ताजा अपडेट »

सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव

सोमबार, २५ पुस २०७९, १५ : ०१
5 Shares

काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।  

छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए । 

भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै  अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलियाहरू, सेटिङ गर्ने सिस्टम भत्काउने काम गर्न सरकारलाई सुझाव दिए । 

देशको अर्थतन्त्र संकटग्रत रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै उनले चर्काे ब्याजले सबै व्यवसाय धरासयीमा परेको बताए । संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने, कृषिक्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ । 

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए । मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उनले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।