ताजा अपडेट »

पाँच करोड बढीको कारोबार गर्दै सकियो भैरहवा मेला

सोमबार, ०४ पुस २०७९, १८ : ३१
42 Shares

भैरहवा । स्थानीय ब्यपार प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवामा आयोजित ८ औ लुम्बिनी राष्ट्रिय महोत्सव सोमबार सकिएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महोत्सवमा २ लाखको हाराहारीमा दर्शकले अवलोकन गरेको र ५ करोड बढी कारोबार भएको बताएका छन् ।

कोभिडको कारण ठप्प प्राय रहेको आर्थिक क्षेत्रलाई गति दिने उद्देश्यसहित भैरहवामा महोत्सवको गरिएको र यसमा केही हदसम्म सफल भएको आयोजकको भनाइ छ । मेला समापनमा बोल्दै उद्योगी तथा ब्यपारीहरुले राज्यले उद्योगी ब्यवसायीको समस्या नबुझेको आरोप लगाए । बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले अहिले हरेक क्षेत्र संकटमा रहेको बताए । उनले अहिलेको अवश्थाको कारण पुसमा बैंकमा ब्याज र किस्ता समेत बुझाउन नसक्ने अवश्था रहेको बताउदै यसको निकास राज्यले दिनु पर्ने जिकिर गरे ।

उनले राज्यको यस्तै रवैयाको कारण अहिले ८० प्रतिशत बढी ब्यवसायी कालो सूचिमा पर्ने बताए । उनले ब्यवसायीले बैंकको पैसा तिर्दै नतिर्ने नभई सरकारले यसमा राहत दिनु पर्ने बताए । उनले भने “राज्यले निकास दिन सकेन भने मुलुकको अवस्था के हुन्छ ?” उद्योग व्यवसाय संकटमा पर्दा त्यसलाई बचाउन राज्यले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उद्योग व्यवसाय सञ्चालन गर्न राज्यले वातावरण बनाउनुपर्ने मुरारकाले बताए ।
उनले अहिलेको आर्थिक मन्दीको असर खाद्यन्नमा पनि परेको मुरारकाको भनाई छ । “सिमेन्ट लगायतको माग त घटेकै छ, खाद्यन्नको माग पनि घटिरहेको छ ।” उनले भने “मानिसहरुले खान छोडे कि क्या हो ? यसले देशको विकट अवश्थालाई दर्शाएको छ ।”
कार्यक्रममै बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बजार चलायमान बनाई दिन सरकारलाई आग्रह गरे । बजार चलायमान भएमात्र कर्जा तिर्ने वातावरण रहने बताउँदै उनले त्यस्तो वातावरण सरकारले बनाउनु पर्ने जिकिर गरे । लुम्बिनी प्रदेशमा भएका अधिकांश उद्योगहरु बन्द भएको र उत्पादन पनि घटिरहेको शर्माको भनाई छ ।

भारतीय बजारका कारण सुनसान रहने भैरहवा तथा यस आसपासका बजारमा उपभोक्ताको चहलपहल बढाउने पनि मेलाको उद्देश्य रहेको र आफुहरु केही हद सम्म यसमा सफल रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । महोत्सवका कारण भैरहवा तथा यस आसपासको क्षेत्र थोरै भए पनि चलायमान भएको संघका अध्यक्ष न्यौपानेको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।