ताजा अपडेट »

समानुपातिकबाट ८० प्रतिशत महिला लुम्बिनी प्रदेशसभामा आउँदै (यी हुन् सम्भावित नाम)

बुधबार, २१ मंसिर २०७९, १७ : ११
77 Shares

बुटवल । लुम्बिनी प्रदेशमा प्रत्यक्षमा र सामानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सामानुपातिकतर्फ निर्वाचितहुने सांसदको अन्तिम टुङ्गो भने आयोगले अझै लगाउन बाँकी छ । ८७ सदस्यीय प्रदेशसभामा ५२ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् । नेकपा एमालेले १८ सिट जितेको छ भने नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले २/२ सिट जितेका छन् । साथै जनमत पार्टीले १ र स्वतन्त्रले ३ सिट जितेका छन् ।

प्रत्यक्षमा निर्वाचित भएका मध्ये माओवादीबाट १ जनामात्रै महिला निर्वाचित भएकी छन् । प्रदेश सभामा महिलाको ३३ प्रतिशत सहभागिता अनिर्वाय छ । समानुपातिकमा कुन क्लस्टरबाट कती निर्वाचित गर्ने भन्ने कानुनले निर्धारण पनि गरेको छ । दलहरुले समानुपातिकमा नाम छनोट गर्दा सबै क्लस्टरमा महिलालाई प्राथमिकता दिनुपर्छ । समानुपातिकबाट कम्तिमा पनि २८ जना अर्थात ८० प्रतिशत महिला मात्रै चयन हुने छन् ।

लुम्बिनी प्रदेशसभामा ३२ राजनीतिक दलले समानुपातिकको बन्द सूचि पेश गरेका थिए । जसमध्ये १० वटा राजनीतिक दलहरुले मात्रै थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनेमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । नेकपा एमालेले लुम्बिनी प्रदेशको कुल सदर मत १८ लाख ८७ हजार ७८ मत मध्ये ५ लाख ७० हजार ९२१ मत पाएको छ ।

कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्तिले १ लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जनता समाजवादीले ६० हजार ८८६, एकीकृत समाजवादीले ४२ हजार ६२१, लोसपाले ३७ हजार ६३१ र जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् । दलहरुले समानुमातिकतर्फ पाएको मत अनुसार एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्तिले २÷२, लोसपा, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले १÷१ सिट पाउने देखिन्छ । नेपाली कांग्रेस र एमालेले समानुपातिकतर्फ अब एक÷एक जना मात्रै पुरुष छनोट गर्न पाउने छन् ।

निर्वाचन आयोगमा एमाले बुझाएको बन्द सूचिअनुसार एमालेबाट खर्स आर्यमा जानकी न्यौपाने, वसन्ती न्यौपाने, ललिता गौतम सांसद बन्नपाउने छन् । यस्तै जनजातिबाट सरिता पुन, रेवती गुरुङ, थारुबाट सीता शर्मा चौधरी, भवती कुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहजराज, मधेशीबाट सुजिता कुमारी वर्मा, मुस्लिमबाट सायरा बानो र खसआर्य (पुरुष) बाट गिरीधारीलाल न्यौपाने सांसदमा छनोट हुन सक्ने छन् ।

यता नेपाली कांग्रेसबाट खसआर्यमा जमुना ढकाल, निमा गिरी, मालती सोडारी, जनजातिमा धनलक्ष्मी श्रेष्ठ, मायापुन, थारु तर्फ सञ्जु चौधरी, हिमकुमारी थरुनी, दलितमा लोकी विक, मधेशीमा सुशिला वादी र खसआर्य पुरुषमा राजेश आचार्य छनोट हुन सक्ने छन् ।
माओवादी केन्द्रले आयोगमा बुझाएको बन्द सूची अनुसार निमबहादुर बुढा, मिना बुढामगर, केयरसिंह राना मगर र दिलकुमार बुढाकोे नाम अघि छन् ।

राप्रपाबाट मेनका खाँण र गौरव चन्दको बन्द सूचिमा अघि भएकाले यी दुई छानिन सक्ने सम्भावना छ । नागरिक उन्मुक्तिबाट नरमाया ढकाल र चन्द्रप्रकाश शर्मा बेल्बासे, जनमत पार्टीबाट सुमन रायमाझि, बालकृष्ण प्रसाद पाण्डे बन्द सूचिको क्रम अनुसार छनोट हुन सक्ने छन् । जसपाबाट अम्बिका काफ्ले, लोसपाबाट हेमा बेलबासे केसी, एकीकृत समाजवादीबाट लेखनाथ पोखरेल र जनमोर्चाबाट शेरबहादुर भट्टराई समानुपातिकमा छानिन सक्ने छन् ।

यद्यपी यी उल्लेख गरीएका समानुपातिकबाट सांसद बन्ने नामहरुमा आयोगले सामान्य हेरफेर भने गर्न सक्ने छ । दलहरूले समानुपातिक सांसद छनोट गर्दा आदिवासी जनजाति १९ दशमलव ५८, खस–आर्य २८ दशमलव ८४, दलित १५ दशमलव ११, थारू १५ दशमलव १८, मधेसी १४ दशमलव ३५ र मुस्लिम ६ दशमलव ९४ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट ८ दशमलव ४७ र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १ दशमलव १७ प्रतिशत नाम समावेश गर्नुपर्ने हुन्छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।