ताजा अपडेट »

घोराही-लमही सडकखण्ड निर्माणको काम सुस्त गतिमा, यात्रुलाई सास्ती

आइतबार, ०८ माघ २०७९, १९ : ५३
12 Shares


दाङ । तुलसीपुर, घोराही हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती भोग्दै आएका छन् । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्ड अन्तर्गत कुइरेपानीसम्म सडक स्तरोन्नति गर्ने भन्दै सडक लथालिंग र भताभुंग पारेपछि यो सडकमा यात्रा गर्ने दैनिक यात्रुहरू निकै कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कुइरेपानीदेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक कतै चारलेन र कतै दुई लेनमा स्तरोन्नति गर्नेको लागि सन् २०१९ जनवरी २८ मा शुरुमा सम्झौता भएको थियो ।

तर, ३ पटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्रै छ । सुरुमा ३३ महिनामा काम सक्ने गरी परियोजनासँग निर्माण सम्झौता भएको हो । तत्कालीन दुई लेनको सडक भत्काएर अहिले लथालिंग र भताभुंग अवस्थामा हुँदा धेरै सवारी दुर्घटना हुँदा २ दर्जन भन्दा बढिले अकालमै ज्यान गुमाएका छन् । आधा घण्टा लाग्ने यात्रामा घन्टौँ र जोखिम रहेको छ । लामो समयदेखि सडकको अवस्था नाजुक भएपछि तुलसीपुरमा क्रियाशील युवा व्यवसायीहरूले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको कामको थालनी गरेका छन् । उपमहानगरसँग समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवम् बीचबीचमा परेका खाडलहरू बिहीबारदेखि पुर्न थालेका हु्न् ।

तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर क्रियाशील युवा व्यवसायीहरूले उपमहानगरका इञ्जिनियर पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन् । काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए । खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको अभियन्ता पवनकुमार योगीले बताए ।

उनले भने, ‘एक जना ब्यक्तिले भन्दा यहाँ सबै युवाहरू सक्रिय रुपमा अगाडि बढेर यो अभियानको थालनी गरिएको हो । हाम्रो सानो सहयोग र प्रयासले जोखिममा रहेको सडकलाई मर्मत गरेर यात्रा गर्ने यात्रु तथा गाडीहरूलाई सहज पुगोस् भन्ने नै हो ।’ यस्तै सडकमा रहेका खाल्टाखुल्टीले गर्दा यात्रामा असहज हुँदा दुर्घटनाको जोखिम बढिरहेको पनि उनले उल्लेख गरे । उनले भने, ‘यो सडकको कारणले यात्रामा जोखिम मात्र नभइ दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका छन् । गाडीहरू दुर्घटना हुँदा आर्थिक रुपमा समेत क्षति पुगेको छ । धुलोको कारण वातावरण समेत असर परिरहेको छ । त्यसले हाम्रो प्रयासले सडक मर्मत गर्दा केही समय राहत हुनसक्छ । त्यो भएर हामीले तुलसीपुरको मजगैं सम्म सडक मर्मत गर्ने छौँ । उनका अनुसार यस क्षेत्रका युवा व्यवसायीहरूले आफूसँग भएका यान्त्रिक उपकरणहरू सहयोग गरेरका छन्, भने केहीले इन्धन, पानी पनि सहयोग गरेर यो अभियानलाई साथ दिएका छन् ।

यस्तै उनले आफूहरूको यो अभियानलाई राज्यलाई पनि दवाव हुने बताए । उनले व्यक्ति विशेषहरूले यसरी काम गर्न सक्छन्, भने राज्य वा सम्बन्धित निकाय किन गर्न नसक्ने भन्ने कुराहरू आउने पनि बताए । सडक मर्मतमा ग्राभेलसँगै आवश्यकताअनुसार माटो र पानी हालेर रोलरले दबाउँदै सडकमा खाडल पुर्न थालिएको छ । यस्तै, घोराही तुलसीपुर सडक खण्डमा विगत २ वर्षदेखि बस चलाउँदै आएका विवेक कार्कीले तुलसीपुरको हात्तीखौवा देखि मजगैँसम्म सडकका खाडल पुर्ने कार्यले धेरै सहज हुने बताए । उनले सडकको अवस्थाका कारण धेरै समस्या भोग्नु परेको पनि बताए ।

