ताजा अपडेट »

कार्यकक्ष भित्रै कुटिए तिलोत्तमा नगरपालिकाका कर्मचारी, कर्मचारी संगठनले गर्यो निन्दा

सोमबार, २६ मंसिर २०७९, १२ : ३१
20 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा कार्यकक्ष भित्रै कर्मचारी कुटिएको भन्दै कर्मचारी संगठनले भ्रत्सना गरेको छ । अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै हातपात भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको हो ।

आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् । उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जनाएको छ । संगठनले आइतबार विज्ञप्ती निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भ्रत्सना गरेको छ ।

संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै घाइते भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

यसैबीच उक्त घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।