ताजा अपडेट »

'बालविवाह रोक्ने प्रतिबद्धता'

बुधबार, ११ माघ २०७९, १२ : ०६
40 Shares

दाङ । समाजमा बढ्दै गएको बालविवाह रोक्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का धर्मगुरु र सरोकारवालाले प्रतिवद्वता जनाएका छन् । उनीहरुले विवाह गराउँदा अनिवार्य उमेर हेरेरमात्र विवाह गराउने र सानै उमेरमा गरिने विवाहमा सहभागी नहुने प्रतिवद्धता जनाएका हुन् ।

युनिसेफ नेपालको समन्वयमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को सहआयोजनामा गरिएको अभिमुखिकरण कार्यक्रममा उनीहरूले यस्तो प्रतिवद्दता जनाएका छन् ।

वडाका जनप्रतिनिधि, धर्मगुरू र सोरेनीले बालविवाह रोक्नका लागि समाजमा २० वर्षमुनि गरिने विवाह भोजको बहिष्कार गर्ने बताएका छन् । धर्मगुरु नारायण आचार्यले दुलाहदुलहीका उमेर हेरेरमात्र विवाह गराउन सकिने बताए । उनले सानै उमेरमा गरिने विवाह रोक्न विवाह भोजमा समेत नजाने बताए ।सोरेनी खिरमती चौधरीले छरछिमेकीमा सानै उमेरमा हुने विवाह रोक्नका लागि जानेका कुरा सिकाउने बताइन् ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले समाजमा महत्वपूर्ण कुरामा चासो राख्ने व्यक्तिबाटै बालविवाह रोक्न सकिने बताए । बालविवाहले गरिबी निम्त्याएको उनको भनाई छ । उनले विवाह गर्दा र बच्चा जन्माउदा ख्याल गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । बालविज्ञ नवराज लामिछानेले बालविवाह रोक्न धर्म गुरु र चौधरी समुदायका सोरनीको भुमिकाको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालबालिकाले बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको आधार र सहभागीताको अधिकारबारेमा प्रष्ट पारेकी थिइन् । यस्तै उनीले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना ३५ दिनभित्र गराउन समाजमा जानकारी गराउन धर्मगुरु, सोरेनी र सरोकारवालाई आग्रह गरिन् । उनीले बालविवाह गदा हुने कानुनी सजाय र बालअधिकारका विषयमा प्रशिक्षण दिइन् । युनिसेफ नेपालका प्रकाश कैनीले सामाजिक अगुवाकै माध्यमबाट बालविवाह न्युनिकरण गर्न सकिने बताइन् ।

वडा अध्यक्ष शिवानन्द डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा अध्यक्ष डाँगीले चुनौतिको रुपमा रहेको बालविवाह रोक्न समाजका अगुवालाई प्रशिक्षण गरिएको बताए । वडा सचिव मित्रलाल विकले वडामा बालविवाहका घटना अझै भएपनि रोक्ने कोशिस गरिएको बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी