ताजा अपडेट »

बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’

मंगलबार, १७ माघ २०७९, ११ : ४२
23 Shares

बुटवल । हामीले जति वर्तमान र अभिष्यका बारेमा चिन्ता गरेका हुन्छौं, बालापन र विगतका मिठासलाई पनि त्यसैगरी सम्झिएर आनन्दित हुन चाहान्छौं । कुनै समय फिल्म हेर्नका लागि घुइचो चाग्ने बुटवलको ट्राफिकचोकमा अवस्थित ‘चलचित्र मन्दिर’को उत्तरतर्फ त्यस्तै बाल्यकाल झल्काउने पसल छ ‘चिया वाला’ । गाउँ–गाउँबाट मेसो मिलाएर फिल्म हेर्न आउने चलचित्र मन्दिर अहिले छैन । विगतको जस्तो चहलपहल पनि त्यहाँ देखिँदैन । तर, उक्त ठाउँमा पुग्दा बालापन र युवा अवस्थालाई नसम्झिने सायदै होलान ।

हाम्रा पुर्खाले नुन साट्ने थलो बुटवल बजार आज ठूलो शहरको रुपमा परिणत भएको छ । आधुनिकताले विगतको आत्मीय ‘बुटवल बजार’लाई खर्लप्पै निल्न थालिसकेको छ । फेरी उही विगतमा फर्केर आनन्दित हुने चाहना पूरा गर्नका लागि युवा व्यवसायी गणेशदेव पाण्डेले चियावाला सञ्चालनमा ल्याएका हुन् । पुर्खाले जीविकोपार्जनका लागि चिया बेचेर बसेको बुटवल बजारमा फेरी उस्तै बालापन र विगत झल्काउने वातावारणसहित हजुर बुवाको पेशालाई ब्राण्डिङ गर्दै गणेशदेवले ‘चियावाला’मा गरेको सजावटले छुट्टै आनन्द प्रदान गर्छ । टुटेफुटेका पुराना सामानलाई जोडजाड पारेर तयार पारिएका कुर्सी–टेबल, भित्तामा सजिएका पुराना तस्विर, सजाएर राखिएका अँग्रेजहरुले प्रयोग गरेका भाँडाकुडा, भित्तामा कोरिएका तस्विर तथा शब्दका हरफहरुले फेरी उही बालापनमा फर्काउँछ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका (साविक चण्डिभन्ञ्याङ) कारिकोटमा चिया पकाएर व्यापार सुरु गरेका गणेशका हजुर बुवा यज्ञप्रसाद पाण्डे २०२८ सालतिर बुटवल झरे । बुटलको ट्राफिकचोकमा एउटा झुपडीमा चिया बेच्न सुरु गरे । उनको यो पेशालाई छोरा घनश्याम पाण्डेले २०३४ सालदेखि सम्हाल्न थाले । बुटवलको अमरपथ, बिपी चोक लगायतका ठाउँमा चिया नास्ता बेचेर जीविकोपाजर्न गरेका उनले २०४२ सालदेखि पसलाई पाण्डे मिष्ठान्न भण्डारको रुपमा नयाँ स्वरुप दिए । त्यो बेला उनको पसलमा पहाडबाट बजार गर्न बुटवल झरेकाहरु चिया र जेरी खानका लागि भिडनै लाग्ने गर्थ्यो । यसरी ४६ वर्षसम्म चिया बेचेर परिवार चलाएका बुवा घनश्यामको पेशालाई ब्राण्डिङ गर्दै आएका गणेशदेवले बुटवलमा सञ्चालनमा ल्याएको पसल ‘चियावाला’को चौथो शाखा हो । ७० वर्ष पुगेका बुवा घनश्यामलाई मिश्राम दिएर आफैलै पूर्खाको पेशालाई हाँकिरहेका गणेश सञ्चारकर्मी समेत हुन् । सञ्चार कर्मको समयमा विभिन्न ठाउँमा घुम्ने र बस्ने क्रममा देखे भेटेका अनुभवलाई बोकेर नै आफ्लो कला प्रयोग गर्न ‘चियावाला’ सञ्चालनमा ल्याएको उनी बताउँछन् ।

