ताजा अपडेट »

बुटवलको मेलामा दर्शकको चाप बढेपछि टिकट काउन्टर थप

आइतबार, १० पुस २०७९, २२ : ५६
12 Shares

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा दर्शकको चाप बढेपछि टिकट कान्टर थप गरिएको छ । जारी महोत्सवमा आइतबार दर्शकको चाप अत्याधिक भएपछि भिड व्यवस्थापनका लागि ४ वटा टिकट काउन्टर थप गरिएको आयोजकले जनाएको छ ।

क्रिशमसका कारण ठूलो संख्यामा दर्शक ओइरिएपछि केही समय तनावमा परेका आयोजकले सहजिकरण गर्दै टिकट काउन्टर थप गरेका थिए । रुपन्देहीसहित छिमेकी जिल्लाहरु पाल्पा, अर्घाखाची, नवलपरासी, कपिलवस्तुसँगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएको आयोजकले जनाएको छ । दर्शकको भिडसँगै स्टलबाट राम्रो आर्थिक कारोबार भएको बताएछन् । स्टलबाट विषेश गरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको बिक्री बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको पनि व्यवसायीहरुको भनाई छ ।

प्रदर्शनीमा उपभोक्ताहरुको सहजताका लागि एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक दिलिप सापकोटाले बताए । यसैबीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट गोप्य रुपमा अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु कारबाहीलाई गर्दै सचेत बनाएको अनुगमन समितिका संयोजक जिवकान्त काफ्लेले बताए । काफ्लेका अनुसार आयोजकको उद्देश्य र सहमति विपरित केही स्टलहरुमा राखिएका सामानहरु तत्काल हटाउने काम भएको र गलत काम नगर्न स्थलधनीलाई आग्रह गरिएको छ ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग संघसँगै रुपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक ढंगले निर्माण गरिएका स्टल र त्यसको व्यवस्थापनका कारण प्रदर्शनीमा आवलोन कर्ताहरुले कुनै समस्या झेल्नु नपरेको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताए । प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु आइतबार पनि जारी रहेको थियो । आइतवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गीत प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्टको अडिसन तथा प्रदर्शनी आइडलको प्रस्तुति एवं छनौट प्रक्रिया भएको संयोजक मोहनीलाल रिजालले बताए ।

दोहोरी गित प्रतियोगिता अन्तरगत घुम्टे रोधीघर जापान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका बीच प्रतिष्पर्धा हुँदा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की विजयी भएको छ । यता प्रदर्शनी आइडल–२०७९ को उत्कृष्ट १० छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित लोकदोहोरी गायक राजु परियार, लोक दोहोरी गायिका विष्णु श्रीपाली, आधुनिक गायक हेमन्त शर्मा तथा हास्य कलाकार उज्जवल गिरी, डान्सर सविता भुसालको प्रस्तुति रहेको थियो ।

सोमवार एकल प्रस्तुतीका लागि गायक/गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको उपस्थिति रहने छ । यसैगरी दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवल बीच प्रतिष्पर्धा हुने छ । प्रदर्शनी स्थलमा औद्योगिक विकास तथा स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र कृषि तथा पर्यटनको क्षेत्रमा संमृद्धिका लागि विभिन्न विषयहरुमा अन्तरक्रिया गोष्ठीहरु आयोजना गरिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।