ताजा अपडेट »

९ महिनादेखि टिप्पर चलेन : ‘व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा’

आइतबार, ०३ पुस २०७९, १३ : ५४
16 Shares

बुटवल । मुलुकमा आर्थिक मन्दिसँगै सरकारको विभेदकारी नीतिका कारण सिमेन्ट उद्योगहरुले उत्पादनमा कटौती गरेपछि टिप्पर व्यवसायीहरु समेत बिस्थापित हुने अवस्थामा पुगेका छन् । बजारमा निर्माणको काम नहुनुका साथै माग घटेपछि उद्योगहरुले उत्पादन कटौती गर्दा पाल्पा तथा रुपन्देहीमा रहेका चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरु ९ महिनादेखि ठप्प छन् ।

रुपन्देहीको सीमा नजिकै रहेका पाल्पाका खानीहरुबाट करिब ९० प्रतिशत चुनढुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा हुन्छ । तिनाउका खानीबाट अर्घखाँची, सर्वोत्तम, होङ्गसी लगाएतका उद्योगहरुमा चुन सप्लाई हुन्छ । तर, आर्थिक संकटसँगै सिमेन्ट उद्योगहरुले उत्पादन घटाएर कच्चा पदार्थ ढुवानीमा व्यापक कटौती गरेपछि ढुवानी व्यवसायीहरु ठप्प छन् । टिप्पर व्यवसायीका अनुसार रुपन्देहीमा १२ सय टिप्पर रहेका छन् । केही टिप्पर अन्य क्षेत्रमा चल्ने भएपनि अधिकांश खानीमा सञ्चालन हुने ती व्यवसायी तथा त्यहाँ कार्यरत कामदार र तीनका परिवारका लागि हातमुख जोड्ने विकल्प समेत गुमेको छ ।

पाल्पाको तिनाउ गाउँपालिकामा रहेका ५० बढी टिप्पर व्यवसायीहरुले बैंकको ऋण तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेपछि सरकारको ध्यानाकर्षणका लागि आग्रह गरेका छन् । आइतबार व्यवसायीहरुको भेलाले अर्थमन्त्रालय, राष्ट्र बैंक, नेपाल बैंकर्स संघ तथा बैंकका स्थानीय शाखाहरुमा ज्ञापनपत्र बुझाउने लगायतका रचणबद्ध आन्दोलनका कार्यक्रममा जाने घोषणा गरेका छन् । ढुवानी तथा टिप्पर व्यवसायीहरुको मूख्य सिजन भनेको चैत, बैशाख र जेठ महिना हो । यसैगरी कात्तिक मसान्तपछि पनि ढुवानीको सिजन हो ।

गत चैतदेखि ठप्प भएको ढुवानी पौष महिना लाग्दासम्म पनि खुला नहुँदा व्यवसायीहरु ठूलो मारमा परेको टिप्पर व्यवसायी तथा तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले बताए । ‘सिमेन्ट उद्योगहरुमा उत्पादन घटेपछि कच्चा पदार्थको ढुवानी ठप्प छ । यता बैँक र साहूले कुरेर बसेका छन् ।’–लम्सालले भने, ‘ढुवानी व्यवसायीहरु बिस्थापित त हुने नै भए, मर्नु कि बाँच्नुको अवस्था भएको छ ।’ उनका अनुसार तिनाउ गाउँपालिकामा ३१ वटा ढुवानी सेवा रहेका छन् । ती ढुवानी सेवाका ३०० बढी टिप्पर छन् । टिप्परका चालक, सह–चालक, ढुवानीमा कार्यरत कर्मचारी गरी प्रतक्ष्य रुपमा ७ सय बढीले रोजगार गुमाएर बसेका छन् ।

टिप्पर व्यवसायी तथा एआरएम प्रालिका अर्विन्द पाण्डे भन्छन्–‘प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म तिर्नुपर्ने व्यवसायीहरु लामो समय काम ठप्पा हुँदा कस्तो हालत होला ?’ घरखेत गरेर पनि बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीहरुका बारेमा सरकारले गम्भीर भएर सोच्नु पर्ने उनले बताए । टिप्पर व्यवसायी विष्णु प्रसाद पाण्डेले व्यवसायीहरुको गुनासोप्रति सरकार गम्भीर बन्नु पर्ने बताए । व्यवसायीहरु आन्दोलित हुनु पर्ने अवस्था आएको बताउँदै उनले लगानी सुरक्षाका लागि सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।

आर्थिक मन्दिका कारण बजारमा सिमेन्ट र छडको माग नहुँदा उद्योगहरुले ९० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । केही उद्योगले बजारमा फसेको करोडौं उधारो रकम उठाउनका लागि मात्रै उद्योग सञ्चालन गर्नुपरेको बाध्यता बताउने गरेका छन् । क्लिङ्कर उद्योगसँगै सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँची सिमेन्ट उद्योगले असारदेखि क्लिङ्कर उद्योग बन्द गरेको छ । स्टकमा रहेको क्लिङकरबाट २० प्रतिशत उद्योग सञ्चालन गरेको छ । त्यसैगरी पाल्पा सिमेन्ट उद्योगले पनि क्लिङ्कर उद्योग बन्द गरेको छ । सो उद्योगले पनि उत्पादन घटाएर २० प्रतिशत मात्रै उत्पादन गरेको छ । यसैगरी रुपन्देहीमा रहेका सबै सिमेन्ट उद्योगहरुले उत्पादनमा व्यापक कटौती गरेका छन् । उद्योगहरु बन्द हुँदा व्यवसायी तथा मजदुर मात्र नभई स्वयम् सरकारको राजश्व समेत प्रभावित भएको छ । यहाँका समग्रह उद्योगहरुको विगतको तथ्याङ्क हेर्दा कम्तिमा २० करोड बढी राजश्व घाटा रहेको व्यवसायीहरुले बताउने गरेका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।