ताजा अपडेट »

एमाले उम्मेद्वार कमल वलिले विद्यालयमा गएर विद्यार्थीसँग मत मागिन्

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ०७
14 Shares

दाङ । एमालेकोबाट दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलि र प्रदेश सभा ३ (ख) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयका विद्यार्थीसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता तथा कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन्।

उनीहरूले विद्यार्थीलाई विद्यालयको परिसरबाहिरको मैदानमा राखेर चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । ‘दिउँसोको खाजा खाने समय थियो, हामी विद्यालयको प्रांगणमा खेलिरहेका थियौँ,’ ती विद्यार्थीले भने, ‘त्यसपछि उहाँहरू झट्टपट्ट आएर हामीहरूलाई विद्यालयको परिसरबाहिर ल्याउनुभयो अनि पोस्टर–पम्प्लेट दिनुभयो र एमालेको सूर्य चिह्नमा भोट हाल्न बाबाआमालाई भन्नु है भन्दै भाषण गर्नुभयो ।’

वलिले त्यहाँ भाषण मात्रै गरिनन्, नाचगान पनि गरिन् । उनले ‘मलमलकिरी जुनकिरी’ बोलको गीत गाइन्, र सबै विद्यार्थीलाई समेत नचाइन् । विद्यार्थीसँगको फोटो कोमल वलीको सचिवालयले सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेको थियो । तर, केही समयपछि ती फोटो डिलिट भएका थिए । यस विषयमा बुझ्न खोज्दा उम्मेदवार वली र बस्नेत दुवैजनासँग सम्पर्क हुन सकेन । उम्मेदवारसँग गएका एमालेका एकजना कार्यकर्ताले विद्यालय बिदा भएपछि कार्यक्रम भएको स्वीकार गरेका छन् । विद्यालयको अवस्था बुझ्न जाँदा विद्यार्थी विद्यालयमा भेटिएको र सानो कार्यक्रम गरिएको उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी