ताजा अपडेट »

दाङमा मतगणना गर्ने तयारी

सोमबार, ०५ मंसिर २०७९, ०८ : ५४
8 Shares


दाङ । दाङमा मतगणना गर्ने तयारी गरिएको छ । ३ प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ ठाउँबाट मत गणना हुने भएको हो ।

क्षेत्र नम्बर १ को लमही नगरपालिकाको सभाहल, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको कार्यालय घोराही र क्षेत्र नम्बर ३ को भु–संरक्षणको कार्यालय तुलसीपुर मत गणना हुने भएको हो ।

३ वटै ठाउँमा मतगणनाका लागि आवश्यक तारजाली र सिसि क्यामरा जडान गरिएको छ । अहिले सर्वदलिय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ६० प्रतिशत मत खसेको छ । ४ लाख १४ हजार ९५६ मतदाता रहेको जिल्लामा ६०.३७ प्रतिशत अर्थात २ लाख ५० हजार ५४३ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ४३ हजार ७३३ मतदाता रहेकोमा ८० हजार ७ सय मत खसेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ मतदाता रहेकोमा ७९ हजार ४४६ र निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेकोमा ९० हजार १५० मत खसेको छ ।

यसैगरी जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रबाट २४७ मत खसेको छ । अस्थायी मतदान केन्द्र कारागार कार्यालय तुलसीपुरमा रहेका ३१४ मतदाता मध्य १३६ जना र घोराही कारागार कार्यालयमा रहेका ४२८ मतदाता मध्य १११ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ४३ जना र प्रदेशसभा सदस्यका लागि ४६ जना उम्मेदवार रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी