ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाका सांसदहरुको शैक्षिक योग्यता: अण्डर एसएलसीदेखि मास्टर्ससम्म (कसको कति?)

मंगलबार, १३ मंसिर २०७९, १८ : ०८
10 Shares

बुटवल । राज्यको नीति निर्माण गर्ने निकायमा निर्वाचित भएका सांसदहरुको शैक्षिक योग्यता बारेमा आम नागरिकको चासो हुनु अनौठो विषय होइन । आम नागरिकले आफूले निर्वाचित गर्ने जनप्रतिनिधि पढेलेखेको होस् भन्ने चाहना राख्नु स्वभाविकै हो । तर, राजनीतिक नेतृत्वलाई निजामति कर्मचारीलाई जस्तो शैक्षिक योग्यताको बन्धनमा संकुचित गरिएको भने छैन् । अर्थात सांसद, मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्री हुनका लागि शैक्षिक योग्यता यति नै भएको हुनु पर्ने भन्ने संविधानमा व्यवस्था छैन् ।

नयाँ संविधान जारी हुनुपूर्व सांसद र मन्त्री हुन संविधानमा शैक्षिक योग्यता निर्धारण हुनुपर्छ भनेर बहस हुने गरेको थियो । २०७२ सालमा संविधान जारी हुने बेलामा यो विषय संविधानमा राख्ने कुरा प्राथमिकतामा परेन । अन्ततः नयाँ संविधानमा सांसद र मन्त्रीहरुको शैक्षिक योग्यता तोकिएन । लुम्बिनी प्रदेशसभामा मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षमा निर्वाचित हुने सांसदको शैक्षिक योग्यता अण्डर एसएलसीदेखि स्नातकोत्तरसम्म रहेको छ् । लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका ५२ सासंद मध्ये सबै भन्दा धेरै १६ जना स्नातक उर्तिण भएका छन् ।

यस्तै मास्टर्स गरेका ७ जना, प्रवीणता प्रमाणपत्र (प्लस टु) पास गरेका १२ जना र एसएलसी पास गरेका ११ जना सांसद प्रदेशसभामा निर्वार्चत भएका छन् । २ जना सांसद अण्डर एसएलसी र ३ जना निर्वाचित सांसदले आफ्नो शैक्षिक योग्यताको विवरण खुलाएका छैन् । साथै कपिलबस्तु १(ख) निर्वाचन आयोगमा उम्मेद्वारी दर्ताको क्रममा बुझाएको विवरण अनुसार बर्दिया १(ख) बाट निर्वाचित राजकुमार चौधरी र पश्च्मि नवलपरासी २(क) बाट निर्वाचित देवकरणप्रसाद कलबारको शैक्षिक योग्यता अण्डर एसएलसी रहेको छ ।

रुकुमपूर्व (क) का सुरुल पुन, बाँके १(ख) का दुर्गाप्रसाद चौधरी र गुल्मी २ (क) का डिल्लीराम भुसालले आफ्नो शैक्षिक योग्यता नखुलाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । साथै कपिलबस्तु १(ख) का मधुसुदन शरण चौधरीले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश भारतबाट हाइ स्कुल गरेको निर्वाचन आयोगमा प्रमाण पेश गरेका छन् ।

यी हुन मास्टर्स गरेका सांसद
पाल्पा १(ख) का खेमबहादुर सारु, रुपन्देही ४ (क) का कन्हैया बनिया, कपिलबस्तु २(ख) का सुधाकर पाण्डेय, कपिलबस्तु ३(क) का अर्जुन कुमार के.सी., बर्दिया १(क) का धर्मबहादुर चौधरी, कपिलबस्तु १(क) का विष्णुप्रसाद पन्थी, र बाँके ३ (ख) बाट निर्वाचित रत्नबहादुर खत्रीले मास्टर्स गरेका छन् ।

स्नातक पास भएका सांसद
अर्घाखाँचीको (क) का चेतनारायण आचार्य, गुल्मी २(ख) का दिनेश पन्थी, रुपन्देही २(ख) का भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३ (क) का सन्तोषकुमार पाण्डेय, रुपन्देही ५(क) का भूमिश्वर ढकाल, रुपन्देही १(ख) का अब्दुल रजाक (महाराज डिग्री कलेजबाट बिए), कपिलवस्तु ३(ख) का जानकीप्रसाद यादव, दाङ २(क) का राजु खनाल, (ख) का प्रचण्ड विक्रम न्यौपाने, दाङ ३ (क)का डिल्लीबहादुर चौधरी, बाँके २(ख) का आदेश कुमार अग्रवाल, बर्दिया २(क) का जन्मजय तिमिल्सिना, प्यूठान (ख) का सरोज थापा, रोल्पा (क) का जोखबहादुर महरा, नवलपरासी पश्च्मि १(क) का विश्व प्रेम पाठक, २(ख) का खड्क बस्नेतले स्नातक पास गरेका छन् ।

प्रवीणता प्रमाणपत्र (प्लस टु) पास गरेका सांसद
अर्घाखाँची (ख) का रामजि घिमिरे, पाल्पा २(क) का विरबहादुर राना, रुपन्देही १ (क) का आशिषकुमार चौधरी, रुपन्देही २(क) का लिला गिरि, दाङ ३(ख) का धनबहादुर मास्की, रुपन्देही ४(ख) का वसीउद्धीन खाँ, रुपन्देही ५ (ख) का चन्द्र केश गुप्ता, बाँके १(क) का कृष्णा केसी, बाँके २(क) का भण्डारी लाल अहिर, बाँके ३(ख) का बादशा कुर्मी, गुल्मी १(ख) का धनेन्द्र कार्की र नवलपरासी २(ख) का वैजनाथ कवलवारले प्लस टु उत्तिर्ण गरेका छन् ।

एसएलसी पास भएका सांसद
गुल्मीको १ (क) बाट निर्वाचित सांसद चिन्तामणी पाण्डे, पाल्पा १(क) का राजुप्रसाद श्रेष्ठ, पाल्पा २(ख) का तुलाराम घर्ति मगर, रुपन्देही ३(ख) का तुल्सीप्रसाद चौधरी, कपिलवस्तु २(क) का नवराज लामिछाने, दाङ १(क) का इन्द्रजीत थारु, २(ख) का अनुराग खड्का, बर्दिया १(क) का भुवनेश्वर चौधरी, रुकुम पूर्व (ख) का धनबहादुर के.सी., रोल्पा (ख) का दिपेन्द्र पुन मगर र प्यूठान (क) बाट निर्वाचित सांसद तुल्सीराम शर्माले एसएलसी पास गरेका छन्।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।