ताजा अपडेट »

अपाङ्गता भएकाहरुको प्रश्न : गोप्य र सुरक्षित मताधिकार खै ?

मंगलबार, २९ कार्तिक २०७९, २२ : ४२
6 Shares

बुटवल । आगामी मंसिर–४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । रुपन्दहीको तिलोत्तमा निवासी टिकाराम घिमिरेले हरेक निर्वाचनमा उठाउँदै आएको प्रश्न हो संविधानले व्यवस्था गरेको गोप्य मतदानको अधिकार अपाङ्गता भएकाहरुका लागि कहिले लागू हुने ? घिमिरेलाई हरेक पटकको निर्वाचनमा एउटै कुराले पिरोलेको हुन्छ, आफ्नो मतलाई कसरी गोप्य गराउने ? पेशाले उनी सञ्चारकर्मी हुन । नेत्रहिन युवासंघ रुपन्देहीका सदस्य समेत रहेका उनी दृष्टिविहिन भएका कारण हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न अन्य व्यक्तिको सहारा लिनुपर्ने हुन्छ ।

निर्वाचनको समयमा दृष्टिविहिनहरुका लागि उनीहरुले इच्छाएको व्यक्तिबाट मतदान गर्ने व्यवस्था भएपनि उक्त व्यक्तिले आफूले भनेकै चुनाव चिन्हमा मतदान दिएको ग्यारेन्टी भने नहुने उनले बताउँछन् । यसैगरी मतदानमा सहयोग गरिदिएका व्यक्तिलेनै आफ्नो गोप्य मतदानको कुरा बाहिर सार्वजनिक गरिदिने डर पनि उत्तिकै हुने उनले बताउँछन् । यसरी संविधानले नै ‘गोप्य मतदान गर्न पाउने हरेक मतदाताको अधिकार’ भनेर उल्लेख गरे पनि व्यवहारिक रुपमा अपाङ्गता भएकाहरुलाई विभेद गरिएको उनले गुनासो गर्छन् ।

गता भएकाहरुले विगतदेखिनै समान सहभागिताको कुरा उठाउँदे आएको भएपनि सुनुवाई नभएको गुनासो छ । निर्वाचमा प्रयोग गरिएको मतदान स्थल अपाङ्गता मैत्री नहुनु, अपाङ्गता मैत्री व्यवहार समेत नभएको कारण कतिपय अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भन्दै उनीहरुले आगामी निर्वाचनमा सरोकारवाला निकायबाट बढि भन्दा बढि यो विषयमा ध्यान दिन आग्रह गरेका छन् । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले अपाङ्गता भएका व्याक्तिहरुको लागि लाईन बस्न नपर्नुलाई मात्रै सरकारी निकायबाट अपाङ्गता मैत्री व्यवहार गरेको भनिदै आएको गुनासो गरे ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको मतदानको अनुभव सुनाउँदै पहुँच परियोजनाका फिल्ड प्रमोटर सुस्मा हुमागाईले केही घटनाहरु प्रस्तुत गर्दै अगापङ्गमैत्री मतदान केन्द्र नहुँदा उनीहरु मतदानमै सहभागी हुन नचाहेको कुरा उल्लेख गरिन् । गएको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमाका एक मतदाताले आफूले इच्छाएको व्यक्तिलाई आफूसँगै लाइनमा राख्दा त्यहाँको मतदान अधिकृतले इच्छाएको व्यक्तिलाई नै त्यहाँ बस्न नदिएपछि आफू एक्लो भएर दुःख पाएको घटना सुनाआउँदै यस पटकको निर्वाचनमा सहभागी हुन नचाहेको कुरा उल्लेख गरिन् । यसैगरी बुटवल–८ मा रहेको निर्वाचनस्थलमा ह्वील चियरको सहाराले मतदान गर्न जाने एक मतदाताले उक्त स्थानमा सिढी अग्लो भएर विगतमा दुःख पाएका कारण यस पटकको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको कुरा उनले सुनाइन् ।

रुपन्देहीकै देवदहमा रहेका अधिकांश बहिरोपन भएका मतदाताहरुले जँगलको लामो बाटो तय गरेर मतदानका लागि जान गाह्रो भएको गुनासो गरेका छन् । उनीहरुको घटनालाई उदृढ गर्दै सुस्माले भनिन्–‘जँगलको लामो बाटो पार गरेर मतदान स्थलमा पुग्नुपर्ने हुन्छ । मतदान गर्नका लागि दलका प्रतिनिधिहरुले त्यस स्थलसम्म पुर्याउने व्यवस्ता गरेपनि मतदानपछि भने हाम्रो बारेमा उनीहरुले कुनै बास्ता गर्दैनन् । हामी एक्लै घर फर्किनुपर्छ । जँगलमा जनावर वा जो कसैबाट पनि आक्रमण हुन सक्ने डरले यस पटक निर्वाचनमा सहभागी हुने नहुने बारेमा अन्यौल भएको छ ।’

अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताका लागि उनीहरुले रहेको स्थान घरदेखि मतदान स्थल सम्म र मतदान स्थलमा मत प्रयोग गरेपछि सम्बन्धी आवाससम्म सहज रुपमा आउने र जाने व्यवस्था सरकारी निकायबाट हुनुपर्ने माग गरेका छन् । दृष्टिविहिन भएका तथा अन्य शारीरिक अपाङ्गता सहित विभिन्न प्रकृतिको अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार गोप्य रुपमा प्रयोग गर्न पाउने गरी गोप्य स्थानको छनौटका साथै सहायक सामग्री समेत लैजान मिल्ने गरी निर्माण गर्न समेत उनीहरुले माग गरेका छन् । खासगरी अपाङ्गताको क्षेत्रमा संरचना अपाङ्गता मैत्री नहुँदा उनीहरुले मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै यसमा सबै निकायको ध्यानाकष्र्ण हुनुपर्ने समेत उनीहरुको माग छ । समय सापेक्ष मतपत्रलाई समेत सबैले गोप्य रुपमा प्रयोग गर्न मिल्ने गरी डिजिटल माध्यममा लैजानुपर्ने उनीहरु बताउँछन् ।

तत्काल सबै समस्याको समाधान नभएपनि आगामी मंसिर ४ को निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान स्थलसम्म पुर्याउने र घर सम्म छोड्न आउने तथा मतदान स्थलमा आवश्यक स्वयम् सेवकको व्यवस्था गर्नुपर्ने तथा इच्छाएको व्यक्तिलाई सहजा रुपमा मतदान स्थलभित्र प्रवेशको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

निर्वाचनमा पहुँच परियोजनाका अधिकृत लक्ष्मी पाण्डेका अनुसार मतदान केन्द्रमा गोप्य स्थल उज्यालो भए नभएको, टेबुल उपयुक्त स्थानमा भए नभएको, अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा भए नभएको एकिन गरिनु पर्ने हुन्छ । उनले अघिल्ला निर्वाचनहरुमा अपांगता भएका व्यक्तीहरु घस्रिदै, ठोक्किदै आफ्नो मताधिकार प्रयोग गर्न जानुपर्ने बाध्यता यस पटकको निर्वाचनमा नहोस पनि आग्रह गरिन् । निर्वाचनमा खटिएका कर्मचारीहरुलाई अपांगतामैत्री व्यवहार, तालिम र विशेष निर्देशन गरिनु पर्ने उनको सुझाव छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।