उनले सडक चौडा बनाउने भनेर लामो समयदेखि सडक भत्काएर जस्ताको त्यस्तै बनाएपछि दुर्घटनाको जोखिम बढेको बताए । उनले सडक साँघुरो र दुबै किनारातिर बनाउँदै गरेर अलपत्र रुपमा सडक हुँदा दुर्घटनाको जोखिम हुने बताए । उनले भने,‘ सडकको अवस्था यस्तो रहेको छ, की यो देखेर गाडी चलाउन मन लाग्दैन । तर, के गर्नु काम गर्नु नै प¥र्याे । सडकको अवस्था नाजुक छ । यात्रा गर्दा धेरै जोखिम रहेको छ । हिजो आज त बिहान हुस्सु लागेको हुन्छ । एकदमै सावधान पूर्वक चलाउनु पर्छ ।’ उनका अनुसार ६ वर्षसम्म चल्ने गाडिहरु सडकका कारण दुई वर्ष मै काम नलाग्ने हुने गरेका छन् । उनले भने, ‘पहिला सडक सानो भएपनि राम्रो थियो । तर, अहिले चार लेनको बनाउने भनेर २ र ३ वर्षदेखि सडक नाजुक बनाइएको छ । पहिला मासिक २०÷३० हजार गाडी मर्मत खर्च हुन्थ्यो । अहिले लाख लाग्ने गरेको छ । ’

यस्तै विजौरी तुलसीपुरमा अटो चलाउँदै आएका खुशीराम चौधरीलाई पनि अहिले सडकका खाडलहरु पुर्दा चलाउन सहज भएको बताए । उनले विगत ६ वर्षदेखि अटो चलाउँदै आएको पनि बताए । उनले शनिवार दिउँसोसम्म तुलसीपुरको हात्तीखौवादेखि विजौरीसम्म सडकका खाडलहरु पुरेपछि धेरै सहज भएको बताए । उनले राज्यले गर्नु पर्ने काम यहाँका युवाहरुले गरेको भन्दै खुशी ब्यक्ति गरे । यस्तै उनले तुलसीपुरका युवा व्यवसायीहरूले मजगैंसम्म सडकका खाडल पुर्न लागेको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘अहिले सडकका दुबै किनारामा गहिरा खाडल रहेका छन् । ठूला गाडीहरू आएर साइड दिनसमेत ठाउँ पुग्दैन । अब ति खाडलहरू पुर्न लागेको हुँदा केही राहत मिल्ने भयो ।’

यस्तै तुलसीपुर १९ विजौरीका श्रीकण्ठ पोखरेलले सडकका कारण नागरिकहरुले धेरै सास्ती भोगेको बताए । उनले युवाहरुले यसरी खाल्टाहरु पुरेर केही दिनसम्म मात्र सहज हुने भएयता पनि राज्यले गम्भिर रुपमा लिनु पर्ने बताए । उनले पटक÷पटक म्याद थपेर काम गर्न नसक्ने ब्यक्तिहरुलाई बाटो बनाउने जिम्मा दिँदा यहाँका नागरिकहरुले धेरै सास्ती भोगेको पनि बताए । बाटोको कारण पदैल यात्रुहरुलाई समेत जोखि भएको उनको भनाइ थियो । उनले निर्वाचनको समयमा यहाँ उम्मेदवार भएका नेताहरुले यही बाटोलाई मुद्धा बनाएको भएयता पनि अहिलेसम्म कुनै पनि काम नभएको गुनासो गरे ।

निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा कम्तिमा ७ मिटर कालोपत्रे सडक अहिले छैन् । सडकका दुबै किनारा स्तरोन्नति बनाउने भन्दै भत्काएर केही ठाउँमा सडक ३ मिटरमा खुम्चिएको छ । चारलेन सडक निर्माणको जिम्मा भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको हो । तर, उसले अहिलेसम्म पेटी ठेकेदार फेर्दै आएको भएयता पनि सडक निर्माणले तिव्रता पाएको छैन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी