसँगै न्यूनतम साझा कार्यक्रमहरूको पटके ट्रेलर हेर्ने कुअवसर जनतालाई प्राप्त भयो। त्यसैले कुपथका नायकलाई शिथिल अवस्थामा पुर्याउन र दुई कोणीय राजनीतिक माहोल तयार गर्न गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जनताले सरकारको नेतृत्व गर्न र प्रतिपक्षीमा रहन वा मिलेर जान क्रमशः कांग्रेसलाई सबै भन्दा ठूलो दल र ऐमालेलाई दोस्रो ठूलो दलको हैसियतमा स्थापित गरेको जगजाहेर छ।तथापि ती दुई दलका शीर्ष नेताहरूको मपाइँ स्वभाव तथा इनर कोरमा रहेका सेवकहरूको मिस्गाइड एवं देउवाले ओलीसंग, ओलीले देउवासंग भन्दापनि देउवा र ओली दुबैजनाले दाहालसंग कम्फोर्टेबल ठानेको कारण जनताले दिएको मतको भावनानुरूप सुनुवाइ हुन सकेन्।

फलतः तेस्रो ठूलो दल माओवादी केन्द्रको अध्यक्ष दाहालको गँगटो स्वभाव हाबी भयो। राजनीति होरिजँन्टल (Horizontal) को साटो वर्टीकल (Vertical) अवस्थामा पुग्यो । मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणामस्वरूप राजनीतिक वृत्तमा आस गर्न सकिने स्पेश बढ्यो। नयाँ उत्साही दलहरू एवं स्वतन्त्रहरूको संसद प्रवेश भयो। जनताको अनुहारमा चहक देखिन थाल्यो। तर कतिपय नयाँ पुराना दलहरूमा जता मल्को उता ढल्को प्रवृत्ति देखियो। नेतृत्व जस्तोसुकै जोसुकैको होस् आफ्नो स्वार्थ पूरा हुन्छ वा पूरा गराइदिने आश्वासन दिन्छन् भने ओ.के.।

गठबन्धन ७ होस् वा ८ (दश दलीय) होस् आफ्नो स्वार्थ पूरा हुन पर्यो। साथै तिनीहरूमा राजनीतिक स्थिरताको चिन्तन पनि देखिएन्। समुचित राजनीति त्रिकोणमा बल्झिएको छ। तथापि अनौठो छ दुई ठूला दलहरू निर्णायक हुन सकेका छैनन्। एकअर्कोमा खोट देख्छन्। तेस्रो ठूला दल माओवादी अध्यक्ष दाहालले दुई ठूला दलहरूलाई रिँगाइरहेका छन्। तरपनि तिनीहरू मिलेर जान हच्कि रहेका छन्। तिनीहरूमा अपसोच पटक्कै छैन्। दवावमा छन् भने किन त्यसलाई चिर्न सकिरहेका छैनन् ? जनअसन्तोष एवं आशंका बढ्दो छ।

कांग्रेस र ऐमालेले आफ्नो राजनीतिक प्रतिष्ठा कायम राख्न सकिरहेका छैनन्। वास्तवमा अबको अवस्थामा माओवादीसंग जनताको केही कुनै अपेक्षा छैन। सही ट्रयाकमा चलोस भन्ने अपेक्षा पनि छैन। किनकी प्रचण्ड सुध्रने नेता हुदै होईन। सुध्रने हुदों हो त माओवादी खण्डित हुने नै थिएन। नेताहरू अलगथलग हुने थिएनन। स्थिति अघोर छ। बाँदरले आफ्नो घर त बनाउदैन बनाउदैन अर्काको घर पनि भत्काइ दिन्छ। एउटा हाँगाबाट अर्कोमा, अर्को हाँगाबाट फेरि अर्कोमा उफ्रिरहने अस्थिरताको गठरी पुरै फुकाउन जरूरी छ। विगतमा वैकल्पिक शक्ति भन्दै केही नयाँ दलहरू तमकझमक साथ उदायो अनि अलप भयो।

अत: प्रजातन्त्रको पक्षपोषक संरक्षक नेपाली कांग्रेस र सहयात्री ऐमालेले आफ्नो गुमेको राजनीतिक प्रतिष्ठा पून: कायम गरोस। शीर्ष नेताहरू सच्चियोस।राजनीतिक अस्थिरताको मौजुदावस्थामा ब्रेकथ्रुका लागि हिम भञ्जक नीति (Ice break policy) अवलम्बन गर्दै सही मार्गमा चलोस।किनकी कांग्रेस र ऐमाले प्रतिको जनविश्वास र भरोसा अझै टुटे्को छैन्। यही नै वर्तमानको राजनीतिक आवश्यकता र वास्तविकता हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।