गणेशदेवले ५ वर्ष अघि काठमाडौंको आलोकनगरबाट ‘चियावाला’को शुरूवात गरेका हुन् । विगतमा बुवाले सञ्चालन गरेको चिया पसलको आम्दानीले नै गणेश लगायत उनका ३ भाइ र बहिनीले शिक्षा पाए । आफ्नो हजुरबा र बुवाले लामो समयसम्म चिया पसलबाटै जिविकोपार्जन गरेकाले गणेशमा पनि चिया पसल खोल्ने रहर पलायो । एकातिर आफ्नो जिविकोपार्जन पनि हुने, अर्कातिर बुवाको सम्मान पनि हुने । सोही कारण उनले चिया पसल खोल्ने योजना बनाएका थिए । उनी भन्छन्,–‘चियावाला भन्यो भने मलाई गर्व लाग्छ, हामी पहिलेदेखि नै चिया बेच्थ्यौं भन्ने लाग्छ,’ उनले भने,–‘त्यसै कारण नाम चियावाला नै राख्ने मैले निर्णय गरें ।’

चियावाला चिया पारखीका लागि यस्तो चिया सेन्टर हो, जहाँ आफूले मन लागेको चिया पिउन पाइन्छ । पाण्डेका अनुसार, चियावालामा करिब सय थरी चिया पाइन्छ । ‘यति धेरै चियाका प्रकारहरू राख्नु भनेको ग्राहकलाई मन लागेको चिया पिउनु भन्नु हो,’ उनी भन्छन्,‘हामीले हाम्रो रोजाइको चिया दिने हैन, यहाँ चिया पारखीले आफ्नो रोजाइको चिया पिउन पाउनुहुन्छ ।’

सय थरी चियामा सबै चियाको आआफ्नै मिठास छ । त्यस मध्येमा पनि चिया पारखीको बढी रोजाइमा ‘घनश्याम चिया’, ‘मेरो खुशी चिया’ लगायत पर्ने गर्छन् । पाण्डे आफैं पनि घनश्याम चिया पीउन रुचाउँछन् । घनश्याम चिया उनले आफ्नो बुवाको नामबाट नामाकरण गरेका हुन् । उनका अनुसार, उनका बुवा घनश्याम पनि आफ्नो काममा सिधा तथा इमान्दारी छन् । चिया पसल चलाउँदा पनि उनको बुवाले सधैं इमान्दार भएर काम गरेका थिए । त्यसकारण उनले घनश्याम चिया बुवालाई नै सम्मान गर्दै नामाकरण गरे । उनी भन्छन्,‘घनश्याम चिया बुवाजस्तै सिधा छ ।’

पाण्डेले चियावालाको आउटलेटमा पूरानो टिभी, ढुङ्गा, पूरानो साइकल, पूरानो टाइपराइटर लगायत राखेका छन् । उनी भन्छन्,–‘मलाई यी चिजहरू देख्दा बाल्यकालको झल्को आउँछ । त्यसैले यस्ता चीजहरूलाई कवाडीबाट उठाएर यहाँ राखें ।’ आफूले जस्तै अरूले पनि आफ्ना व्यवसायमा कलाको प्रयोग गरि कलात्मकता प्रस्तुत गर्न उनी सुझाब दिन्छन् ।

बुटवलमा खोलिएको शाखाभन्दा अघि नै उनले काठमाण्डौंको झम्सिखेल, चाहिलमा समेत ‘चियावाला’ पसल सञ्चालनमा ल्याइसकेका छन् । यसअघि उनले बुटवलकै पारी बुटवलमा चियावाला सञ्चालनमा ल्याएका थिए । उक्त पसललाई फ्रेन्चाइजका रुपमा सञ्चालन गर्नेगरी विक्रि गरे पनि सो अनुसार हुन नसकेपछि आफूले पुनः अर्को चियावाला बुटवलमा खोल्नु परेको उनी बताउँछन् । उनको पसलमा ४० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको चियाका स्वाद लिन पाइन्छ । करिब ५० लाख लागतमा बुटवलमा सञ्चालनमा आएको पसलमा सकेसम्म प्लाष्टिकका सामानहरु प्रयोग नगर्ने नीति उनले बताएका छन् । अधिकांश नेपाली हस्तकलाको प्रयोग गरी बनाइएका बस्तुहरु प्रयोग गरिएको उनको पसलमा ढुङ्गा–मुढालाई नै बढीभन्दा बढी प्रयोगमा ल्याइएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।