ताजा अपडेट »

बुटवल–बेलहिया सडक : घटेनन् सवारी दुर्घटना, लेन प्रयोगको सचेतना शून्य

मंगलबार, २० मंसिर २०७९, १७ : १०
36 Shares

बुटवल । रुपन्देहीको मुख्य सडक सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–बेलहिया सडक खण्ड ६ लेनमा बिस्तार भएको छ । बुटवलदेखि बेलहियासम्म नै डिभाइडर, सर्भिस लेन तथा आकर्षक गार्डेनसहित बनेका सडकको सही प्रयोग नहुँदा दुर्घटना न्युनिकरण हुन सकेको छैन । यात्रालाई सुरक्षित गराउनका लागि ठाउँमा–ठाउँमा सडक बत्ति तथा सवारीको गति नियमनका लागि बेला–बेलामा राडर प्रयोग गरेर अनुगमन हुने गरे पनि अपेक्षित रुपमा सवारी दुघर्टना कम भएको छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयएका अनुसार जिल्लाभित्र हुने सवारी दुर्घटनाहरु मध्ये एक चौथाई बढी घटना यही सडक खण्डमा हुने गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार रुपन्देहीमा गत साउनदेखि मंसिर १७ गतेसम्म ८५ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये करिब एक चौथाई अर्थात २२ वटा सवारी दुर्घटना बुटवल बेलहिया सडकखण्डमा मात्रै भएको छ । सो अवधिमा जिल्लामा सडक दुर्घटनामा परी ४२ जनाले अकालमै ज्यान गुमाएका छन् । जसमध्ये ८ जनाले बुटवल–बेलहिया सडकखण्डमा ज्यान गुमाएका छन् ।

पछिल्लो करिब साढे ४ महिनाको अवधिमा सडक दुर्घटनाबाट जिल्ला भर ६७ जना गम्भीर घाइते भएका छन् भने १९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । जसमध्ये बुटवल–बेलहिया सडकखण्डमा भएका दुर्घटनामा मात्रै १८ जना गम्भीर घाइते र ५ जना सामान्य घाइते भएका छन् ।

न्यूनिकरण किन हुदैँनन् दुर्घटना ?
बुटवल बेलहिया सडक बाहेक पूर्व–पश्चिम राजमार्ग तथा भित्रि सडकहरुमा समेत दुर्घटना हुने गरेका छन् । दुर्घटनामा अधिकांश मोटरसाइकल पर्ने गरेका तथ्याङ्कमा छ । सडक प्रयोगकर्ताको लापरबाहीका कारण नै अधिकांश दुर्घटना हुने गरेको सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डे बताउँछन् ।

‘सवारी चालक होस वा पैदलयात्री सडक प्रयोकर्ता सबैले नियमको पालना नगर्नुका साथै हेलचक्र्याईले दुर्घटनाहरु हुने गरेका छन् ।’– पाण्डे भन्छन्, नियामक निकायहरुले समेत अब सचेतना मात्रै होइन कडाई पनि गर्नुपर्ने देखिन्छ । फराकिलो र व्यवस्थित सडक बनेपनि त्यसको सही प्रयोग नहुँदा समस्या हुने गरेको उनले बताए । यातायात व्यवसायी तथा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले सडक फराकिलो भएर पनि नियमको सही पालना नगर्दा दुर्घटनाहरु बढिरहेको उल्लेख गर्छन् ।

‘चालकले मनपरी सवारी हाँक्ने, पैदल यात्रीले मनपरी सडक प्रयोग गर्ने तथा नियामक निकाय ट्राफिक प्रहरीले आफू अनुकुल मात्रै चेकजाँच तथा निगरानी राख्ने लगायतका धेरै समस्याहरु रहेका छन् ।’–खरेलले भन्छन्, छाडा चौपाय तथा ओभर लोड पनि सवारी दुर्घटनाका कारण हुन् । सडकमा हुने अव्यवस्थित पार्किङ तथा यात्रु ओराल्ने र चढाउने निश्चित ठाउँ नहुँदा पनि समस्या हुने गरेको छ । ‘हामी सडक प्रयोगकर्ताहरुले नै अर्कोलाई दोष लगाएर आफू चुप बस्ने अवस्थाको अन्त्य हुन जरुरी छ । दुर्घटना न्यूनिकरणका लागि प्रयाप्त छलफल र चिन्ता गरिएको पाइँदैन ।’–उनले भने ।

तीब्र गति, गलत लेनबाट ओभरटेक, लेन अनुशासनको पालना नगर्ने र सवारी चालाउँदा फोनको प्रयोग गर्ने लगायतका कारणले दुर्घटनाहरु हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा बताउँछन् । फराकिलो बनेको बुटवल–बेलहिया सडकखण्डमा समेत धेरै क्रसिङ पोइन्ट हुनु, छाडा चौपाया, आकाशे पुलको प्रयोग नगर्ने लगायतका समस्याहरु रहेका छन्।
‘बुटवल–बेलहिया सडक खण्डमा मात्रै होइन सडक राम्रो भएका हरेक जसो ठाउँमा ट्राफिक नियमको पालना नगर्दा बढी सडक दुर्घटना हुने गरेका छन् । यसलाई रोक्न अनिर्वाय रुपमा सवारी चालक, पैदलयात्री सबैले ट्राफिक नियमको पालना गर्नु पर्छ ।’–थापाले भने ।

दुर्घटना न्यूनिकरण गर्नका लागि नियमित रुपमा प्रशिक्षण गरिरहेको र चालक आफू सहजहुँदै आफ्नो साइटमा र लिमिट स्पीडमा हिडेमा सवारी दुर्घटना कम हुने उनले बताए । सडकखण्डमा सवारी सधानहरुको चाप पनि बढ्दैँ गइरहेको छ । सबै ठाउँमा प्रहरी बस्नका लागि जनशक्ति नपुग्ने समस्याका बीच सडक प्रयोगकर्ताहरुले समेत ट्राफिक प्रहरीका लागि मात्रै नियमको पालना गर्ने हो । भन्ने गलत मानसिकताले समस्या निम्तिने उनी बताउँछन् ।

‘रुपन्देहीमा जनशक्ति दरबन्दीभन्दा दोब्बर नै भएपनि कम भएको र जुन अनुपातमा सडकखण्डहरु विस्तार भएका छन् । त्योसँगै सवारी साधनको चाप बढेको छ । यसमा जनशक्ति सँग–सँगै प्रविधि पनि आवशयक पर्छ ।’–उनले भने । ‘ट्राफिक नियम मैले व्यक्तिगत रुपमा गर्नु पर्छ । ट्राफिक प्रहरी अघि बसिरहेको छ र उसलाई देखाउनका लागि भन्दा पनि यो आफ्नो सुरक्षाका लागि हो भन्ने बुझ्नु पर्छ । यसो गरिएमा दुर्घटनालाई रोक्न सकिन्छ ।’–उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।