ताजा अपडेट »

निर्वाचन कसले जित्यो हार्यो भन्दा नि रुपान्तरण हुने कि !

मंगलबार, १३ मंसिर २०७९, १५ : १३
73 Shares

मंसिर ४ आउनुभन्दा सम्भवत एक महिना अगाडि संसदको रोस्टममा उभिएर डा. बाबुराम भट्टराईले भन्नुभएको थियो हामी पुरानो पुस्ताले देशमा देखा परेका अनगिन्ती समस्याहरूको समाधान गर्न सकेनौं, हामी पुराना पार्टीहरु र तिनको नेतृत्व असफल भयो, त्यसैले आउने चुनावमा हाम्रा विरुद्धमा ठुलै विद्रोहको सङ्केत मैले देखेको छु, अझ यो विद्रोह शहरी क्षेत्रमा बढि व्यापकताका साथ देखा पर्ने छन् । उहाँको यो पुर्वानुमान जस्तै जनताले यथास्थितिवादका विरुद्ध अग्रगमनको पक्षमा मतदान गरेका छन् ।

जनता विकल्पको खोजिमा छन् । खासगरी नयाँ पुस्ताले विद्रोहको प्रारम्भ गरेको छ । अहिलेको प्रहारबाट यथास्थितिवाद केही मात्रामा चर्केको छ । घाइते भएको छ, तर फेरि पनि सत्तामा उहीँ यथास्थितिवाद या पुरातनवादी धाराहरुको गठजोडको सत्ता बन्ने र परिवर्तनका एजेन्डाहरुलाई उल्टाउने प्रयास पनि हुन सक्दछ । त्यसैले यो निर्वाचनको परिणामले देशका गम्भीर समस्याहरुको समाधान दिन सक्नेछ भनेर भन्न सकिदँैन । यसको कार्यकाल पाँच वर्ष पुग्नेछ भनेर अनुमान गर्न पनि सकिदैन।

जहाँसम्म निर्वाचनको परिणामले कसले जित्यो, कस्ले हार्याे ! भन्ने बहस व्यापक बनेको छ, मैले जिते र उसले हार्याे भन्ने मनोविज्ञान जुन देखापरेको छ, त्यो अल्पज्ञानिहरुको चेतनाको कुरामात्र हो । सारमा र परिणाममा हामी सबैले हारेका छौँ । जनताले हामी माथि अविश्वास गरेका छन् र रुपान्तरणको निम्ति खबरदारी गरेका छन् । तथ्यांककै कुरा गरौँ । भने पनि ०७४ सालमा ८० सिट जित्ने एमाले, स्वयं पार्टी अध्यक्षले १०० सिट जित्ने छौँ भनी विचार सार्वजनिक गरिएकोमा प्रत्यक्ष मा ४३/४४ को वरपर मात्र जितिएको छ भने उसले अहिलेको जित मेरो भएको छ भन्ने कुरा पाखण्डि हुन जादैन र !

अनि कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी गनिएकोमा उसको पनि ५५/५६ कै वरपर परिणाम देखिएको छ भने उसले जितको घमण्ड कसरी गर्न सक्दछ ! निश्चित रुपमा यो कुरा हो कि कम्युनिस्टहरु मिलेको अवस्थामा ०७४ मा प्रत्यक्षमा नेपाली कांग्रेस २३ सिटमा खुम्चिनु परेको थियो । त्यसैगरी अन्य सबै पार्टीहरु पनि हारेकै छन् । माओवादि हारेकै छ, नेकपा एस हारेकै छ, जसपा लोसपा सबै हारेकै छन्, भने पुराना पार्टीले हामीले जितेका छौँ भन्ने कुरा यथार्थमा मेल खाँदैन ।

पुरानो वस्तु सड्नु, गल्नु, भत्कनु, विघटन हुनु, राम्रो कुरा हो, विज्ञानको नियम अनुसार हरेक वस्तु गति र प्रवाहमा भए जस्तै पार्टीहरु पनि गति र प्रवाहमा हुनु पर्दथ्यो, वस्तुगत जगतमा भएको परिवर्तन सँगसँगै उनीहरु पनि परिवर्तन हुनु पर्दथ्यो, विज्ञान र इतिहासको नियमलाई उनीहरुले बुझ्नु पर्दथ्यो, बुझेनन्, बद्लिएनन्, रुपान्तरण हुन सकेनन्, माटो र ढुङ्गा जस्तै जनता र नेतृत्व एकाकार हुन सकेनन् । त्यसैले उनीहरुले ओरालो यात्राको आरम्भ गरेका छन् ।

ती मध्य केहीलाई अहिलेको निर्वाचनले रसातलमा पुराई दिएको छ भने केहीलाई यदि रुपान्तरण भएनन् भने अर्को निर्वाचनले बाँकी बचेकाहरुलाई पनि रसातलमा पुराउने छैन भनेर कुन सचेत व्यक्तिले भन्न सक्ला र ! हामी आज ठुला छौँ, बलवान् छौँ, शक्तिशाली छौँ भन्ने घमण्ड मुर्खले मात्र गर्ने कुरा हो किनकि इतिहास र गतिको नियम ठूलो जनावर हात्तीले पनि मान्नु पर्दछ । सानो कमिलाले पनि मान्नु पर्दछ । यो नियमलाई बुझ्न नसक्ने भिमकाय पार्टी र संगठनहरु इतिहासमा समाप्त भएका थुप्रै उदाहरणहरु हामी दिन सक्दछौँ ।

मंसिर ४ को निर्वाचनले केही नयाँ पार्टी र नयाँ अनुहारहरु रोजेको छ, यी पार्टीहरु र यिनको नेतृत्व प्रति जनता खासगरी युवा वर्गमा ठुलो आशा र आत्म विश्वास देखा परेको छ । शहरी क्षेत्र काठमाडौं, चितवन, बुटवलमा हामी देख्यौंँ कि चिन्दै नचिनेका जान्दै नजानेका एउटा पौडेल थरका युवाले त्यति ठुलो भिमकाय पार्टीको उपाध्यक्ष विष्णु पौडेललाई झण्डै झण्डै पराजित गरेका थिए। १२००/१५०० को अन्तरमा मात्र उनले परिणाम निकालेका छन् ।

यो सबै कुरा यथास्थितिवादलाई भत्काउन, सिण्डिकेटतन्त्रलाई भत्काउनसम्म ठिकै छ यो राम्रो कुरा हो, युवा वर्गमा जुन चेतना जागृत भएको छ । यसलाई सबैले स्वागत गरौँ । अर्को कुरा अहिलेको निर्वाचनले मतदाताहरु, पार्टी सदस्यहरु हिजोको जस्तै कुनै अमुक पार्टीकै रैती र गुलाम हुन्छन भन्ने चेतनालाई पनि भत्काई दिएको छ । त्यो कुरा गठबन्धनको सिट बाँडफाँड र पार्टीले जस्तोसुकै उम्मेदवार उठाईदिए पनि जितिन्छ भन्ने चेतना माथि पनि प्रहार भएको छ ।

तर अब गम्भीर प्रश्न यो हो कि यि नँया निर्वाचनबाट एकाएक उदाएका पार्टी र तिनको नेतृत्व के साँच्चिकै हामीले कल्पना गरे जस्तै, हामीले विश्वास गरे जस्तै , इमानदार, नैतिकवान र अग्रगमनको यात्रामा जान सक्छ कि सक्दैन, के अहिले नै विश्वास गर्न सकिन्छ त ! परीक्षा दिएकाहरु फेल भएको कुरा साँचो हो तर परीक्षा नै दिन बाँकी रहेकाहरुको रिजल्ट के आउला ! यो प्रश्न आजको गम्भीर प्रश्न हो ! किनकी सांस्कृतिक चरित्रको प्रश्नमा ठुलाठुला ऋषि मुनिहरु, ठूलाठूला नेताहरू विचलन भएका घटनाहरू हामीले स्मरण गरेका छौँ ।

राजनीतिको प्रश्नमा पनि ठूलाठूला सङ्घर्षको इतिहासबाट जन्मिएका नेतृत्वहरु सत्ताको अगाडि कसरी समाप्त हुन पुगे ! झापा विद्रोहबाट जन्मिएका कमाण्डरहरु, पंचायत विरुद्धको सङ्घर्षमा जेलनेल र यातनाबाट जन्मिएका सेनानीहरु, जनयुद्धबाट जन्मिएका हजारौं योद्धाहरु, मधेश आन्दोलनबाट जन्मिएका नेतृत्वहरु एकआध बाहेक प्रायः सबै जसो नेतृत्व कसरी सत्ताको सामु आफ्नो स्वाभिमानलाई समर्पण गर्न पुगे ! आज चितवनमा रविलाई वाह ! वाह ! गरेजस्तै हामीले पनि हिजोका दिनहरूमा हाम्रा सुप्रिमोहरुलाई वाह ! वाह! गरेका थिएनौ र ! तर आज हामी तिनै सुप्रिमोहरुलाई तिमीहरू या त रुपान्तरणको दिशा समात यात समाप्त हुनको लागि तयार बस, भनिरहेका छौँ भने यी नयाँ अनुहारहरू राजनैतिक रंगमञ्चमा आईपुगेका छन स्वागत गरौँ, आशा गरौँ कि तिमिहरुले जमेको पोखरीमा ढुङ्गा फालेका छौँ , त्यो कुरा ठिक छ, चेतना भत्काउनको निमित्त तिम्रो भुमिका स्वागत योग्य छ।

हामी सम्मान गर्दछौँ तर अब निर्माणको यात्रा प्रारम्भ भएको छ, हेक्का रहोस प्रायःजसो कुनै पनि नेतृत्व सङ्घर्षको कालमा गैर क्रान्तिकारी वा गैर परिवर्तकारी हुने गर्दैन, प्रवचनको लागि उपदेश दिनको लागि त आसारामबापु पनि राम्रै थिए, रामपालजी पनि राम्रै थिए, रामरहिम पनि त राम्रै थिए, तर भौतिक उपयोगमा उनीहरु खरो उत्रन सकेनन् ।

अब तपाईहरुको परीक्षाको घडी प्रारम्भ भएको छ, तपाईहरु अब्बल पोजीशनमा उर्तिण हुनु होला, जनता खासगरी युवाहरूको विश्वास माथि विश्वासघात नगर्नु होला । देशका संरचनाहरु यति धेरै खराब भएका छनकि यहाँ विग्रनको लागि वातावरण मलिलो छ, तर सत्य न्याय अग्रगमन र यथार्थतामा अगाडि बढ्न अत्यन्त कठिन कुरा छ । तपाईहरु एउटा उपप्रधानमन्त्री सहित ५/७ मन्त्रीहरू सत्ताले अफर गन्यो भने के त्यसबाट जोगीनु हुने छ । त्यो अबस्थामा (नखाउ भने दिन भरीको सिकार खाउ भने कान्छा बाउको अनुहार) भन्ने भनाई जस्तै गम्भीर प्रश्न उठ्ने छन्, यदि त्यँहा प्रवेश गनुभयो भने जनभावनाको नेतृत्व गर्न सक्नु होला! अतः हामी सबैले विश्वास र आशंका र दृष्टिबाट अध्ययन गर्न पर्दछ कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।