ताजा अपडेट »

तिलोत्तमाका सडकमा मेयर-उपमेयर झाडुसहित सरसफाइमा (फोटो तथा भिडियोसहित)

शनिबार, २७ फागुन २०७९, १० : २३
18 Shares

तिलोत्तमा । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियान अन्तरगत रुपन्देही तिलोत्तमाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु टोल–टोलमा पुगेका सरसफाई अभियानलाई तिव्रता दिएका छन् । यसैबीच शनिबार तिलोत्तमा–७ भलवारीमा भेला भई त्यहाँको सडक तथा फुटपाथहरु सफाई गरिएको छ ।

मनकामना टोलविकास संस्था तथा स्थानीय विभिन्न संघ–संस्था, विद्यालय लगायतका प्रतिनिधिहरुको सहभागितामा नगर सफाई गरिएको हो । कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवर्द्धन गरिने उल्लेख गरे । ‘सरसफाई गर्ने संस्कार मात्र होइन, सरसफाईको पनि व्यवस्थापन गर्ने संस्कार हामीले बसाल्नु छ ।’–यसअघि प्रमुख खाँणले भने, ‘तिलोत्तमालाई पूर्वाधारका हिसाबले शहरकै जस्तो गरी बिकास गर्ने र गाउँको जस्तो सामाजिक सद्भाव र परम्परा कायम राख्ने हाम्रो उद्देश्य हो ।’

यस्तै उपप्रमुख जागेश्वरी चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन् । तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । पालिका पहिलो खुला शून्य पोलोथिन नगरपालिका समेत बनिसकेको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा हालसम्म दुई लाख बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।