ताजा अपडेट »

टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी

शुक्रबार, २३ मंसिर २०७९, १९ : २२
14 Shares

दाङ । दाङको टरिगाउँ विमानस्थल स्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ । तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको ४ महिना भइसकेको छ ।

त्यस्तै मंगलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफिल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल बायु सेवा निगमलाई जानकारी पनि गराइएको छ । तर, जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन । नेपाल बायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुईवटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मंसिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यस अघि र त्यस पछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभाबकारी हुनेछ । यस अघि काठमाण्डौंबाटै इन्धन ल्याएर आउनु पर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाण्डौंबाट खाली ल्याउनु पर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महंगो हुँदै आएको थियो । अहिले एयरपोर्टमा १९ सिटे टुईनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । अहिले दाङ–काठमाडौंको न्यूनतम हवाई भाडा ८ हजार ८ सय १० छ, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाण्डौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाण्डौंमा यात्रु सेवा वापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी