ताजा अपडेट »

तिलोत्तमामा छाडा कुकुर घटाउन स्थायी बन्ध्याकरण अभियान

मंगलबार, १९ पुस २०७९, १४ : ५७
25 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।

नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरूलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए । सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जारी रहने उनले बताए । 'स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्छ,' उनले भने ।

छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए । बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियान चलाएको खाणको भनाइ छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमूना काम भएको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताइन् ।

समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उनले दाबी गरिन् । नगरपालिकाका सबै वडा कार्यालयहरूको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।