ताजा अपडेट »

रुपन्देहीको मायादेवीमा एक पुरुषको छुरा प्रहार गरी हत्यामा संलग्न व्यक्ति पक्राउ

शुक्रबार, २९ पुस २०७९, १६ : ४५
19 Shares

बुटवल । रुपन्देही मायादेबी गाउँपालिका-७ बस्ने भीम बहादुर यादवको हत्यामा संलग्न स्थानीय ४३ वर्षीय गोकुल भनिने रामनरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही मायादेवी गाउँपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्दै आएका उनलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको हो ।

२०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी कपिलवस्तु वाणगंगा-८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका–६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका-५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन् ।

२०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी गाविस-३ वहादुरगंजस्थित तौलिहवा जाने हुलाकी सडकमा बिष्णुको शव फेला परेको घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका–६ विरपुरमा र सहबाद आलम खाँलाई शिवराज नगरपालिका–५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।