ताजा अपडेट »

तुलसीपुर यातायात कार्यालयमा सेवाभन्दा सास्ती धेरै

विहीबार, २६ माघ २०७९, १९ : ०३
6 Shares

दाङ । दाङको गढवाका अप्सन बैरागी मोटरसाइकलको ट्रायलमा पास गरेपछि राजश्व बुझाउन बुधबार बिहान करिब ११ बजे बस चढेर तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा आइपुगेका थिए । उनीसँग मोटरसाइकल भएयता पनि लाइसेन्स नहुँदा बस चढेर आएका थिए ।

राजश्व बुझाएपछि यातायात कार्यालयले तत्काल रसिद दिने र त्यहीको आधारमा मोटरसाइकल चलाउन पाइन्छ । तर, उनी कार्यालयमा आइपुग्दा लाइन भित्रदेखि बाहिर गेटसम्म पुगेको थियो । उनले भने,‘ बिहान ११ बजे आइपुगेको थिए । अब आउँदा लाइन लामो नै थियो । कोठा नं. ३ मा गएर फोटो खिचाएर आए । त्यसपछि कोठा नं. ९ मा गएर राजश्व बुझाउन भनियो । अहिले दिउँसो ३ बजेसम्म लाइन मै छु । कुन बेला पालो आउँछ, थाहा छैन् ।’ यसरी लामो समयसम्म लाइनमा बस्ने उनी त एक प्रतिनिधि पात्र हुन् । तर, सयौँको संख्याका सेवाग्राहीहरू राजश्व बुझाउनको लागि घन्टौँसम्म लाइनमा लागे थिए ।

यस्तै उनले कार्यालयबाट पाउने सेवामा पनि सास्ती पाइरहेको र एउटा टिकटको मूल्य पनि धेरै लिने गरेको गुनासो गरे । उनले भने,‘ दश रुपैयाँ पर्ने टिकटको मूल्य १५ रुपैयाँ तिर्नु बाध्य छौँ । यस्तो कुरामा सुधार आउनु पर्छ । जनताले धेरै दुख पाएका छन् । तर, कोही बोल्न नसकेर मात्र हो ।’

यस्तै उनले मेडिकल रिपोर्ट पनि ब्यक्तिमा भर पर्ने पनि बताए । केही व्यक्तिहरूले डाक्टरलाई नै चेकजाँच गरेर ल्याउने गरेको भएयता पनि केहीले चेकचाँज नगरीकन सेटिङमा ल्याउने गरेको समेत बताए । यस्तै उनले यो यातायात कार्यालय तुलसीपुरमा मात्र नभइ सेवाग्राही अवस्था हेरेर जिल्लाका अन्य ठाउँहरूमा शाखाहरू हुन पर्ने समेत बताए ।

उनले भने,‘ साविक राप्ती अञ्चलका ५ जिल्लाको लागि तुलसीपुरमा मात्र कार्यालय रहेको छ । धेरै ठाउँका मानिसहरू सेवा लिन एकै ठाउँमा हुँदा भिडभाड हुन्छ । त्यसैले की अन्य ठाउँमा पाखाहरू हुनु पर्छ, होइन भने प्रविधि अनुसार चलाउनु पर्छ । राजश्व तिर्नको लागि अनलाइन सेवा भएपनि यस्तो भिडभाड हुँदैन । मानिसहरूले घरमा बसेर तिर्न सक्छन् । त्यसैले राज्यले यतातिर ध्यान दिन जरुरी छ ।’ उनले आफू जस्ता नागरिकहरूले लाइसेन्स नपाउँदा धेरै समस्या भोग्दै आएको पनि उल्लेख गरे । ‘आफ्नो साधन भएपनि लाइसेन्स नहुँदा चलाउन पाइदैन् । यदि चलाएपछि ट्राफिकले भेटाए एक हजार जरिवाना काट्छ । साधन भएर पनि बसमा भाडा तिर यात्रा गर्नुपर्छ ।'-उनले थपे ।

यस्तै नयाँ लाइसेन्सको राजश्व बुझाउने लाइनमा बसेको घोराहीबाट आएका गणेश कुमार घर्तीमगरले पनि उस्तै गुनासो गरे । उनले भने,‘ आजै लिखित परीक्षा हो । त्यसैले बिहानै आएर राजश्व बुझाउन लाग्दा ३ बजेसम्म लाइन मै छु । यस्तो दुख हामीले कहिलेसम्म पाउने रु कहिँले लाइसेन्स बनाउँन नपाउँदा दुख पाइन्छ । यति धेरै सेवा लिन आउने ठाउँमा कार्यालयले व्यवस्थित गरेको पाइदैन् ।’

यस्तै उनले एक ठाउँमा मात्र राजश्व लिने भएकाले धेरै समय लाग्ने भन्दै कार्यालयले यसतर्फ ध्यान दिनु पर्ने समेत बताए । उनले सरकारले जनतालाई काम छिट्टो छरितो गर्न निर्देशन दिए पनि आफूहरूले सधैँ यस्तै भोग्नु परेको गुनासो गरे । उनले भने, ‘म धेरै पटक विभिन्न काममा सेवा लिन यस कार्यालयमा आएको छु । सधैँ यस्तै समस्या भोग्नु पर्दछ । नेताहरूले निर्देशन मात्र दिन्छ । तर, सर्वसाधारणले यस्तै समस्या भोग्न बाध्य छन् ।’

यस्तै तुलसीपुर १२ जसपुरका पदम बहादुर खत्री पनि लिखित परीक्षाको राजश्व बुझाउन लाइन मै बसेका थिए । उनी पनि करिब ३ घण्टादेखि नै लाइनमा बसेका थिए । उनीभन्दा अगाडि करिब ५० जना अगाडि नै थिए । तर, उनलाई पनि आजै राजश्व बुझाएर आजै बेलुका नै लिखित परीक्षामा सहभागी हुनु थियो । उनले भने,‘ राजश्व नबुझाएमा लिखित पर्न पाइदैन् । त्यसैले जति समय लागे पनि लाइनमा बसेर पालो आएपछि बुझाउनुको विकल्प छैन् । जनताले यहाँ मात्र नभइ अन्य सरकारी निकायमा पनि यस्तै सास्ती भोग्नु परेको छ । ’

उनले पनि यस कार्यालयमा साविकका राप्ती अञ्चलका ५ जिल्लाबाट सेवा लिन आउने गरेको भन्दै विभिन्न ठाउँमा शाखाहरू सञ्चालनमा ल्याए सबैलाई सहज हुने पनि बताए । यस्तै उनले पछिल्लो समय सबै प्रविधि युक्त हुँदा पनि सरकारी कार्यालयहरू अझै पुरानै तरिकामा हुँदा नागरिकहरूले समय मै सेवा पाउन नसकेको बताए । उनले राज्यले सबै कार्यालयहरूलाई प्रविधि अनुसार विकास गर्न सकेमा मात्र नागरिकहरूले सहज सेवा पाउने पनि उल्लेख गरे । यता कार्यालयले भने केही दिन अगाडि ट्रायल तथा रिट्रायल पास गरेका र लाइसेन्सको लागि लिखित परीक्षामा सहभागी हुने गरी २२ सय जना जति हुँदा सबै एकै पटक सेवा लिन आउँदा केही दिनदेखि कार्यालयमा भिडभाड भएको जनाएको छ ।

कार्यालयका अधिकृत सातौँ हुकुम बहादुर ओलीले माघको ५, ६ र ७ गते भएको रिट्रायल भएको र ९, १०, ११ गते भएको नियमित ट्रायलमा ए र के वर्गमा करिब २२ सय जना पास भएको हुँदा सबै जना एकै पटक राजश्व बुझाउन आउँदा विगत ३ दिनदेखि भिडभाड भएको बताए । यस्तै उनले भोलिदेखि यस्तो भिडभाड नहुने पनि बताए । यस्तै उनले एक लाख भन्दामाथिको सवारी कर अनलाइनबाट लिने व्यवस्था राज्यले गरेको भएयता पनि त्यो भन्दा कम कार्यालय मै आएर बुझाउनु पर्ने अवस्था रहेको पनि बताए । उनले भने,‘ सवारी कर र लाइसेन्स नवीकरण यहीबाट गर्नुपर्छ ।

लाइसेन्स नवीकरण गर्दा स्वयम् व्यक्ति नै उपस्थित हुनु पर्ने भएकाले पनि अलि भिडभाड नै हुन्छ । अब प्रविधि विकास हुनु पर्छ । त्यो पनि विस्तारै होला ।’ यस्तै उनले कार्यालय भएको ठाउँ पनि साँघुरो, बजार एरिया भएका कारणले गर्दा पनि भिडभाड देखिने गरेको बताए ।

उनका अनुसार कार्यालयले विगत १७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको छ । यस्तै कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरू पनि नहुँदा सेवा प्रदान गर्न समेत समस्या हुने गरेको बताए । उनले भने,‘ अहिले पनि कार्यालय निमित्तको भरमा चल्दै आएको छ । कार्यालय प्रमुख नौ तह वा उपसचिव तहको दरबन्दी हो । लेखा शाखामा ३ जनाको दरबन्दी हो । लेखा प्रमुखको पद पनि रिक्त रहेको छ । लेखाको बाहेक अरु कर्मचारीले राजश्व काट्न मिल्दैन् । अरुलाई आइडी बनाउन पनि मिल्दैन् ।

अहिले लाइसेन्सतिर एक जना र सवारी तिर एक जनाले मात्र राजश्व काट्नु हुन्छ ।’ उनका अनुसार अन्य ठाउँमा सवारीको एक ठाउँ र लाइसेन्सको अर्को ठाउँ हुने भएयता पनि यहाँ एउटै ठाउँमा हुँदा भिडभाड हुने गरेको हो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी