ताजा अपडेट »

पठानका कारण बंगाली फिल्मको शो कटौती

मंगलबार, १० माघ २०७९, १७ : ५२
4 Shares

मुम्बई । अभिनेता शाहरुख खान आफ्नो स्पाइ थ्रिलर फिल्म ‘पठान’लिएर चार वर्षपछि दर्शकमाझ आउँदैछन् । शाहरुखलाई पुनः पर्दामा हेर्न उनका फ्यान लालयित छन् । रिलिजअघि नै एडभान्स बुकिङले गर्दा यसले २१ करोड बढी व्यापार गरिसकेको छ । ‘पठान’लाई लिएर एकातर्फ राम्रो प्रतिक्रिया मिलिरहँदा अर्कोतर्फ भने केही बंगाली फिल्मकर्मीहरु ‘पठान’ को सिंगल स्क्रिन रिलिजलाई लिएर गुनासो गरेका छन् ।

कोलकाताको थिएटरमा गत साता तीन ठूला बंगाली फिल्म ‘काबेरी अन्तर्धान’, ‘दिलखुश’ र ‘डाक्टर बक्षी’ रिलिज भएका छन् । यी तीनै फिल्ममा दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकको सकारात्मक प्रतिक्रियाको बाबजुद पनि यी बंगाली फिल्मको शोलाई कटौती गर्दै हलले ‘पठान’लाई प्राथमिकता दिएका छन् ।

बंगाली फिल्मका लागि आवाज उठाउने र टलिउड फिल्मको हितका बारेमा बोल्ने सरोकारवाला निकाय पनि ‘पठान’ का लागि बंगाली फिल्मप्रति थिएटरले गरेको व्यवहार देखेर दुःखी छन् ।

राष्ट्रिय अवार्ड विजेता अभिनेता तथा निर्देशक कौशिक गांगुलीले थिएटरवालाले ‘पठान’ रिलिजको समयमा अन्य फिल्म नलगाउने नीति अपनाएको आरोप लगाएका छन् । ‘यदी कुनै बंगाली फिल्म ५० दिनदेखि राम्रो व्यापार गरिरहेको छ र त्यो फिल्मलाई अचानक हलबाट उतारिन्छ भने यो हाम्रा लागि अस्वीकार्य हो’, उनले भनेका छन् ।

उनले सबैजना एकजुट भएर वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताए । ‘यदि आवश्यक पर्यो भने सरकारले यसमा हस्तक्षेप गर्नुपर्छ । बंगाली फिल्मलाई कमसेकम ५० प्रतिशत प्राइमटाइम शो दिनुपर्छ’, उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।