ताजा अपडेट »

विश्व मत्स्य दिवस: रुपन्देहीको दानव नदीमा ५० हजार भुरा छाडियो

सोमबार, १२ मंसिर २०७९, ११ : ५१
10 Shares

भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्सय दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी  विभिन्न जातका माछाका भुरा छाडिएको हो ।

स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई,  नेपाल मत्स्य व्यवसायी संघ, जलदेवी मत्स्य उत्पादक सहकारी लगायतको संयुक्त आयोजानमा नैनी, रहु जातका माछाको भुरा छाडिएको हो । स्थानीय माछा प्राकृतिक जलाश्यहरुमा घट्ने क्रममा रहेकोले जलीय विधिताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामुलक प्रभातफेरी गरी नदीमा माछा छोडिएको शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताए ।

मानवीय क्रियाकलापले माछाको संख्या घट्ने भएकोले सन्तुलन गर्नका लागि पनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि माछाका भुरा छोडिएको हो । प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातको माछा नष्ट हुँदै गएका छन् ।  त्यसको संरक्षण र प्रवद्र्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाश्यमा राखिएकाे पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले बताए ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागू भई माछाको व्यवसाय प्रवर्द्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्वर्द्धनमा कृषकहरुका लागि सहयोग गर्दै आएको बताए । कार्यालयले पनि कृषक र उद्यमीहरुलाई यान्त्रिकरण र प्रविधि प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नै कार्यमा सहकार्य  गरेकाले कृषकहरु उत्साहित भएकाे काफ्ले बताउँछन् । दिवसको अवसरमा जनचेतनामुलक र्याली गरिएको थियो भने लोप हुन लागेका माझीहरुलाई आफ्नो पेशाको संरक्षण गर्न प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।